श्रीमती ‘गुची ग्रेस’ लाई उत्तराधिकारी बनाउन खोज्दा सत्ताबाटै बाहिरिनु पर्यो जिम्बावेका राष्ट्रपति मुगावे

रोबर्ट मुगावे चकित होलान्!
जिम्बावेका ९३ वर्षीय राष्ट्रपति मुगावे संसारकै बढी उमेरका राष्ट्रप्रमुख हुन्। झन्डै चार दशकदेखिको उनको अकन्टक शासन यतिबेला धर्मराएको मात्र छैन, सकिने क्रममा छ। त्यसको एउटै कारण हो, पत्नीलाई उत्तराधिकारी बनाउने उनको महत्वाकांक्षा।
यही महत्वाकांक्षा चुलिएपछि सत्तारुढ दल जानु–पिएफले सोमबार मुगावेलाई पार्टी नेतृत्वबाट अपदस्थ गर्यो।
उनलाई आफ्नो शासन र सुरक्षाप्रति रत्तिभर शंका थिएन। आफ्नो महत्वाकांक्षामा अवरोध आउला भन्ने उनले सोचेकासम्म थिएनन्। उनी यति निश्चिन्त थिए, अघिल्लो क्रिसमसलगत्तै महिनादिन छुट्टीमा गएका थिए, जिम्बावेबाट टाढा। यसबीच आफ्नो शासन धर्मराउला भन्ने उनलाई डर थिएन, न त सत्तारूढ दल र सैनिकमाथिको कसिलो नियन्त्रण फुस्केला भन्ने चिन्तै थियो।
उनी त त्यही दल र सैनिक समर्थनमा जिम्बावेको शासन आफ्नो परिवारभित्रै सीमित राख्ने मनसुबा पालेर बसेका थिए।
उनले आफ्नो उत्तराधिकारी रोजेका थिए, पत्नी ग्रेस मुगावे।
सत्ता र शक्तिको पखेटा हुन्छ!
जुन सत्तारूढ दल र सैनिकका भरमा मुगावे आफूलाई जिम्बावेका अकन्टक शासक मान्थे, आखिरमा त्यही दल र सैनिकले उनलाई अपदस्य गर्यो। सँगसँगै, उनकी ४१ वर्ष कान्छी पत्नी ग्रेस पनि पार्टीबाट निकालिइन्।
सत्तारुढ दलले केही दिनदेखि नै मुगावे दम्पतीविरुद्ध दबाबमूलक कार्यक्रमहरू गर्दै आएको थियो। गत शनिबार राजधानी हरारेमा दसौं हजार मान्छेले प्रदर्शन गरेका थिए। त्यसअघि गत बुधबार मुगावे दम्पतीलाई सैनिकले घरमै नजरबन्द राखेको थियो।
सैनिकको आड र जनसमर्थनको बलमा पार्टीले उनलाई अध्यक्षबाट हटाउने निर्णय गर्यो। अपदस्थ गरिए पनि कानुनी रूपमा भने मुगावे अझै राष्ट्रपति नै हुन्।
सन् १९८० मा जिम्बावे स्वतन्त्र भएदेखि नै शासन गर्दै आएका मुगावेलाई भने यी घटनाक्रमले कुनै प्रभाव पारेको देखिन्न। कम्तिमा उनले आइतबार राति गरेको सम्बोधनमा यस्तै झल्किन्छ। उनले त्यो सम्बोधनबाट राजीनामा घोषणा गर्ने धेरैको अपेक्षा थियो।
उनले राजीनामा दिएनन्, बरु सत्ता छाड्न हाकाहाकी अस्वीकार गरे।
देश कठिन समयमा गुज्रिरहेको त स्वीकारे, तर आफ्नो समर्थन घटेकोलाई महत्व दिएनन्। पार्टीले उनलाई राष्ट्रपतिबाट राजीनामा दिन सोमबारसम्म म्याद दिएको छ। अन्यथा, संसदमा महाभियोग सामना गर्नुपर्ने चेतावनीसमेत दिएको छ।
उनले यो चेतावनी बेवास्ता गर्दै ‘केही साताभित्रै पार्टी नेतृत्वमा फर्किने’ घोषणा गरेका छन्।
यो सम्बोधन संकेत हो, ३७ वर्ष देशलाई नियन्त्रणमा राखेका मुगावे यति सजिलै हार मान्नेवाला छैनन्।
