हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

आफैंले किरिया गरेका पतिसँग फेरी बिहे गरेकी सन्तोषी तामाङ भन्छिन श्रीमानलाई कसरी जीवित गराउने ?

काठमाडौं, कात्तिक २७ – ‘मेरो श्रीमानलाई कसरी जीवित बनाउने होला ?’ पतिको मृत्युदर्ताको प्रमाणपत्र दराजबाट निकाल्दै सन्तोषीले सोधिन् । श्रीमतीको प्रश्न सुनेर छेवैमा बसेका उनका श्रीमान् सुवास तामाङ मुस्कुराए ।

सुवास जीवित छन्, त्यसैले मुस्काउँछन्, तर कानूनी रुपमा उनी मरिसकेका छन् । त्यसैले उनको साथमा आफ्नै मृत्युको प्रमाणपत्र पनि छ ।
पतिको मृत्युदर्ता प्रमाणपत्र हातमा बोक्ने महिलामध्ये सन्तोषी त्यस्तो भाग्यमानी महिला हुन्, जसको साथमा श्रीमानको मृत्युदर्ताको प्रमाणपत्र सँगै सुखदुःखमा साथ दिने श्रीमान् पनि छन् ।

साउदी र नेपाल सरकारबाट मृत्यु भइसकेको प्रमाणपत्र पाएका उनका श्रीमान् अब कानूनी रुपमा कसरी जीवित होलान त ? सन्तोषी मृत्युदर्ताको प्रमाणपत्र हेर्दै छक्क पर्छिन् ।

मोरङको बेलबारी नगरपालिकाको लक्ष्मीमार्गकी सन्तोषी तामाङको प्रश्न सुन्दा जसलाई पनि अचम्म लाग्छ, तर प्रश्नभन्दा धेरै अचम्मलाग्दा अनुभव भोग्दै सन्तोषीको जिन्दगीको रथ पनि अघि बढ्दैछ ।

कमाउन गएका श्रीमान् गुमाउनु, विधुवा हुनु, फेरि त्यही श्रीमान् जीवित भएर फर्किदाका उनका भोगाइ एकादेशका कथा जस्तै छन् । सन्तोषीलाई पनि आफ्नो भोगाई संसारका मानिसका भन्दा फरक लाग्छन् ।

सन्तोषीका श्रीमान् सुवास साउदी गएको १ वर्षमात्र भएको थियो । भोजपुरको कुदाक काउले स्थायी घर भएका सुवास मोरङमा बसाईं सर्दाको साढे सात लाख रुपैयाँ ऋण तिर्नका लागि २०७१ सालमा साउदी उडेका थिए |

सुवास साउदीमा हेभी हुण्डाई कम्पनीमा काम गर्थे । उनको काम र कमाई राम्रो थियो । वर्ष दिन बितेपछि उनी घरविदामा मोरङ आए । दुई महिनाको छुट्टिमा घर बसे । त्यसपछि सुवास २०७२ जेठमा फेरि साउदी फर्किए ।

घर विदाबाट भर्खरै फर्किएकाले सुवासले पहिले जस्तो घरमा नियमति फोन गर्दैन थिए । महिना नमरेकाले तलब आएको थिएन । फ्रि कलको अफर पाएको बेला सन्तोषी र सुवास सबै कुरा गरी भ्याउँथे ।

सुवास घरबाट विदा भएको एक महिना पनि पूरा भएको थिएन । जेठमा फर्किएका सुवासको बारेमा असार २४ गते सन्तोषीले नसोचेको खबर आयो ।

सन्तोषी नजिकैको पसलमा मासु किन्न गएकी थिइन् । मासु पसलमा उभिइरहेकी सन्तोषीको फोन बज्यो । फोनको घण्टीसँगै आएको खबर सन्तोषीको जीवन उथलपुथल पार्ने किसिमको थियो । खबर थियो, रोजगारीका लागि साउदीमा भएका उनका श्रीमान् सुवास दुर्घटनामा परेको ।
उनी रुँदै घरमा पुगिन् । ‘म घरमा आउँदा सबैजना रोइरहेका रहेछन् । केही सोच्न सकिन, डङरङ्ग ढलेछु’ सन्तोषी त्यो दिन यसैगरी सम्झिन्छिन् । त्यो फोनको घण्टी सन्तोषीको मोवाइलमा बज्नु अघि सबै आफन्तका फोनमा बजिसकेको थियो । उनका श्रीमान् दुर्घट्नामा परेर मरेको खबर सबैको कानमा पुगिसकेको थियो ।

