हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?


कार्तिक २०, २०७४-फिदिम मध्यबजारको ठूलो गेटमा लेखिएको ‘लिम्बुवान राज्य’ का अक्षर मधुरो हुँदै गएका छन् । यससँगै एकल जातीय मुद्दा पनि कमजोर हुँदै गएको छ । यो निर्वाचनमा राजनीतिक दलहरूले बृहत् राजनीतिक मुद्दा उठाएका छन् ।

संविधानसभा निर्वाचनमा उठेका पहिचानका चर्का मुद्दा यो निर्वाचनमा अति सुस्त देखिन्छन् । विगतमा माओवादी र लिम्बुवान पार्टीहरूले जातीय पहिचानका मुद्दा चर्को रूपमा उठाएका थिए । यो निर्वाचनमा भने सबै राजनीतिक दलले जिल्लाको विकास, आर्थिक समृद्धि, संविधान संस्थागतलगायत विषय उठाएका छन् ।

संविधान जारी भइसकेपछि यस क्षेत्रमा एकल जातीय पहिचानको मुद्दा किनारा लाग्दै गएको हो । यो मुद्दा उठाउँदै आएका लिम्बुवान पार्टी विभाजन हुनु र प्रमुख राजनीतिक दलका संविधान कार्यान्वयन तथा आर्थिक समृद्धिको मुद्दा हावी हुनुले जातीय पहिचानको राजनीति झन्झन् कमजोर हुँदै गएको छ । पाँचथर, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लामा जातीय पहिचान मुद्दा संविधान जारी हुनुअघि निकै चर्किएको थियो ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका राजनीतिशास्त्री मोहन थेवेले तरल राजनीतिक अवस्थामा जातीय मुद्दा चर्को उठेको भए पनि संविधान जारी भएयता त्यो मुद्दा नै परिवर्तन भएको बताए । ‘जातीय सद्भाव बलियो भए मात्र अन्य मुद्दा स्थापित गर्न सकिन्छ भन्ने बोध भएको छ,’ उनले भने, ‘चर्को जातीय मुद्दाले हित गर्दैन भन्ने राजनीतिक दलहरूले बुझ्दै गएका छन् ।’ राजनीतिक स्थायित्वका लागि राजनीतिक दलबीच धु्रवीकरण हुनु पनि उचित रहेको उनले औंल्याए ।

पाँचथरका भवानी खतिवडाको बुझाइमा विगतमा जातीय पहिचानका नाममा एकले अर्कालाई निषेध गर्ने राजनीतिक नारा लागे । ‘पहिचानको नाममा गलत राजनीति गर्ने काम कम हुँदै गएको छ,’ उनले आइतबार फिदिममा भने, ‘बहुपहिचानसहितको राज्य मात्र मुलुकको हितमा हुन्छ ।’

कांग्रेस र एमाले (वाम गठबन्धन) का प्रतिनिधिसभा उम्मेदवारले पनि सबै जातजाति, भाषा संस्कृतिको पहिचानका लागि क्षेत्रीय पार्टीहरू मूलधारमा मिल्नुपर्ने धारणा राखेका छन् । यस पटकको निर्वाचनमा कांग्रेस र वाम गठबन्धन (एमाले–माओवादी) का राजनीतिक मुद्दा नै जिल्लामा हावी देखिन्छ । कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार भीष्मराज आङदेम्बेले एकल जातीय पहिचान पार्टीहरू लोकतान्त्रिक मूलधारमा समाहित हुँदै गएको बताए । ‘एकल पहिचान होइन, बहुजातीय, भाषिक पहिचान र समृद्ध हुनुपर्छ भन्ने विचार विकास भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘क्षेत्रीय पार्टीहरू लोकतन्त्र बलियो बनाउन हाम्रो पक्षमा आएका छन् ।’

एमाले नेता एवं वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार वसन्तकुमार नेम्वाङले संविधान जारी हुने बेला जातीय राजनीतिको कुरा बढी उठेको उल्लेख गर्दै संविधान जारी भइसकेपछि कम हुँदै गएको र यसले बहुजातीय, सांस्कृतिक, भाषिक पहिचानको मुद्दा बलियो हुँदै गएको बताए । ‘बहुजातीय, भाषिक, सांस्कृतिक पहिचान आवश्यक रहेको स्पष्ट हुँदै गएको छ,’ नेम्वाङले भने, ‘क्षेत्रीय पार्टीका नेता राजनीतिक मूलधारमा समावेश हुने क्रम जारी छ । यो निर्वाचनमा जातीय मुद्दाभन्दा अरू मुद्दाले प्राथमिकता पाएको छ ।’

