यूएईमा सोनाम ल्होछार -२८५४ (खि ल्हो) भव्यताको साथ मनाउने तयारी

-सनिल घिसिङ तामाङ
तामाङ समाज यूएईले तामाङहरूको धार्मिक तथा सांस्कृतिक एंव राष्ट्रिय पर्व सोनाम ल्होछार २८५४ औं खि ल्हो को अबसरमा यूएईमा “ल्होछार साँझ २०१८ – सांस्कृतिक कार्यक्रम” को आयोजना गर्ने भएको छ ।
यहि १९ जनबरी शुक्रबार, देरा दुबई स्थित कार्लटन टावर होटलमा दिनको २:०० बजे देखि कार्यक्रम हुनेछ । यस बर्षको ल्होछार कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन समाजका केन्द्रिय महासचिब सनिल घिसिङको संयोजक्तवमा बिभिन्न समितिहरू गठन गरी कार्यक्रमको तयारी अगाडी बढाईएको छ ।
ल्होछार (नयाँ बर्ष) को पावन अबसरमा यूएईमा बसोबास गर्ने तामाङ तथा अन्य समुदायहरू बीच ल्होछारको शुभकामना आदनप्रदान, तामाङहरुको धार्मिक तथा संस्कृति-कला झल्किने गीत, नृत्य, फापरे गीत, तामाङ भेष-भुषा तथा पुजा-पाठ प्रस्तुत गर्न तयारीहरू भईरहेको र नेपालबाट अतिथि कलाकारहरू चर्चित सेलो गायक फुलकुमार बम्जन र अर्का चर्चित म्हेन्दो माया गायक रोशन फ्युबालाई आमन्त्रण गरिएको कार्यक्रम संयोजक सनिल घिसिङले बताउनु भएको छ ।
नेपाली स्रोताहरू माँझ थुप्रै लोकप्रिय लोकगीत, सेलो र चलचित्रका गीतहरू गाउनु भएका गायक फुलकुमार बम्जनको लागि यूएई पहिलो सांगितिक बिदेश यात्रा हुनेछ । त्यस्तै म्हेन्दो माया गायक, संगितकार तथा म्यूजिक भिडियोका सफल निर्देशक रोशन फ्युबाको यूएईमा पहिलोपटक सांगितिक प्रस्तुति हुने भएको छ । समाजले आफ्नो स्थापनाकाल देखि नै तामाङ गीत-संगितको क्षेत्रमा नव-प्रतिभाहरू देखि बिश्वभर ख्याति कमाउन सफल बरिष्ठ कलाकारहरूलाई ल्होछारको अबसरमा यूएई आमन्त्रण गरी सांगितिक कार्यक्रमहरू गर्दै आईरहेको छ । यस अघि बरिष्ठ कलाकार तथा निर्देशक जयनन्द लामा, गायक रोज मोक्तान, बरिष्ठ गायक तथा संगितकार चन्द्र कुमार दोङ, गायक बिशाल काल्तेन, गायिका ईन्दिरा योन्जन, गायिका तुलसा वाईबा, गायिका जमुना योन्जन, गायक सोनाम ब्जयू, गायिका रमला पाख्रिन, गायक आशुसेन लामा लगायत एक दर्जन बढि गायक-गायिकाहरूले यूएईका दर्शकहरू माँझ आफ्नो चर्चित गीतहरू प्रस्तुत गरिसकेका छन ।