इराक र इरानमा गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या २०० नाघ्यो

कात्तिक २७ – इराक र इरानको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या दुई सय नाघेको छ ।
ज्यान गुमाउनेको संख्या कम्तिमा दुई सय १४ पुगेको छ । दुई हजार ८ सय भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण ज्यान गुमाउनेमा अधिकांश इरानको पश्चिमी क्षेत्रका छन् । इराकमा कम्तिमा सातजनाको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ ।
इरानमा भूकम्पका कारण ७० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । भूकम्प गएसँगै मानिसहरु घरबाट बाहिर सडकमा निस्किरहेका छन् ।
अहिले दुवै देशमा उद्धारको काम चलिरहेको छ । इराकको राजधानी बग्दादमा धेरैले प्राथना गरिरहेका छन् । इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ ।
इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबर आएको जानकारी दिनुभएको छ ।
अरु गाउँमा बिजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो । आइतबार बेलुकी इराकी शहर हलब्जा केन्द्रीत भएर भूकम्प गएको अमेरिकी भू वैज्ञानिक सर्वेक्षण यूएसजीएसले जनाएको छ