स्थानीय तह निर्वाचन मत परिणाम

लोकतान्त्रिक गठबन्धन २७,१०३

वामपन्थी गठबन्धन ४०,४७८

अन्य दलको मत ८,५००

कुल मतदाता १२५,५२९

माओवादी केन्द्रका नेता श्रीप्रसाद जबेगुले माओवादीले पहिचानको राजनीति नछाडेको दाबी गरे । ‘हामी जनयुद्धको औचित्य पुष्टि गर्न एमालेसँग गठबन्धन गरेका हौं,’ उनले भने, ‘पछि परेका समुदायको भाषा, संस्कृति अघि बढाउन लागेका छौं, पहिचान छाडेको होइन ।’ संविधान संशोधन गरी विभिन्न जातजातिगत पहिचान र अधिकारको प्रश्न सम्बोधन हुने उनको भनाइ छ । पूर्वी पहाडमा एमालेसँग गठबन्धन गरेपछि माओवादीले पहिचानको मुद्दा छाडेको कांग्रेसको आरोप छ ।

संघीय समाजवादी फोरमका राष्ट्रिय परिषद् सदस्य राजेन्द्र जबेगुले कांग्रेस, एमालेले पहिचान मेटाउने राजनीति गरेको आरोप लगाए । ‘सिट सुरक्षाका लागि विभिन्न जातजातिको पहिचान मेटाउन गठबन्धन भएको हो, सबै जातजाति, समुदाय, भाषाभाषीको पहिचानको मुद्दा सकिएको छैन,’ उनले भने ।

संघीय लिम्बुवान मञ्चका नेता एवं प्रतिनिधिसभा उम्मेदवार सागर केरुङले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको दाबी गरे । ‘हामीले पहिचानको मुद्दा शीर्ष स्थानमा राखेका छौं,’ उनले भने, ‘लिम्बुवानलाई हामीले जातीयभन्दा भौगोलिक पहिचानका रूपमा उठाएका थियौं ।’ आफ्नो मुद्दालाई ठूला पार्टीले गलत ढंगले व्याख्या गरेको उनको आरोप छ । कांग्रेस, एमालेले जातीय राजनीति गरेको आरोप विगतमा आफ्नो पार्टीलाई लगाएको उनले बताए । यो निर्वाचनमा लिम्बुवान मञ्चले भाग लिएको छ भने संघीय लिम्बुवान पार्टीले बहिष्कार गरेको छ ।

हालै मञ्च छाडेर संघीय समाजवादी फोरममा प्रवेश गरेका दिलेन्द्र कुरुम्वाङले क्षेत्रीय पार्टीबाट पहिचानको मुद्दा सम्बोधन नहुने दाबी गरे । ‘जातीय पहिचानको मुद्दा रूपान्तरण भएको छ,’ उनले भने, ‘जातजाति, भाषा, संस्कृति सबैको पहिचान सम्बोधन हुनुपर्छ ।’ पहिचानको मुद्दा ओझेलमा नपरेको उनको दाबी छ ।

ताप्लेजुङका एमाले नेता हेमन्त उप्रेतीले कुनै बेला जातीय पहिचान उग्र रूपमा आएको भए पनि हाल राजनीतिक मूलधारमा आएको बताए । लिम्बुवान पार्टीका नेताहरू अन्य राजनीतिक दलमा प्रवेश गर्ने क्रम बढेको उल्लेख गर्दै उनले सबै जातजातिको पहिचानको पक्षमा संविधानले ग्यारेन्टी गरेको बताए । ‘एकल जातीय पहिचानभन्दा सबै जातजातिको विकास र समृद्धिका लागि संविधानले व्यवस्था गरेको छ,’ उनले भने, ‘यो क्षेत्रमा अब जातीय उग्र नारा लाग्ने देखिँदैन ।’

कांग्रेस रणनीति मत तान्ने, गठबन्धनको जोगाउने

जिल्लामा दलहरूले निर्वाचन अभियानलाई तीव्रता दिन थालेका छन् । हाल उनीहरूको प्रचार ग्रामीण क्षेत्रमा केन्द्रित छ । कांग्रेस मत बढाउने र वामपन्थी गठबन्धन स्थानीय निकायमा पाएको मत सुरक्षित गर्ने रणनीतिमा लागेका छन् । विभिन्न दलका उम्मेदवारको प्रचार कार्यतालिका सार्वजनिक भए पनि हालसम्म आमसभा, भेला, तामझाम, नाराजुलुस भएका छैनन् । उनीहरूले घरदैलोलाई प्राथमिकता दिएका छन् । आचारसंहिता पालना गर्न निर्वाचन आयोगको निर्देशनअनुसार विनियोजित निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, सांसद विकास कोष, गाउँपालिकालगायत विभिन्न सरकारी निकायलाई बजेट कार्यान्वयन नगर्न निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले बताए ।