सन्तोषी त उनै श्रीमानको फोन कुरिरहेकी थिइन । शुक्रबार २४ गते दुर्घट्नामा परेका श्रीमानसँग सन्तोषीको बुधबार कुराकानी भएको थियो । आइतबार र बुधबार फ्रि कलको अफर पाउने भएकाले सुवासले सन्तोषीलाई आइतबार फोन गर्छु भनेका थिए ।सुवासले शुक्रबार तलब आएपछि घर पैसा पठाउँछु पनि भनेका थिए । सन्तोषीलाई फोनमा भनेजस्तै सुवास महिनाभरीको तलब लिएर त्यो दिन काम गर्ने ठाउँ हुण्डाईबाट घरमा पैसा पठाउन बैंक गए । तर साउदीमा त्यो दिन चाड परेकाले उनले घरमा पैसा पठाउन पाएनन् ।

आइतबार फोन गर्ने उनको बाचा पनि पूरा भएन । पैसा पठाउन नपाएपछि कम्पनी फर्कदै गर्दा सुवास बाटोमै दुर्घट्नामा परे ।

साउदीमै काम गर्ने सन्तोषीका साईंला देवरले उनलाई त्यही खबर दिएका थिए । सबैले मृत्युको खबर पाए पनि सन्तोषीलाई पूरा खबर दिइएको थिएन । तर पसलबाट घरमा पुग्दा सबैजना भेला भएका थिए । यो देखेपछि सन्तोषीलाई पनि श्रीमान् मरेको अनुमान लाउन धेरै बेर लागेन ।
त्यसपछि सन्तोषीलाई आकाशले गल्र्याम्म थिचे जस्तो भयो । खबर सुनेपछि ढलेकी सन्तोषी उठ्न सकिनन् । खान छाडिदिइन् । होसमा आउँदा रुन्थिन मात्र । उनलाई बचाउन ‘स्लाइन’ दिएर राखियो । ‘धेरै त बेहोस हुन्थी, होसमा आएपछि मर्छु भन्ने, कुद्ने गरेपछि हामीले उसलाई लठ्याउने सुई दिएर राखेको,’ सन्तोषीकी माइली काकी वेदमाया गुरुङ ती दिन अहिले पनि दुस्वप्न झै सम्झिरहन्छिन्।

श्रीमानको मृत्युको २७ दिन बित्दा पनि सन्तोषी मुढो झैं थिइन् । दुर्घट्ना भएको २७ दिनपछि सुवासको शव आयो । मुढोझैं भएकी सन्तोषी मोरङबाट श्रीमान्को शव बुझ्न काठमाडौं आइन् । ससुरा र माइतीको साथमा काठमाडौं आएकी सन्तोषीले नै विमानस्थलमा श्रीमानको शव बुझिन् ।

‘एयरपोर्टमा सहि गर्दा पर बाकस देखें । दुईवटा बाकस थियो । म त त्यहि ढलेंछु, ब्युझिँदा त कारमा रहेछु । एसीको हावा चलिरहेको थियो,’ सन्तोषी सम्झिन्छिन् । शव बुझ्न सहि गर्दैगर्दा परबाट गुड्दै आएको बाकस देखेपछि सन्तोषी बेहोस भएर ढलेकी थिइन् । बेहोस भएकी सन्तोषीलाई आफन्तले त्यहीे विमास्थलमा कसैको कारमा राखेको थियो ।