मुगावे अधोगतिको सुरूआत यही नोभेम्बर ६ मा भएको थियो, जब उनले उपराष्ट्रपति इमरसन मांगाग्वालाई पदच्यूत गरे। र, त्यसको केही दिनपछि सैनिक कमान्डरलाई पक्राउ गर्ने प्रयास गरे।
‘मुगावेले लक्ष्मणरेखा पार गरेका छन्। हामी उनलाई मनलाग्दी गर्न दिने पक्षमा थिएनौं,’ सैनिक संगठनको छाया बनेर राजनीतिमा हिस्सा लिँदै आएको वार भेटरान एसोसिएसनका नेता डग्लस माहियाले भने।
मुगावे र मांगाग्वाबीच पार्टीभित्र लामो समयदेखि नेतृत्वको लडाइँ थियो। यीमध्ये मांगाग्वालाई सैनिक समर्थन थियो। मुगावेले भने पत्नी ग्रेसलाई नेतृत्व पंक्तिमा ओरालेका थिए। उनलाई समर्थन थियो, प्रहरीको।
पदच्यूत भएको केही घन्टाभित्रै मांगाग्वा पक्राउ परिने डरले भागेर छिमेकी देश मोजाम्बिक पुगे। मोजाम्बिक सैनिकसँग पनि उनको राम्रो तालमेल थियो। त्यहाँ केही दिन बिताएपछि उनी दक्षिण अफ्रिका गए।
यसबीच उनलाई पछ्याउँदै वार भेटरानका अध्यक्ष तथा अन्य अधिकारी दक्षिण अफ्रिका पुगे। उनीहरूले ‘जिम्बावेमा सैनिक हस्तक्षेप हुन सक्ने’ बारे दक्षिण अफ्रिकी अधिकारीहरूलाई सचेत गराए। यसलाई सैन्य ‘कू’ का रूपमा नलिइदिनू भन्ने उनीहरूको आग्रह थियो।
दक्षिण अफ्रिकाले उक्त भेटको आधिकारिक पुष्टि गरेको छैन। बुधबारको सैनिक हस्तक्षेपपछि जारी विज्ञप्तिमा भने उसले ‘कू’ भन्ने शब्द कतै उल्लेख गरेको छैन।
त्यसको केही दिनभित्रै राजधानी हरारेमा सैन्य चहलपहल बढ्न थाल्यो। मुगावे दम्पतीलाई नजरबन्द राखियो। सडकमा प्रदर्शनकारीको संख्या ह्वात्तै बढ्यो। र, अन्ततः ग्रेसलाई भावी नेतृत्वका रूपमा बढाउने महत्वाकांक्षा नै मुगावे पतनको कारण बन्यो।
‘राजनीतिमा ग्रेसको प्रवेशले जिम्बावेको सत्तारूढ दलमा चिरा पार्ने काम गर्यो,’ विपक्षी नेता टेन्डाइ बिटीले भने, ‘यो एकै डिनर–टेबलमा खाना खानेहरूबीच उत्पन्न असमझदारीले ल्याएको ‘कू’ हो। जबकि, अफ्रिकामा धेरै ‘कू’ टेबलमुनिका मान्छेबाट हुन्छ।’
ग्रेस सन् २०१४ मा पार्टीको महिला संगठन प्रमुख थिइन्। त्यसै वर्ष डिसेम्बरमा उपराष्ट्रपतिको सिफारिसमा परिन्। त्यसयता उनले आफूलाई राष्ट्रपति दाबेदारका रूपमा प्रस्तुत गर्दै आएकी छन्।
यति हुँदाहुँदै ग्रेस किन राजनीतिमा हामफालिन् भन्ने प्रस्ट छैन।
ग्रेस मुगावेको कार्यालयमा ‘टाइपिस्ट’ काम गर्थिन्। उनका आँखा मुगावेमा परे वा मुगावेका उनमा उनी शक्तिशाली राष्ट्रपतिकी ‘गर्लफ्रेन्ड’ बनिन्। त्यो बेला मुगावेकी पत्नी बिरामी थिइन्। उनको मृत्यु पछि मुगावे र ग्रेसको सन् १९९६ मा विवाह भयो। ४१ वर्ष कान्छी ग्रेस ७२ वर्षीय मुगावेकी दोस्री पत्नी बनिन्।
पत्नी ग्रेससँग जिम्बावेका राष्ट्रपति रोबर्ट मुगावे।
ग्रेसको पनि पहिलो विवाह अर्कैसँग भएको थियो। अहिले मुगावे दम्पत्तीका तीन सन्तान छन्।