यहाँ मनोनयन दर्तासमेत तामझामरहित र शान्तिपूर्ण थियो । उम्मेदवारी दिएका ९ दलमध्ये वाम (एमाले–माओवादी) गठबन्धन, लोकतान्त्रिक (कांग्रेस–राप्रपा) गठबन्धन, संघीय समाजवादी, लिम्बुवानलगायत साना दलका उम्मेदवार, नेताहरू आ–आफ्नो क्षेत्र, वडा, टोलमा कार्यकर्ता र मतदाता भेटघाटमा व्यस्त छन् । पाँचथरमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा पूर्वसांसद एमालेका वसन्तकुमार नेम्वाङ, लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे, संघीय समाजवादी फोरमका प्रेमराज लावती र संघीय लोकतान्त्रिक मञ्च लिम्बुवानका सागर केरुङ प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्य क्षेत्र ‘क’ मा वाम गठबन्धनबाट एमालेका गणेश काम्बाङ, लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, संघीय समाजवादीका बिर्खबहादुर वाइबा र लिम्बुवानमा हर्कजङ लिङदेन उम्मेदवार छन् । प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङबो मौसम, लोकतान्त्रिक गठबन्धनले कांग्रेसका पुराना कार्यकर्ता सुरेन्द्र दाहाल, संघीय समाजवादीले एबीराज आङदेम्बे र लिम्बुवानले दीपेन्द्र चेम्जोङ लावाहाङलाई उम्मेदवार बनाएका छन् । पाँचथरमा नयाँ शक्ति, जनमुक्ति, राप्रपा राष्ट्रवादी, नेकपा माले, देशभक्त जनगणतान्त्रिक मोर्चा, जनसमाजवादीलगायत दल चुनावमा सहभागी छन् ।

गाउँगाउँमा भेटघाटमा रहेका गठबन्धन दलका नेताले आफू बलियो रहेको दाबी गर्दै मत मागिरहेका छन् । कांग्रेसका आङदेम्बे र सभापति केरुङले फिदिम नगरपालिका, हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकाका अधिकांश वडा छिचोलेको बताए । फालेलुङको प्राङबुङ र मेमेङ घुमिसकेपछि सदरमुकाम फर्किने आङदेम्बेले बताए ।

वाम गठबन्धनका नेम्वाङ र काम्बाङले हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकाका अधिकांश वडा घुमेर फिदिम नगरपालिकाको आघिल्लो भेगमा आइपुगेको बताए । संघीय समाजवादी फोरमलगायत दलले पनि प्रचार तीव्र पारेका छन् । शान्तिपूर्ण प्रचारमा एकआपसमा आरोप–प्रत्यारोप पनि सुनिन थालेको छ । पाँचथरमा दुवै गठबन्धनका उम्मेदवारले मुलुकको आर्थिक समृद्धिको नेतृत्व आफूले मात्र गर्न सक्ने दाबी गर्दै मत मागिरहेका छन् । संघीय समाजवादी फोरमका उम्मेदवारले भने त्रुटिपूर्ण संविधान सच्याउन, आदिवासी जनजाति, मधेसी, मुस्लिम, शिल्पी समुदाय, अल्पसंख्यक जातिको पहिचानको अधिकार सुनिश्चित गर्दै परिवर्तन र समृद्धि आफ्नो मुद्दा रहेको जनाए ।

फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडामा २०२१ सालमा जन्मिएका कांग्रेस उम्मेदवार आङदेम्बे बाजेकै पालादेखि राजनीतिक रूपमा प्रभावशाली परिवारका सदस्य हुन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका आङदेम्बे आम निर्वाचन ०५६ र ०६४ को संविधानसभा चुनावमा एमालेका डम्बरसिं सम्बाहाम्फेसित पराजित भएका थिए । तर संविधानसभा निर्वाचन ०७० मा भने उनले सम्बाहाम्फेलाई ११ हजार ८ सय ३९ मतसहित हराएका थिए । त्यतिबेला सम्बाहाम्फेले ९ हजार १ सय ७९ मत पाएका थिए । संसद्मा आङदेम्बे प्राकृतिक स्रोतसाधन समिति सदस्य पनि थिए ।