विमानस्थलबाट सुवासको शव मोरङ लगियो । काठमाडौंदेखि पाँच सय किलोमिटर भन्दा धेरै बाटो कसरी पार भयो सन्तोषीलाई याद छैन । ‘कोठामा बाकस राखेपछि मैले मेरो कालेलाई घरमा ल्याइपुर्‍याएँ भनेको याद छ, त्यसपछि केही थाहा छैन्,’ सन्तोषी आँशुलाई रोक्न थुक निल्दै बोलिन् ।
उनी होसमा आउँदा अन्तिम संस्कारको तयारी भैसकेको थियो । संस्कार अनुसार घरमा लामा पढिरहेका थिए । बाकसमा कोचिएर आएका श्रीमानलाई सन्तोषीले हेर्न आँट गरिनन् । फेरि दुर्घट्नाको बारेमा आएको कहालीलाग्दो खबरले उनलाई श्रीमानको अनुहार हेर्ने आँट आएन । मोरङमै सुवासको सदगत गरियो ।
श्रीमानको सदगतपछि सन्तोषीलाई सम्हालिन गाह्रो भयो । सन्तोषीको अवस्था देखेर परिवारले बाँच्ने छाँटकाँट देखेका थिएनन् । श्रीमानको मृत्युको खबर सुनेदेखि होसमा भन्दा धेरै बेहोसीमै बिताएकाले सन्तोषीलाई भने धेरै कुरा याद छैनन् ।

बेलाबेलामा होसमा आउँदा परिवारका सदस्यले कुरा गरेको उनी सम्झन्छिन् । ‘ससुराले त मरेको सँगै गाडौंला भनेको सुनें । अनि चाहिँ उठ्नुपर्छ जस्तो लाग्यो तर सकिन,’ सन्तोषीका आँशु गालाको डिल हुँदै घाँटीसम्म पुगे । उनी त्यो क्षण अझै सम्झिन्छिन्, ‘घर भित्र लडिरहेकीे थिएँ । तेरो सिन्दुर पोते त गयो छोरी, खै दे त भने, त्यसपछि बेहोस भएछु,’ सिन्दुर पुछिँदाको त्यो पल सन्तोषीलाई चटक्कै बिर्सन पाए हुन्थ्यो जस्तो लाग्छ अहिले पनि ।
श्रीमान् बितेपछि उनकोे जीवनमा न टेक्ने लौरी बाँकी रह्यो न समाउने हाँगो । घर बनाउँदाकोे ऋण र दुई सन्तानको जिम्मेवारी उनकै काँधमा आयो । उनको घरमा बिहानदेखि बेलुकासम्म साहु पालैपालो आउँथे ।

सबैकुरा एकैपटक आइलागेपछि उनले बाँच्ने र गरिखाने आँट जुटाउन सकिनन् । उनलाई आँखा बिना संसार हेर्न सकिन्न जस्तो लाग्यो । मुटु बिना सास रोकिन्छ जस्तो लाग्थ्यो । त्यसैले मन भुलाउन सन्तोषीले रक्सीको साहारा लिन थालिन् ।

‘छोराछोरीलाई दाजुभाइ र आमालाई ५ वर्ष पालिदिनु भनेकी थिएँ । मलाई त बाँच्छु भन्ने नै लाग्दैनथ्यो । रक्सीको ग्यालेन लिएर म खोलाको छेउमा रुँदै दिन बिताउँथे,’ सन्तोषी छोरी सविताको कपाल सुमसुम्याउँछिन् । अनि बोलिन्, ‘मैले त सबैलाई मेरो भर नपर्नु भनेकी थिएँ ।’

सन्तोषीले मात्र हैन बाबुको मृत्यु र आमाको बेदनाले छोराछोरीको अवस्था बिग्रदै गयो । छोरी सविताले बुवाको सदगत गरेको केही समयपछि आत्महत्या गर्न खोजिन् । छोरा सौरभ स्कुल जान छाडे |

‘बुवाले कस्तो माया गर्नुहुन्थ्यो अनि म पनि सँगै जाने भनेर नि,’ सविता आत्मात्या गर्न खोज्नुको कारण बताउँदै भन्छिन् ‘बुवा नहुँदा मैले मामुलाई नै बुवा अनि मामु भन्छु भनेको ।’