जिम्बावेमा ग्रेसको पहिचान नेताका रूपमा कम, ‘गुची ग्रेस’ का रूपमा बढी छ। गुची एक अन्तर्राष्ट्रिय ब्रान्ड हो। महँगा किनमेलमा रूचि राख्ने र ब्रान्ड सोखिन भएकाले नै उनलाई गुचीसँग जोडेर व्यंग्य गरिएको हो।
ग्रेसको राजनीतिक महत्वाकांक्षामा सत्तारूढ पार्टीबाट पटक-पटक निष्कासित जोनादन मोयोको हात देखिन्छ। पार्टीभित्र गुटबन्दी गरेको भन्दै मोयो निष्कासनमा परेका थिए। उनको विद्वता र संगठन क्षमताको मुगावे तारिफ गर्थे। उनको व्यक्तिगत चरित्र भने रुचाउँथेनन्। उनलाई व्यंग्य गर्दै मुगावे भन्थे, ‘मकैमा लाग्ने कीरा’।
मुगावेले आफूलाई पूर्ण विश्वास गर्दैनन् भने मोयोलाई पनि राम्ररी थाहा थियो। यहीँनिर आफ्नो स्थान कायम राख्न उनले ग्रेसलाई राजनीतिमा आउन उक्साएको पार्टी निकटहरू बताउँछन्।
ग्रेसलाई मुगावे पछिको आफ्नो भविष्यको चिन्ता थियो। उनी असुरक्षित महशुस गर्थिन्। यसैमा मोयोले खेलेको धेरैको बुझाई छ।
मोयोले ग्रेसलाई भनेको उद्धृत गर्दै मानवअधिकार अनुसन्धानकर्ता देवा माहिन्दाले भने, ‘तपाईं जवान हुनुहुन्छ, तपाईंका श्रीमान भने अस्ताउन लागेका घाम हुन्। उहाँको भर परेर हुँदैन। आफ्नो भविष्य सुरक्षित गराउने जिम्मा तपाईंकै हो। तपाईंलाई आफूप्रति इमान्दार मान्छेको खाँचो छ, जसले पार्टीभित्र तपाईंको स्वार्थको रक्षा गर्छन्।’
यसैबाट प्रभावित भएर ग्रेस र उनका समर्थकले पार्टीभित्रका विपक्षी सदस्यलाई धमाधम निष्कासन गर्न थाले।
त्यतिबेला मुगावे रोगले थला परेका थिए। उनको सिंगापुर आउजाउ बढेको थियो। उनले आफ्नो उत्तराधिकारी छनौटको अन्तिम निर्णय भने गरिसकेका थिएनन्।
समय घर्किंदै थियो।
मोयोले गत जुलाईमा भएको पार्टी बैठकमा सिधै मांगाग्वाविरूद्ध धावा बोले। उनले बैठकमै ७२ मिनेटको भिडियो देखाए, जसमा मांगाग्वा र उनका समर्थक कसरी सत्ता हत्याउन चाहन्छन् भन्ने झल्किन्थ्यो।
यही मौकाको फाइदा उठाउँदै ग्रेसले विपक्षीमाथिको आक्रमण तीव्र पारिन्। उनले मांगाग्वालाई ‘डरपोक’ र ‘कू–सर्जक’ को संज्ञा दिइन्। ‘म यो देशकी प्रथम महिला हुँ। म सधैं सत्यका पक्षमा उभिन्छु। मेरो कुरामा चित्त बुझ्दैन भने, सैनिक डाकेर मलाई गोली हान्न लगाऊ,’ उनले भनिन्।
यो अन्तर्द्वन्द्वले मुगावे पनि रिसाए। पार्टीभित्र विभाजन ल्याएको भन्दै मांगाग्वालाई पदच्यूत गरे। र, ग्रेसलाई उपराष्ट्रपति बनाउने बाटो खोले।
ग्रेस निर्विवाद रूपमा जिम्बावेकी उत्तराधिकारी बन्ने थिईन्, मुगावेको प्रयास सफल भइदिएको भए।
अहिले पासा पल्टिएको छ।
ग्रेस महिला संगठन प्रमुखबाट मात्र होइन, आजीवन पार्टीबाटै निकालिएकी छन्।
मोयोलाई पनि यस्तै सजाय दिइएको छ।
यो द्वन्द्वमा अन्ततः विजयी सावित भएका छन् मांगाग्वा, जसलाई पार्टीले नयाँ नेतृत्व सुम्पेको छ।@द न्यूयोर्क टाइम्स
जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले दिए राजीनामा