फिदिम नगरपालिका १ मा ०१८ सालमा जन्मिएका नेम्वाङ ०४८ र ०५६ सालको संसदीय निर्वाचन जितेका थिए । ०४८ मा १३ हजार ४ सय ५७ मत प्राप्त गरी सांसद बनेका नेम्वाङका प्रतिद्वन्द्वी कांग्रेसका दीपकप्रकाश बाँस्कोटाले १३ हजार एक सय ८० मत पाएका थिए । उनी ०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसका दीपकप्रकाश बाँस्कोटासित पराजित भए । त्यतिबेला बाँस्कोटाले १३ हजार ९ सय ४९, नेम्वाङले १२ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए । ०५६ को आम निर्वाचनमा १७ हजार ९ सय ८९ मत प्राप्त गरी उनले पुन: जिते । उनका प्रतिद्वन्द्वी कांग्रेसका बाँस्कोटाले १५ हजार ९ सय ९१ प्राप्त गरेका थिए ।

दुवै गठबन्धनको दाबी ‘आफैं बलियो’

प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्याशी नेम्वाङ र आङदेम्बे राजनीतिमा खारिएका र स्थापित नेता हुन् । स्थानीय तह निर्वाचनको मत परिणामअनुसार वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन कडा प्रतिस्पर्धामा छन् । स्थानीय तह निर्वाचनमा एमालेले २७ हजार २ सय, माओवादी केन्द्रले १३ हजार २ सय, कांग्रेसले २७ हजार एक सय, संघीय समाजवादीले एक हजार ४ सय र राप्रपालगायत अन्य दलले २ हजार ८ सय मत प्राप्त गरेका थिए । आसन्न निर्वाचनमा ८ हजार ८ सय ८७ मतदाता थपिएर कुल मतदाता एक लाख २५ हजार नाघेको छ । पाँचथरको एक नगरपालिका र ७ गाउँपालिकासहित ८ स्थानीय तहमा एक सय ६५ मतदान केन्द्र छन् ।

प्रदेशमा पनि पुरानै

प्रदेशसभा निर्वाचनमा पनि दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ । वाम गठबन्धनका तर्फबाट क्षेत्र ‘क’ मा एमालेका गणेश काम्बाङ र कांग्रेसका नरेन्द्रकुमार केरुङ प्रतिस्पर्धामा छन् । जो ०७० को संविधानसभा निर्वाचनमा पनि प्रतिस्पर्धी थिए ।

याङवरक गाउँपालिका ६ नागी मुकुबुङमा २०१० सालमा जन्मिएका काम्बाङ २०३३ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय छन् । दुई दशक जिल्ला पार्टीको नेतृत्व गरेका काम्बाङ ०७० को संविधानसभा निर्वाचनबाट सभासद चुनिएका थिए । उनले १३ हजार ८२ मत ल्याउँदा कांग्रेसका केरुङले ११ हजार ५ सय १८ मत पाएका थिए । उनले राजनीति गरेर पैसा नकमाउने र सरकारी सुविधाका लागि दबाब नदिने भएकाले आफू पीडित व्यक्ति भएको दाबी गरे ।

फालेलुङ गाउँपालिका ७ सिदिनमा ०२१ फागुनमा जन्मिएका कांग्रेसका जिल्ला सभापति केरुङ ०७० को संविधासभामा काम्बाङसित एक हजार ५ सय ६४ मतले पराजित थिए । प्राध्यापन पेसा छाडेर सक्रिय राजनीतिमा लागेका केरुङ बौद्धिक र समन्वयकर्ता मानिन्छन् । पाँचथर २ बाट कांग्रेसका सुरेन्द्र दाहाल र माओवादी केन्द्रका इन्द्र आङबोबीच प्रतिस्पर्धा हुने देखिएको छ । तुम्बेवा गाउँपालिका १ आङनामा ००९ सालमा जन्मिएका दाहाल कार्यकर्ता वृत्तमा निष्ठावान मानिन्छन् । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका आङबो १० वर्षे सशस्त्र युद्धका बेला बटालियन कमान्डर थिए । फिदिम नगरपालिका १ नाङगिनमा ०३९ सालमा जन्मिएका उनले सेनामा लडाकु समायोजनपछि स्वैच्छिक अवकाश लिएका थिए ।

‘निर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग’

जनमतका हिसाबले प्रभाव घटदै गएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि पहिचान, समानुपातिक प्रतिनिधित्व र लिम्बुवान प्रदेश प्राप्तिको अभियानलाई निरन्तरता दिँदै निर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गरेको जनाएको छ । मञ्चले सागर केरुङलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ । प्रदेशसभाका लागि क्षेत्र ‘क’ बाट हर्कजङ लिङदेन र ‘ख’ बाट दीपेन चेम्जोङ उम्मेदवार छन् । लिम्बुवान प्राप्तिको आवाज कमजोर नभएको दाबी गर्दै आन्दोलनलाई निरन्तर जारी राख्ने मञ्चका अध्यक्षसमेत रहेको सागर केरुङले बताए । @ इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution