ट्रम्पको मोटरकेडलाई माझी औंला देखाउने महिलाको जाँगिर चट्ट

काठमाडौं, २१ कात्तिक — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको मोटरकेडलाई माझी औंला ठड्याएर विरोध गर्ने एक महिलालाई उनले काम गर्ने कम्पनीबाट निकालिएको छ ।
जुली ब्रिस्कम्यान नामक ती महिला गत महिना भर्जिनियामा साइकल चलाउँदै गर्दा ट्रम्प चढेको कारसहितको मोटरकेड गुज्रिएको थियो । त्यो थाहा पाएर उनले ट्रम्पलाई लक्षित गरी माझी औंला ठड्याइन् । माझी औंला ठड्याउनुको अर्थ अश्लील हुन्छ ।
‘उनी गइरहेका थिए अनि मेरो रगत उम्लेर आयो,’ ब्रिस्कम्यानले द हफिङटन पोस्टलाई बताइन् । ट्रम्पका नीतिहरूलाई विरोध गर्दै उनले माझी औंला ठड्याएको बताइन् ।
राष्ट्रपतिको मोटरकेडमा भएका एक फोटोग्राफरले ब्रिस्कम्यानको फोटो खिचे र त्यो तस्वीर तत्कालै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भयो । धेरैले ब्रिस्कम्यानलाई नायकको संज्ञा दिए भने केहीले उनी सन् २०२० को निर्वाचन लड्न सक्ने बताए ।
ब्रिस्कम्यान विगत ६ महिनादेखि भर्जिनियामा रहेको ठेकेदार संस्था अकिमामा कार्यरत थिइन् । उनको तस्वीर भाइरल भएपछि आफैंले मानवस्रोत विभागलाई बताउन उचित ठानिन् ।
त्यसपछि उनका हाकिमहरूले अश्लील संकेत गरेको र सामाजिक सञ्जालमा राखेको भन्दै उनलाई जागिरबाट निकाले ।
आफ्नो जागिर गएपनि जनताको मनमा रहेको आक्रोशलाई अभिव्यक्त गरेकोमा आफूलाई गर्व लागेको ब्रिस्कम्यान बताउँछिन् ।
@एजेन्सी