सन्तोषी भन्छिन्, ‘म त रुन्थे, रक्सी मात्र खान्थें । लाग्थ्यो अहिले मरौं । पीडा हुँदा त संसार नै छैन जस्तो लाग्दो रैछ।’

उनको तीन महिने बैधव्य श्रीमानसित बिताएका क्षण सम्झेर बिते । अहिले तिनै श्रीमानको साथमा बसेर यी कुरा सुनाउँदा उनलाई नमिठो सपना जस्तो लाग्छ । उनी कसैले नभोगेको मैले भोग्नुपर्ने भनेर भाग्यलाई धिक्र्काछिन् ।सन्तोषी दिनरात यसरी नै कटाइरहेकी थिइन् । तर तीन महिना पछि फेरि पत्याउनै नसकिने अर्को खबर आयो । यो पालि पनि पहिले जस्तै उनको फोनको घण्टिले अनौठो खबर ल्यायो । ‘माइजु मामा त जिउँदै छन अरे,’ उनलाई भान्जे बुहारी रितु तामाङले यो अपत्यारिलो खबर सुनाइन् ।

श्रीमान् गुमाउँदाको पीडालाई भान्जी बुहारीको यो खबरले उनलाई जिस्क्याए जस्तो लाग्यो । श्रीमान् नभएर सबैले हेपेजस्तो जस्तो लाग्यो । तर किरिया गरिसकेको श्रीमान् जीवित छ भनेको सुन्दा कानमा तेल हालेर को नेपाली महिला बस्न सक्ला र ? सन्तोषीले पनि खबर के रहेछ भनेर बुझ्न साउदीमा पहिले श्रीमान्सँगै काम गर्ने भान्जालाई फोन गरिन् ।

‘मामा त टाइसुट लगाएर सपनामा आएको सपनामा देखेथें माइजु । मरेको मान्छे कसरी बाँच्नु,’ फोनमा भन्जाले दिएको जवाफले उनलाई झनै निराश बनायो । साउदीको अस्पतालमा उपचार गराइरहेका मामालाई भेटिसकेका सन्तोषीका भान्जा अर्जुन तामाङले मामा जीवितै छन् भन्ने कुरा झ्वाट्टै सुनाउन सकेका थिएनन् । किनकि सुवास ठानेर अर्कैको शव कम्पनीले घरमा पठाइसकेको थियो । उनलाई कम्पनीले मरे भनेका मामालाई फेरि मारिदिने पो हो कि भन्ने डर लाग्यो ।

तर यो खबर यत्तिकैमा सिमित भएन । त्यसको केही दिनमा सुवास जीवित नै छन भन्ने खबर एक कान दुई कान मैदान भयो । ‘भान्जाले अस्पतालमा गएर मामालाई भेटिसकेका रहेछन, कम्पनीले मार्ने हो कि भनेर मलाई ढाँटेका रैछन,’ सन्तोषीले पनि श्रीमान् जीवितै छन भन्ने पक्का खबर पाइन् ।

मरेका श्रीमान जीवित छन भनेर सुन्दा सन्तोषीको खुसीको सीमा थिएन । उनले आफूलाई भाग्यमानी ठानिन् । अर्कातिर मन पीडाले पोल्न थाल्यो । मनमा आउने प्रश्नले सन्तोषीलाई दिनरात घोच्न थाले ।

‘मेरो हातका चुरा कस्का नाममा फुटे, पोते कस्का लागि चुँडियो ? मेरो सिउँदोको सिन्दुर कस्का लागि पखालियो ? मेरो बुढो जिउँदो हुँदाहुँदै कसको घेवा (सदगतसँगै अन्तिम संकार) गरें जस्तो लाग्यो । रातभर निन्द्रा लागेन,’ सन्तोषीका अनुहारका रंग फेरियो । अघिदेखि सुँक्सुकाइरहेकी सन्तोषीको रुवाइको आवाज ठूलो भयो ।
आफ्नै श्रीमानको पासपोर्ट, साउदी सरकारले जारी गरेको मृत्युको प्रमाणपत्र सहित आएको शव जलाएकी सन्तोषीलाई त्यतिबेला कुनै फिल्म हेरिरहेको छु कि झैं लाग्यो ।
उनलाई श्रीमान् जीवित हुँदाहुँदै कसका लागि सुन्दुर पखालें, पोते चुडाएँ, चुरा फुटाएँ भन्ने प्रश्नले मनमा खुल्दुली मच्चायो । श्रीमान् जीवितै भेटिनुको वास्तविक कारण उनले पछि मात्र थाहा पाइन् ।

बैंकमा पैसा हाल्न जाँदा सुवाससहित हुण्डाई कम्पनीका चार जना नेपाली कामदार गएका थिए । बैंकमा काम नहुने देखेपछि फर्किएका उनीहरु बाटोमै दुर्घट्नामा परे । उनीहरु चढेको ट्याक्सी चलाउने बाग्लुङ घर भएका तेजेन्द्र भण्डारी थिए ।

पाँच जना दुर्घट्नामा परेका मध्ये चार जनाको भोलिपल्टै मृत्यु भएको अस्पतालले घोषणा ग¥यो । मृत्यु हुनेमा सुवास पनि थिए । त्यसैले कम्पनीले सुवासको शव पनि नेपाल पठाएको थियो । ट्याक्सीचालक तेजेन्द्रको भने उपचार भइरहेको थियो ।

कोमामा रहेका ट्याक्सी चालक तेजेन्द्रको तीन महिनापछि अस्पतालले अनुहारको पट्टी खोल्यो । उनी होसमा आए । होसमा आएका मानिसलाई आफ्नो बारेमा केही थाहा थिएन । उनले आफ्नो बारेमा जम्माजम्मी बताएका दुई शब्दले बाँचेका ब्यक्ति तेजेन्द्र हैनन् भनेर छुट्याउन गाह्रो भएन ।

तेजेन्द्र भनेर उपचार गराइएका मानिस तेजेन्द्र होइनन्, हुण्डाईका कामदार हुन भन्ने कुरा बिरामी कुरेर बसेका तेजेन्द्रका साथीले थाहा पाए । त्यति भएपछि तेजेन्द्रका साथीले उनी हुण्डाई कम्पनीकै भएको ठहर गरेर कम्पनीलाई खबर गरे । कम्पनीले उनको बारेमा बुझ्दा होसमा आएका उनी तेजेन्द्र नभई सदगत गरिसकेका सुवास तामाङ भएको पत्तो लाग्यो ।

यसरी सदगत गरिसकेका मानिस जीवितै पाउँदा सन्तोषीलाई ठूलै चमत्कार भए झैं लाग्यो । तर उनका पतिले दुर्घट्ना पछि जन्मघर भोजपुर र श्रीमतीको नाम सन्तोषी बाहेक पहिलेको कुरा सबै बिर्सिएका थिए । होसमा आएको ब्यक्तिले घर र श्रीमतीको नाम बताएपछि सुवासका नाममा तेजेन्द्र मरेको र मरेका तेजेन्द्रको नाममा सुवास बाँचेको पत्तो लाग्यो ।

तीन महिनाअघि खरानी भएका श्रीमान् फेरि होसमा आएपछि सन्तोषीलाई कहिले देखुँ, कहिले बोलौं भएको थियो । होसमा आएको केहीदिनमै सन्तोषीले फोनमा श्रीमानसित कुरा गरिन् । तर श्रीमानले सोधेका प्रश्नले भने सन्तोषीलाई श्रीमान् जीवित छन भन्ने खुसी त दियो, तर सँगै अत्यायो पनि ।

‘तिमी मेरो श्रीमती सन्तोषी हैन त ? मैले तिमीलाई बिहे गरेको है,’ कोमाबाट तीन महिना पछि होसमा आएका श्रीमानले फोनमा सोधेको प्रश्नले सन्तोषी अक्क न बक्क भइन ।
‘हो नि । हाम्रा दुई जना छोराछोरी पनि छन,’ सन्तोषीले आफू श्रीमती भएको विश्वास दिलाउन श्रीमानले नसोधेको प्रश्नको पनि उत्तर दिइन् ।
‘ए तिमी एक्लैले पाएको कि मै हुँदा पाएको,’ श्रीमानका एकपछि अर्को सुन्दा रमाइलो लाग्ने तर छक्क पार्ने प्रश्नले सन्तोषीलाई पनि छक्क बनायो । श्रीमानको यस्ता प्रश्नमा के उत्तर दिने सन्तोषी अलमलमा परिन् ।

