बौद्धधर्म गुरु पुज्यनिय महानायक रिन्पोछे भिक्षु कर्म ज्ञान सागर लामाको परिनिर्वाण

कार्तिक २३,याम्बु | बौद्धधर्म गुरु पुज्यनिय महानायक रिन्पोछे भिक्षु कर्म ज्ञान सागर लामाको हिजो कार्तिक २२ गते (बुधबार) रातको ११:२५ बजे ८१ बर्षको उमेरमा परिनिर्वाण हुनु भएको छ | तामाङअनलाइनको तर्फबाट वहाँको चिर-आत्मा शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ |
को हुन बौद्धधर्म गुरु पुज्यनिय महानायक रिन्पोछे भिक्षु कर्म ज्ञान सागर लामा ?
महासंघ नायक रिन्पोछे गुरु भिक्षु कर्म ज्ञानसागर लामा ज्यू को जन्म बि . सं . १९९३ सालमा मकवानुर जिल्लाको चिसापानी भन्ने ठाउँमा पिता कर्म छेवाङ र माता मार्मेन डोल्माको कोखबाट र्साईला सु – पुत्रको रुपमा जन्मिनु भएको थियो ।
उहाँको बाल्यावस्था अत्यन्त साधारण परिबेशमा बितेको थियो । सानै उमेरदेखि नै बौर्द्धधर्मप्रति अत्यन्त आस्थावान हुनुहुनुभएकोले स्थानियस्तरमा सामन्य औपचारिक र आध्यात्मिक शिक्षा पश्चात २०१७ सालमा झ्याटल साङ्गे रिन्पोछे गुरुबाट दार्जलिङको टाईगरहिलमा रहेको जोरबङ्गला गुम्बामा , यसभन्दा अघि सिक्किमको टेन्डाङ हिमालको फेदिमा रहेको ओडारमा र दावनेपर्वत अमरवन दुम्किबास ५ , नवलपरासी लुम्बिनीमा २ पटक गरि जम्मा ४ पटक ल्होसुम दासुम समेत १३ बर्ष कठोर गुफासाधना सम्पन्न गर्नुभएको थियो ।
२०३६ सालमा संगठन बिस्तार गर्नुपूर्व भेंडा , बाख्रा , कुखुरा , परेवा र माछा गरी २९ लाख ६४ हजार प्राणीहरुको प्राण रक्षा गरिसक्नु भएको थियो | संगठन बिस्तार पश्चात संस्थागत रुपमा बार्षिक १ लाख २५ हजार माछा छेथार प्राणदान गर्दै आउनु भएको थियो ।
यसैगरी दार्शनिक गुरु दाप्साङ रिन्पोछे लगायत पाँच जना टुल्कु अवतारीहरु , लामाहरु र भूपू समाज कल्याण मन्त्रि तिलक बहादुर नेगीको उपस्थितीमा भिक्षुशिल ( गेलोङ धोम्बा ) ग्रहण गर्नु भएको थियो ।
नेपाल अहिंसावादी बौद्ध धर्म बिश्वशान्ति चक्र संघको पाँचौ महाधिवेशनको अवसरमा सम्पूर्ण बौद्ध समाजको उपस्थितीमा संयुक्त बौद्ध महासंघका अध्यक्ष महासंघनायक रिन्पोछे नोर्बु लामाले उहाँलाई २०४८ साल चैत्र १४ मा महासंघनायकर २०५७ फाल्गुनमा रिन्पोछेको पदवी प्रदान गर्नु भएको हो ।
उहाँको अतुलनिय योगदानको मुल्यांकन र कदर गर्दै नेपाल सरकारको तर्फबाट “सगरमाथा प्रतिष्ठान नेपाल सम्मान २०५८” द्वारा सम्मान गरिएको थियो । उहाँ यस संगठनको संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो।
साथै लामा , आनी र ज्योमोहरुलाई डुबाञ्याम्बा र योग गुफाहरुको शिक्षा दिने क्रममा ५० भन्दा बढिको संख्यामा ल्होसुम दासुम ( ३ बर्ष ३ महिना ) बाट उतिर्ण गराई सक्नुभएको थियो |
वहाँले आफ्नो बृद्धा उमेरमा समेत बिभिन्न मानव समाजको घरदैलोमा शान्ति र अहिंसाको सन्देश लिएर आफ्नो आध्यात्मिक यात्रालाई निरन्तरता दिदैं आउनु भएको थियो |