हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायल हाम्रो असल मित्र हो,इजरायलीहरुबाट परिश्रम गर्न सिक्नुपर्छ- राजदूत निरन्जन थापा

इजरायलका लागि नेपालका राजदूत महामहिम निरन्जन थापासँग इजरायलमा नेपाली कामदारको अवस्था, नेपाल र इजरायलबीचको ऐतिहासिक कूटनीतिक सम्बन्धलगायत समसामायिक विषयमा जनता टेलिभिजनका सञ्चारकर्मी प्रकाश विशुन्केले गर्नुभएको कुराकानीको सम्पादित अंशः

इजरायल र नेपालबीचको कूटनीतिक सम्बन्ध निकै पुरानो र ऐतिहासिक मानिन्छ । इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र पनि हो । कसरी अघि बढ्दै छ यो सम्बन्ध ?

इजरायल र नेपालका तात्कालीन नेताहरूले दूरदर्शी हिसाबबाट सोचेर जसरी इजरायलसँग मित्रता गाँस्नुभयो, यो प्रशंसनीय छ । संसारको अग्लो शिखर रहेको नेपाल र इजरायल संसारकै होचो स्थान ‘डेड सी’ रहेको इजरायल निकै दुरीका हिसाबमा टाढा रहेको भए पनि इजरायलसँग मित्रता गाँस्नुपर्छ भनेर जसरी तात्कालीन नेताहरूले प्रयास गरे, अहिले यो मित्रता ५७ वर्षमा पुगेको छ । इजरायलबाट हामीलाई निरन्तर सहयोग हुँदै पनि आएको छ । रोजगार र कृषि क्षेत्रमा इजरायलले पु¥याएको योगदान, नेपालमा गएको भूकम्पमा उसले गरेको निःस्वार्थ सहयोग हामीले विर्सन सक्दैनाँै । इजरायलले हामीलाई दिन्छ तर अरू देशले जस्तो लिने स्वर्थ केही छैन । यसकारण, इजरायल हाम्रो असल मित्र हो, इजरायलसँगको कूटनीतिक सम्बन्ध हाम्रो निकै राम्रो छ ।

 

इजरायल भन्नेवितिक्कै रोजगारीको कुरा आउँछ । केयर गिभर र कृषि क्षेत्रमा लर्न एन्ड अर्न प्रोग्रामको विषय पनि जोडिन्छ, चर्चा गरिए अनुसार कामदार किन पठाउन नसकेको नेपाल सरकारले ?

यो निकै महत्वपूर्ण र चूनौतीपूर्ण प्रश्न छ, अरू देशको जस्तो शारीरिक शोषण, आर्थिक शोषणका विषयमा चिन्ता लिनुपर्ने समस्या छैन । यहाँ जो केयर गिभरमा आउनुभएको छ, उहाँहरू आफै नै तलब र आफूले गर्ने काममा सन्तुष्ट हुनुहुन्छ । इजरायलमा विशेषतः केयर गिभरमा फिलिपिन्स, श्रीलङ्का, भारत र नेपालबाट धेरै महिलाहरू आउने गर्दछन् । त्यसमध्ये पनि इजरायलीहरूले नेपालीहरूको काम अति नै मन पराउँछन् किनकि आफ्ना बाबुआमाको स्याहार गर्ने, वृद्धवृद्धाको हेरचाह गर्ने स्वभाव त नेपालीहरूको रगतमै मिसिएको हुन्छ । तर जुन १५ हजारको सङ्ख्यामा रहेका महिला कामदारहरू यहाँ थिए । अहिले घट्ने क्रम जारी छ । दुःखको कुरा के छ भने यहाँ न नेपाल सरकारको गल्ती छ न इजरायल सरकारको दोष छ । तर कुरा के भने जति नेपालहरू यहाँ आए, ती व्यक्तिहरूलाई नेपालका म्यानपावरहरूले धेरै पैसा लिएर इजरायल पठाएको भन्ने उजुरी स्वयम् नेपालीबाटै भयो । उजुरी अदालतसम्म पुगेपछि विवाद धेरै बढ्यो र इजरायल सरकारले प्राइभेट सेक्टरबाट मान्छे नल्याउने भनेपछि त्यो प्रकृया रोकियो । अहिले पाइलट प्रोजेक्ट अर्थात जी टु जी प्रकृयाबाट सुरुमा ५० जना आइसके । यस पालि ६० जना पास भएको मा ५, ६ जना आइसकेका छन् । अरू आउने तयारीमै छन् । तर यो जी टु जी प्रकृया सोचेअनुरूप सफल हुन सकेको छैन । यसकारण महिलाहरूको सङ्ख्या यहाँ घट्दै गइरहेको छ । म यसैका लागि कसरी इजरायलमा कामदारको सङ्ख्या बढाउन सकिन्छ भनेर म आफै सक्रिय भएर लागरिहेको छु ।

किन ढिलासुस्ती भइरहेको हो सरकारी प्रकिृयाबाट कामदार ल्याउने कुरामा । कुरा कहाँ बिग्रिराखेको छ खासमा ?

नेपाल सरकारबाट त त्यस्तो तलमाथि हुने कुरै छैन, हामी त लागिपरिरहैकै छौँ । इजरायल सरकारले पनि प्रयास नगरेको भन्न मिल्दैन । यो पाइलट प्रोजेक्ट सफल होला कि भनेर प्रयास गरिरहेकै छ । अब, इजरायलमा नेपाली कामदार बढाउने दुवै देशको सरकार तयार नै छ । यसैले विभिन्न चरणमा बैठकहरू चलिरहेकै छन् तर सफलता भने हात पर्न सकेको छैन ।

 

‘जी टु जी’बाट जाँदा अन्य देशको कामदारको तुलनामा नेपाली कामदारलाई तलब, सेवा, सुविधा के कस्तो छ ?

नेपाली कामदारको सेवा सुविधाको कुरा अघि बढाउनुभन्दा पहिले सुुरुमा त, ‘जी टु जी’ प्रकृयालाई नै कसरी सरलीकरण गर्ने भन्नेतर्फ लाग्नु पर्यो । अहिलेको यो ‘जी टु जी’ प्रकृयामा सरकारको कुनै भूमिका नै देखिएको छैन । यसलाई सुरुमा व्यवस्थित बनाउन यहाँस्थित श्रम मन्त्रालय र दूतावासबीच आवश्यक समन्वय हुनु जरुरी छ, जो हुन सकिरहेको छैन । यहाँ नेपाली कामदारको माग बढे पनि अरू देशको तुलनामा यो प्रकृयामा हामी अलि पछि परिरहेका छौँ ।

यस्तो अवस्थामा के गर्न सकिन्छ त ?

इजरायलमा नेपालीको माग भइराखेको अवस्थामा म आफैभन्दा पनि दुई देशको सरकार, श्रम मन्त्रालय र सम्बन्धित पक्ष बसेर छलफल भर्न सकिन्छ । यद्यपि विभिन्न चरणका छलफल भने भइ नै राखेका छन् । इजरायल सरकार तयार भएको अवस्थामा प्राइभेट सेक्टर अर्थात् म्यानपावरबाट नै पनि कामदार पठाउन नेपाल सरकारले बाधा गर्दैन ।

नेपाली कामदार बढीभन्दा बढी ल्याउन दूतावासले के पहल गर्दैछ र गर्छ ?

म प्रयास गरिहेको छु, सम्भवत मेरो कार्यकालमा यसलाई सफल बनाउनमै मेरो कोसिस जारी छ ।

हुन त सरकारी प्रकृया मार्फत न्यूनतम शुल्कमा इजरायलमा आउने भन्ने नै छ, के ‘फ्री भिसा फ्री टिकेट’को विषय उठाउन सकिएला अरू खाडी मुलुकमा जस्तै ?

अहिले त यो कुरा गर्ने कुरै भएन । हामी अझै उपयुक्त श्रम सम्झौताको प्रकृयामै छौँ । ‘जी टु जी’ प्रकृयालाई नै कसरी व्यवस्थित बनाउने भन्नेतर्फ ध्यान केन्द्रित छ ।

म्यानपावर व्यवसायीहरू त सरकारी प्रकृया फेल भयो भन्दै प्राइभेट सेक्टरबाट कामदार लैजान लबिङमा छन् भनिन्छ नि ?

डेफिनेट्ली, म्यानपावर व्यवसायीहरूले त अवश्य पनि प्राइभेट सेक्टरबाटै कामदार पठाउन पाइयोस भनिरहेकै छन् । उनीहरूले त सरकारी प्रकृया फेल खायो अब प्राइभेटबाट नै पठाउनुपर्छ भन्छन् नि । तर यसका लागि त इजरायल सरकार नै तयार हुन पर्यो नि । इजरायल सरकारले जस्तो प्रकृयाबाट जति पठाऊ भन्छ, हामी नेपाल सरकारले सो अनुसार गर्ने हो । इजरायल हाम्रो मित्र राष्ट्र भएकाले अनुरोधसम्म हामी गर्न सक्छौं, अनुरोध गरिरहेका छौँ तर निर्देशन दिन सक्दैनौँ । प्रयास जारी छ ।

इजरायलमा जम्मा ३ प्रतिशत मानिस कृषिमा छन् तर पनि त्यसबाट समग्र देशलाई नै धानिराखेको छ । नेपाल कृषि प्रधान देश भईकन पनि हामीलाई खाद्य सामग्रीको लागि चीन र भारतकै भर पर्नुपरेको छ । वर्षैपिच्छे, नेपाली युवाहरू लर्न एन्ड अर्न प्रोग्राममा यहाँको आधुनिक कृषि प्रविधिको विषयमा सिकेर जान्छन् । तर प्रगति सोचे अनुरूप सङ्गठित हुन सकेको छैन । इजरायलले सिकाउन खोजेको कुरो नेपालले कहिले सिक्ने ?

३ प्रतिशतले कृषिमा उत्पादन गरेर इजरायलभित्र मात्रै धानिराखेको छैन तर यहाँका उत्कृष्ट उत्पादनहरू युरोप अमेरिकातिर पनि निर्यात हुन्छन् । यहाँ आएका सबैले सिकेर गएर नेपालमा कृषि नै गरेका छन् भन्ने त छैन तर केहिले भनौँ ५ देखि १० प्रतिशत व्यक्तिले यहाँको आधुनिक कृषि प्रविधि सिकेर नेपालमा कृषिलाई आयआर्जनको मुख्य स्रोत बनाएका छन् । उनीहरू थप उत्साहित पनि छन् । यता, तपाईंले भने जस्तो, सङ्गठित रूपमा जति हुनुपर्ने हो आजको दिनसम्मा त्यो हुनसकेको छैन । कारण वास्तविक किसानी गरिरहेका मान्छे इजरायल आउन सकिरहेका छैनन् । यहाँ आउनेमा इजरायल सरकारले तोकेको मापदण्डअनुसार प्रायजसो सबै पढेलेखेका र सीप सिक्नेभन्दा पनि पैसा कमाउने कुरामा मात्र केन्द्रित युवापुस्ताको जमात देखिएको छ । मेरो प्रयास यसमा छ कि, अहिले को ११ महिने ‘लर्न एन्ड अर्न प्रोग्राम’ अलि छोटो भएका कारण यस कार्यक्रमको अवधि बढाएर र वास्तविक किसानलाई इजरायलमा यो कार्यक्रममा समावेश गराउन सकियो भने सोचे अनुरूप यहाँको सिकाइलाई सङ्गठित बनाउन सकिन्थ्यो ।

वर्षमा कति युवाहरू आउँछन लर्न एन्ड अर्न प्रोग्राममा ?

११ महिने ‘लर्न एन्ड अर्न प्रोग्राम’मा भाग लिन एक वर्षमा लगभग ५०० युवाहरू नेपालबाट आउँछन् । इजरायलका ५ वटा कृषि क्याम्पसमा उनीहरू भर्ना हुन्छन् ।

सिकेर गएका सबैले कृषि गरेकै छन् भन्ने त छैन, तर फिड्ब्याक कस्तो पाइन्छ नेपालबाट, नेपाल सरकारले कतिको प्रोत्साहन दिन्छ, नेपाल फर्केका युवाहरूलाई कृषि पेसा अपनाउन ?

यसबारे हाम्रो भूमिका केही नहुने भएकाले दूतावासलाई खासै जानकारी आउँदैन । यहाँबाट सिकेर नेपाल गएपछि सरकारलाई पनि यसबारे खासै जानकारी हुँदैन । नेपालको साना किसान नामक गैह्र सरकारी संस्था र इजरायली दूतावासले छनोट गरेर यो कार्यक्रममा युवाहरू ल्याउने भएकाले नेपाल सरकारलाई पनि कतिपल्ट सूचनाको अभाव भइराखेको छ । पछिल्लोपटक दूतावासलाई ११ महिने तालिमको दीक्षान्त समारोहमा चाहिँ बोलाउने गरिएको छ । यसमा पहिलेबाट नै सरकार प्रत्यक्ष सहभागी भएको भए झन् राम्रो हुन्थ्यो । तर नेपाल सरकार र इजरायल सरकारबीच यो विषयमा अलि कोर्डिनेसनको कमी देखिएको छ । त्यो कमी पूरा भयो भने नेपालको आधुनकि कृषि विकासलाई थप सङ्गठित बनाउन सकिन्थ्यो ।

इजरायलमा नेपाली कामदारको अक्सर समस्या के छ ? कस्ता कस्ता समस्या लिएर दूतावास आउने गरेका छन् नेपालीहरू ?

अरू देशको जस्तो शारीरिक शोषण, आर्थिक शोषणका विषयमा चिन्ता लिनुपर्ने समस्या छैन । यहाँ जो केयर गिभरमा आउनुभएको छ, उहाँहरू आफै नै तलब र आफूले गर्ने श्रममा सन्तुष्ट हुनुहुन्छ । तर अलिकति दुःखी म केमा छु भने यहाँ आएका प्रायः केयरगिभर महिलाको परिवारमा समस्या आएको देखिन्छ । म आए पश्चात ६, ७ वटा सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षर गर्नुपर्यो । रोजगार र पारिवारिक सम्बन्धको सन्तुलन नमिलेका कारण यहाँ सम्बन्ध विच्छेदका लागि निवेदन लिएर आउँछन् । यसबाहेका छिटपुट, कहिलेकाहीँ ड्युटी बढी गरे पनि पारिश्रमिक थोरै पाएको निवेदन आइपुग्छ । अन्य देशको तुलनामा हामीकहाँ समस्या खासै छैन भनौँ ।

तपाईंको कार्यकालमा इजरायल र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तपाईंको योजना कस्तो छ ?

सबैभन्दा पहिला विगत ७ वर्षदेखि इजरायलको उच्च स्तरको सरकारी प्रतिनिधिमण्डल नेपाल गएको छैन । त्यो र अरू कुनै कारण नेपाल सरकार र इजरायल सरकारबीच केही तलमाथि भएको छ भने दुई पक्ष बसेर सो विषय मिलाउने वातावरण बनाउन मेरो प्रयास जारी रहनेछ ।

अर्को, केयर गिभरको साथसाथै ‘लर्न एन्ड अर्न प्रोग्राम’ लाई व्यवस्थित बनाउने कुरामा म केन्द्रित छु । साथै यहाँका व्यवसायीहरूलाई नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गर्दै आएको छु । धेरै नेपालीहरू इजरायल आउन चहान्छन् तर नेपाल–इजरायल सिधा रुट नभएकाले भाडा निकै महँगो पर्छ । उद्देश्यहरू धेरै छन् तर जटिल । त्यसैले कूटनीतिक पक्षबाट मैले सकेको पहल गरिरहेको छु ।

 

इजरायलका नागरिकले नेपाल घुम्न आउन औधी मनपराउँछन्, हाम्रो पर्यटकीय देश नेपाल घुम्न आउने पर्यटकहरूको सङ्ख्या वृद्धि गर्न के काम गर्न सकिन्छ ?

मलाई लाग्छ, नेपालको नाम नसुन्ने र थाहा नहुने इजरायली नै छैनन् भन्ने मलाई लाग्छ । उनीहरूलाई ‘नेपाल इज अ ब्युटिफुल कन्ट्री’ भन्ने राम्रोसँग थाहा छ । ८० लाख जनसङ्ख्या भएको देशबाट ५ हजारभन्दा बढी पर्यटक जान्छन् । नेपालका लागि यो राम्रो हो । अझै इजरायलीहरू नेपाल भ्रमण गरून् भन्ने उद्देश्यले हाम्रो तर्फबाट मौखिक होस् या सामाजिक सञ्जाल, विभिन्न माध्यमबाट हामीले विज्ञापन गरिरहेका छौँ । यहाँ आर्मीमा २ वर्षे सेवा सकेर प्रत्येक युवाहरू केही समयलाई भ्रमणमा निस्कन्छन् र प्रायको पहिलो रोजाइमा नेपाल नै हो ।

 

आफ्नो सक्रिय राजनीति एकातिर छाडेर राजदूत भएर इजरायल आउनुभएको छ, देशको राजनीति गर्न सजिलो कि कूटनीतिक काम ? अनुभव कस्तो हुँदैछ ?

प्रश्न निकै राम्रो गर्नुभो तर उत्तर दिन जटिल । मेरो जीवन त लगभग राजनीतिमा नै बित्यो । ३ पटक मन्त्री भएर देश र जनताको सेवा गरेँ । राजनीतिसँगै कूटनीतिक हिसाबमा पनि सेवा गर्ने रहर थियो । सुरुमा रुस र बर्माका लागि राजदूत सिफारिस भए पनि तेस्रो पटकको क्याबिनेटले इजरायलको लागि भनेर निर्णय गर्यो । सोअनुसार म राजदूत भएर यहाँ आएँ । म एउटा सक्रिय राजनीति गर्दै आएको मान्छे भए पनि मलाई फरक काम गर्न मन पर्छ । तर कूटनीतिक सेवामा भाषणभन्दा धेरै साङ्केतिक भएर काम गर्नुपर्छ । फलस्वरूप राजदूतको रूपमा म यहाँ आएको छु । यसमा काम धेरै गर्नुपर्ने तर नबोलीकन । हामी राजदूतहरू नबोलीकन नै धेरै काम सम्पन्न गर्छौं । बोलिराख्नुपर्ने मान्छेलाई अलि गारो हुँदो रहेछ तर यसमा अभ्यस्त हुने प्रयासमा छु । जीवनको विभिन्न कालखण्डमा कुशल प्रशासक भएर काम गरेँ, कुशल कानुनविद भएर काम गरेँ, अब कुशल कूटनीतिज्ञ भएर देश र जनताको कल्याणको गरौँ भन्ने चिन्तन हो मेरो ।

अन्त्यमा, नेपालले इजरायलबाट सिक्न सक्ने र सिक्नैपर्ने कुरा के हुनसक्छन् ?

सबैभन्दा पहिले नेपालले इजरायलबाट सिक्नुपर्ने कुरा भनेको परिश्रम नै हो । एउटा मरभूमिलाई यहाँका मानिसहरूको कडा मेहेनतले नै इजरायललाई हराबरा बनाए । जम्मा ८० लाख जनसङ्ख्या भएको सानो देश जसको चारैतिर शत्रु नै शत्रु छन् तर पनि उनीहरू सुरक्षित भएर बस्न सक्ने लगनशील र पौरखी भएको देश हो । हाम्रो नेपाल त्यसै पनि सुन्दर र प्रकृतिले धनी देश नेपाललाई समृद्ध बनाउन इजरायलबाट सिक्नुपर्ने भनेको मुख्यतः परिश्रम नै हो । अर्को भनेको इजरायल एउटा धार्मिक सहर जस्तो लाग्छ मलाई । यहाँ सबाथ (विश्राम दिन) लागेपछि कोही पनि मानिसहरू काम गर्दैनन्, धर्मलाई पनि प्राथमिकता दिन्छन् । इजरायलले आफ्नो देशलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गरेको छ । नेपालमा पनि धेरै मठ, मन्दिर, ऐतिहासिक धार्मिक स्थल, धर्महरू भएका कारण हाम्रो देशलाई धार्मिक पर्यटकीय स्थलका रूपमा अघि बढाउन सकिन्छ जस्तो लाग्छ । नेपालले इजरायलबाट सूचना तथा प्रविधि विकासको बारे धेरै कुरा सिक्न सकिन्छ । यो विषयमा उनीहरू धेरै विज्ञ छन् ।

नेपालले अर्को सिक्नैपर्ने भनेको पानीको भरपूर सदुपयोग हो । यहाँको बाथरुममा प्रयोग भएको एक थोपा पानी पनि खेर नफाली त्यो सम्पूर्ण पानीलाई खेतीमा लगाउँछन् (कृषिमा प्रयोग गर्छन्) । इजरायल देश भनेको एउटा ‘पाइप’को रूपमा बुझ्छु, गज्जबको कुरा यो छ कि यहाँ रोपिएका प्रत्येक रूखमा पाइपबाट पानी पुग्छ । थोरै पानीले यहाँ पिउन, खेती गर्न र दैनिकी चलाउन र पानी अनावश्यक खेर जान नदिन इजरायलले विकास गरेको प्रविधि नेपालले सिक्नुपर्छ । अन्तिम र इजरायलबाट सिक्नैपर्ने महत्वपूर्ण विषय भनेको राष्ट्रियता र सेवा भाव हो ।साभार:रातोपाटी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution