चाईना गेजुवासँग बुढीगण्डकी आयोजनाको सम्झौता रद्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बहु चर्चित बुढीगण्डकी जलविद्युत आयोजनामा चिनियाँ कम्पनीसँगको सम्झौता रद्द गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो सम्झौता रद्द गर्ने निर्णय गरेको श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले जानकारी दिए ।
सरकारले गत जेठ ९ गते नेपालको १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम चाइना गेजुवा ग्रुप कम्पनीलाई दिने निर्णष गरेको थियो। मन्त्रिपरिषद्ले आयोजनाको इन्जिनियरिङ प्रोक्युपमेन्ट कन्सट्रक्सन एन्ड फाइनान्सिङ अर्थात इपीसीएफ मोडलबाट उक्त आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो। तर सोमबार मन्त्रिपरिषद्को अर्को बैठकले त्यो निर्णय खारेज गर्ने निर्णय गरेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले नक्कली भ्याट बिल बनाई राजश्व ठगेर कारबाहीमा परेको सो चिनियाँ कम्पनीलाई जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा निर्माण जिम्मा दिन प्रकृया अघि बढाएका थिए । तत्कालीन समयमा माओवादीले सरकारबाट फिर्ता भएकै दिन सो प्रक्रिया मन्त्रिपरिषद्मा लगेको भएपनि गत जेठ महिनामा मन्त्रिपरिषद्ले सो प्रस्ताव स्वीकृत गरेको थियो ।