दुर्घट्ना पछि भर्खरै बच्चा जस्तै भएका श्रीमानलाई उनले पुराना कुरा सम्झाउँदै गइन् । फोनमा भिडियोमा नियमित कुरा गर्न थालिन् । सुवास बिस्तारै निको हुँदै आए । दुर्घट्नाको २ वर्ष पछि गएको जेठ १२ गते सुवास घर फर्किए ।

श्रीमान् घर फर्किएपछि उनको जीवन कायापलट भयो । श्रीमान् जीवित भए पनि सन्तोषी साउदीबाट सुवास नफर्किउन्जेल बिधुवा भएरै बसेकी थिइन् । सदगत गरिसकेका मानिसको फेरि जन्म नगराउन्जेल उनले भेट्न मिल्दैन थियो । ३६ वर्षका श्रीमानको न्वारान भएपछि उनले जेठ १७ गते श्रीमानलाई भेटिन् । ‘त्यो बेला भेट्दा उहाँले कतिबेला आएको भन्नु भो, म त हाँस्न पनि सकिन रुन पनि सकिन, हेरिरहेँ,’ सन्तोषीले मरेका श्रीमानलाई फेरि भेट्दाको अनुभव सुनाइन् ।
जेठको १८ गते सन्तोषीको सिउँदो फेरि भरियो । जसका नाममा उनले सिन्दुर पखालिन्, पोते चुँडाइन, चुरा फुटाइन उनैले फेरि सन्तोषीको सिउँदो रङ्गाए । ‘गुमाएका बुढाबाट फेरि सुन्दर पोते लगाउन पाएँ । सिउँदोमा सिन्दुर पर्दा मन त खुसीले उडेको थियो,’ सन्तोषी मुस्कुराइन् ।

१२ वर्ष अघि भागेर बिहे गरेका सन्तोषी र सुवासको यो पालि भने परिवार र आफन्तको उपस्थितिमा बिहे भयो । मरेका श्रीमान् फेरि पाउँदाको खुसी सन्तोषी शब्दमा व्यक्त गर्न सक्दिनन् । दुर्घटनामा परेका उनका श्रीमान् पहिलेकै जस्ता त छैनन्, तर उनको साथ र सहयोग छ ।

सुवास घरमा बस्न मान्दैनन् । सिटिसफारी लिएर घरबाट निस्केका श्रीमान् बेलुका घर नर्फकिने हुन कि भन्ने चिन्ताले सन्तोषीको मन सधै चिन्तित हुन्छ । ‘घरमा बस्छु तर मन उसैसँग हुन्छ । न के हुने हो, कसलाई हान्दिने हो कि भन्ने लाग्छ,’ सन्तोषी मलिन स्वरमा बोलिन् ।

श्रीमान् बाँचेर फर्किदा सन्तोषीको एउटा खुसी त फर्किएको छ । तर बच्चा झैं बनेर पति फर्किए पछि उनले धेरै इच्छा मारेकी छन् । श्रीमान् जिउँदै हुँदा पनि तीन महिना विधुवा हुँदाको पीडा भोगिन् ।

अन्जान मान्छेको काजकिरिया गरिन् । तर पनि उनले मरिसकेका श्रीमान फेरि पाइन् । तर श्रीमान् साथमै भए पनि मृत्युदर्ता हातमै छ । कानूनी रुपमा उनका पति बाँचेका छैनन् । त्यसैले, दराजमा राखेको श्रीमानको मृत्युदर्ताको प्रमाणपत्र निकाल्दै सन्तोषी सोध्छिन् “मेरो श्रीमानलाई कसरी जीवित बनाउने होला ?”

 

सन्जिता देवकोटा/उज्यालो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution