आदर्श र इमान्दार नेतृ राधिका तामाङ –आखिर को हुन् उनी ?

वर्तमान विकृत राजनीतिमा पैसा र शक्तिका आधारमा ठूला–साना नेताको पगरि गुथाइन्छ र त्यसैगरि प्रचार गरिन्छ । तर राजनीतिभित्रको सत्यता खोतल्ने हो भने साना भनेर हेपिएका राजनीतिक कार्यकर्ताभित्रको आर्दश, इमान्दारिता र क्षमता ठूला–ठूला भनिएको नेताहरु भन्दा निकै गुणा धेरै र अगाडी हुन्छ । त्यसैमध्येकी एक हुन् नुवाकोटको प्रतिनिधीसभा क्षेत्र नं १ अन्तरगतको प्रदेश निर्वाचन क्षेत्र नं १ की राधिका तामाङ् ।
नुवाकोट जिल्लालाई सरसर्ती हेदा जिल्लामा धेरै पहुँचदार नेताहरु राजनीतिमा स्थापीत छन् । जस्तै रामशरण महत, प्रकाशशरण महत, अर्जुननर्सिङ के.सी., बहादुर सिंह लामा, प्रकाशचन्द्र लोहनी आदी । तर नुवाकोटले ती नेताहरुबाट के पाए त ? त्यसरी परिणाम हेरियो भने चाँही नुवाकोटले केही पाएको छैन । जिल्लाको कांग्रेस राजनीति के.सी. र महत परिवारको अस्वस्थ प्रतिस्पर्धामा सकिएको छ । साँच्चै भन्ने हो भने महत परिवार विशेषगरि नुवाकोटवासीका लागि अभिषाप बन्न पुगेका छन् ।
हरेक निर्वाचनको मुखमा मिठा भाषण गरेर गाउँ पस्ने महत परिवारले नुवाकोटवासीको आर्थिकस्तर बृद्धि गर्न खासै योगदान पु¥याउन सकेका छैनन् । बरु ठिक दुइबर्ष अघि भुकम्प पिडितका नाममा आएका जस्तापाता लुटेर विक्रि गरेर बद्नामी कमाए । भुकम्प पिडितको पिडामा थप पिडा दिए । पिडित परिवार मुर्छित भए । तर उनीहरुलाई कत्ति पनि ग्लानी भएन । फेरि त्यही व्यक्ति नुवाकोटको जनप्रतिनिधी बन्न निर्वाचनमा होमिएका छन् । यही हो राजनीतिमा इमान्दारिता हराएको भनिएको । त्यो घटनालाई लुकाउन अर्थ मन्त्री रामशरण महत हात धोएर लागि परेका थिए । यसरी हेर्दा पहुँचवाला राजनीतिक नेतृत्व निकै घिनलाग्दो देखिएका छन् ।
यहाँनेर थोरै परिवेश बदलेर पढौँ ।
नेपालको राजनीतिक इतिहासमा माओवादी नेतृत्वको १० वर्षे जनयुद्ध विभिन्न कोणबाट सधैँ सम्झिरहने कालखण्ड हो । सशस्त्र युद्धमा १७ हजार नागरिकले सहादत पाप्त गरे । बाँच्नेहरु बेलाबखत सांसद, मन्त्री र प्रधानमन्त्रीसम्म बनिरहेका छन् । यही मेसोमा राधिका तामाङ पनि कृषि राज्यमन्त्री बन्न पुगेकी थिइन । उनले मन्त्री हुँदा के–के गरिन्, तल उल्लेख गरिएको छ । तर उनले राजनीतिमा इमान्दारिता देखाएको र सबैलाई दिएको एउटा सन्देश चाँही उनी मन्त्रीबाट हटेपछि भोली पल्टै आफ्नै भाडाको जग्गामा लगाएको गोलभेँडा फार्ममा देखिन थालिन् । राजनीतिलाई कमाइखाने भाँडो होईन, सेवा गर्ने माध्यम बनाइएकी उनका बारेमा केही पढ्औँ ।
कुर्सीको बसाइ कष्टकर
करीब १० महिना लामो सत्ताको बसाई उनका लागि कष्टकर बन्यो । कुनै निर्णय गर्ने अधिकार नहुनु, सोचेको केही पनि काम गर्न नपाउनु यस्तै-यस्तै पीडा व्यहोरेर बाहिरिनुपरेको उनको गुनासो थियो ।
उनको मन्त्रालय भित्रैबाट रासायनीक मल खरिदमा राज्यलाई निकै नोक्सान हुने गरी निर्णय हुँदै थियो । मल खरिद गर्दा राज्यलाई घाटा पार्न हुँदैन भन्दा उनले अप्ठेरो झेल्नुपर्योै । ‘यो काण्डमा म मन्त्रालयमा एक्लै लडें । राज्यको हितमा अडान लिँदा सकारात्मक सोच भएका कर्मचारीले साथ दिँदा रहेछन्,’ उनले आफ्नो अनुभूति सुनाइन् ।
राज्यमन्त्रीको दायरा के हो भन्ने कुरालाई ध्यान नदिइ सबै काम गर्छु, सबै समस्याको गाँठो फुकाउँछु भन्ने सोचले पनि समस्या भएको हो की भन्ने महसुस उनलाई भएको छ । राज्यमन्त्रीको अधिकार र जिम्मेवारीबारे प्रष्ट नहुँदा उनले आफ्नो कार्यकालभरी पुरै समय संघर्ष गर्नुपर्यो ।
यतिसम्म की उनले माघ महिनामा प्रधानमन्त्रीसँगको भेटमा भावुक हुँदै भनिन्, ‘प्रधानमन्त्री ज्यू, मलाई यो स्थितिमा कुकर्मको साक्षी हुनुभन्दा आजै राजीनामा दिएर निस्कने अनुमति दिनुहोस् । म एक्लै भएपनि जनयुद्धमा गरेको प्रतिवद्धताभन्दा बाहिर एक इन्च पनि बाहिर जान सक्दिनँ |
त्यो बेला प्रधानमन्त्रीले काम गर्ने वातावरण बनाइदिन्छु, नआत्तिनुस् भनेर सम्झाएका थिए । कृषि मन्त्री उनकै पार्टी माओवादीका गौरीशंकर चौधरी थिए । मन्त्री र राज्यमन्त्रीबीच कुरा मिलेन ।
उनी राज्यमन्त्री भएको कृषि मन्त्रालयले किसान आयोग गठन गर्दै थियो । तर आफूलाई आयोगमा विज्ञको रुपमा को(को राखिँदैछ भन्ने कुरा समेत थाहा नदिइएको उनले गुनासो गरिन् ।
पछि आयोगमा महिला सहभागिताको विषयलाई लिएर प्रधानमन्त्रीसँगै अडान राखिन् । दोस्रो पटक उनले कि जनयुद्धले उठाएको मुद्दा अनुसार ३३ प्रतिशत महिला सहभागिता निश्चित गर्नुस्, होइन भने मैले राजीनामा दिनुपर्छ भनेर अडान राखिन् । त्यसपछि आयोगमा एकजना महिला सदस्य पनि राखिएको तामाङले बताइन् ।
जनअपेक्षा बढी, कर्मचारीको सहयोग कम
उनको बुझाइमा जनताको नजरमा मन्त्री र राज्यमन्त्री समान छन् । उनीहरुबीच पहुँच र अधिकार क्षेत्र पनि बराबर ठानिन्छ । जसको कारण अपेक्षा पनि समान हुन्छ । तर, राज्यमन्त्रीको निरीहता जनतालाई के थाहा रु उनीहरुलाई काम गर्दिएन भन्नेमात्र लाग्छ । त्यतिबेला निकै नमजा लाग्ने राधिकाको अनुभूति छ ।
केही नयाँ काम गरौं भन्दा कर्मचारी संयन्त्रबाट अपेक्षाकृत सहयोग नपाएको उनले बताइन् । किसानलाई क्षतिपूर्ति दिऔं भन्ने प्रस्ताव गर्दा कर्मचारीको साथ नपाएको तितो अनुभव उनमा छ ।
उदाहरण दिँदै राधिकाले भनिन्, ‘यो हिउँदमा हुरीबतासले किसानको करोडौं नोक्सान भयो । तरकारी फार्मका टर्नेलहरु भत्किए । अन्तिम दिनसम्म मसँग जनताले क्षति भयो, सहयोग पाऊँ भनेर निवेदन दिए । त्यस्तो निवेदनको चाङ मेरो टेबुलमा छ । तर उनीहरुलाई थोरै राहतका कार्यक्रम ल्याऔं भन्दा कर्मचारीहरु पैसा छैन भनेर हिँडिरहेका छन् ।’
‘मैले अन्तिम दिनसम्म सचिव, प्रशासनका कर्मचारी खोज्दै किसानहरुलाई केही राहत दिऔँ भनेँ । तर यहाँ त कर्मचारीहरु समाधान भन्दा बढी समस्या खोज्न लाग्दा रहेछन् । क्षतिपूर्ति दिने व्यवस्था छ तर वास्तविक पीडितलाई त्यो क्षतिपूर्ति दिन सकिएन,’ उनले भनिन् ।
कर्मचारीहरुले आफ्नो अधिकार क्षेत्रभित्र पर्दैन र गर्न मिल्दैन भन्दै टार्ने गरेको उनले बताइन् । अधिकार भएकाले पनि जनता अनुकुलको नीति नियम बनान आलटाल गर्ने उनको ठम्याइ छ ।
भूमिगत जीवनको सम्झना
राधिका तामाङको जन्म नुवाकोट जिल्लाको लिखु भन्ने दुर्गममा गाउँमा भयो । स्कुल पढ्दा पढ्दै भूमिगत भएकी तामाङले युद्धकालमा नुवाकोट जिल्ला जनसरकार प्रमुखको जिम्मेवारीसमेत सम्हालिन् ।
०५७ सालमा विद्यार्थी संगठन विस्तारको एकसाता लामो अभियानमा सहभागी भएकी तामाङ पूर्णकालीन भइसकेकी थिइनन् । तर, घरबाट हिँडेको केही दिनमै प्रहरीले उनलाई खोज्न थाल्यो र परिवारले पार्टीमै बस्नु, नर्फकनु भन्ने खबर पठाएपछि उनी पूर्णकालीन कार्यकर्ता भइन् ।
‘त्यतिबेलासम्म मलाई हतियार दिइएको थिएन । लौरो थियो, झोला बोकेर हिड्थेँ । तर, निधारमा रातो कफन बाँधेर हिँड्दा गर्व लाग्थ्यो ।’ राज्यमन्त्री तामाङ पुराना दिन सम्झँदै भन्छिन्, पहिलो दिन हतियार बोक्दा उत्साहले भरिएकी थिएँ ।’
कुराकानीकै क्रममा उनले युद्धका सम्झना सुनाउन थालिन् । शुरुमा हाँस्दै कथा सुनाउँदै गरेकी तामाङ एकाएक गम्भीर बनिन् । र, भनिन्, ‘युद्धमा खुशीको कुनै दिन हुँदैनथ्यो । धेरै साथीहरु गुमायौँ, भर्खर भेटेका साथी केहीबेरमै कहिल्यै नभेट्ने अवस्था हुन्थ्यो ।’
जनयुद्धमै श्रीमान गुमाएकी सहिदपत्नी तामाङले भनिन्( ‘युद्धमा खुशी हुनै सकिएन । युद्ध जितेको दिन पनि साथीहरु गुमाएका हुन्थ्यौँ र रुँदै हिँड्थ्यौँ ।’
वि।सं। ०६१ फागुन १ गते उनीहरुको विवाह भयो । तर, विवाहको एक महिनामै चैत्र ७ गते उनका श्रीमानलाई सेनाले मारिदियो ।
‘मेरो आफ्नो कुरा गर्दा, आजसम्म म दिल खोलेर खुशी हुन सकेकी छैन,’ उनले भनिन्( ‘पछिल्लो समयमा आइसकेपछि केही उपलब्धीहरु देखिएका छन् । केही आशाहरु पलाएका छन् । म आफैँ राज्यमन्त्री भइसकेँ । तर, आज यो कुर्सीमा बसेर कुरा गर्दासम्म म दिल खोलेर खुशी हुन सकेकी छैन । खै किन हो, मसँग त्यस्तो कुनै खुशी नै छैन ।’
शिक्षकलाई कालो मोसो दलेर भूमिगत
वि.सं. ०५७ सालमा माओवादी जनसेनामा भर्ती हुन पुगेकी तामाङ त्यतिबेला जम्मा १५ बर्षकी मात्रै थिइन् । उनी सम्झिन्छिन्, ‘म राजनीतिमा प्रवेश गरेको धेरै पछि मात्रै थाहा पाएँ ।’
नुवाकोटको दुर्गम गाउँ लिखुमा जन्मिएकी तामाङ सात कक्षामा पढ्दै गर्दा ०५५ सालमा एउटा विद्यार्थी संगठनमा आवद्ध भइन् । तर, उनलाई कुन विद्यार्थी संगठनमा संगठित भएँ भन्नेसमेत ४ महिनापछि मात्रै थाहा भयो ।
तामाङ समुदायमा छोरीले पढ्नुहुँदैन भन्ने भावना थियो । ०५५ सालमा स्कुलमा विद्यार्थी संगठन बनाउने भन्दै केही नयाँ मानिसहरु आए । गरिबको पक्षमा काम गर्ने हो भनेपछि राधिका पनि संगठित भइन् । तर, उनलाई उनीहरु माओवादी हुन्, र माओवादी निकट विद्यार्थी संगठनमा आवद्ध भएँ भन्ने थाहा पाउन चार महिना लाग्यो ।
राज्यमन्त्री तामाङ भन्छिन्, ‘अन्यायको विरुद्ध लड्छ रे भन्ने सुनेर, त्यसरी म संगठित भएँ । अझ मुख्य कुरा त म आफ्नै शिक्षकको दूर्व्यवहारका कारण पनि माओवादी भएँ ।’
उनले अगाडि भनिन्, ‘आफ्नै शिक्षकले छात्राहरुलाई निकै दूर्व्यवहार गर्न थाले । उसको पहिले नै तीनवटा श्रीमती थिए । मेरी एकजना साथीलाई दूर्व्यवहार हुँदा आफैँले देखें र प्रतिवाद गरेँ । संगठनका तर्फबाट मेरै नेतृत्वमा शिक्षकलाई कालो मोसो दलियो । र, पढ्न छाडेर बन्दुक बोकेर हिँडियो ।
केही अर्थमा जित्यौँ तर पूरा होइन
‘हामीले जे सपना देखेका थियौँ, ती हुबहु पूरा भएनन् । तर, केही उपलब्धी भएका छन्,’ राधिका आफ्नो राजनीतिक यात्राको बचाउ गर्दै भन्छिन् ‘हिजो परिवर्तनको एजेण्डा उठाएर हिँड्दा धेरै मारियौँ । आतंककारी भन्दै लखेटियो । हाम्रो आधा रगत बग्यो । तर, हिजो हाम्रो एजेण्डामा असहमति जनाएर हामीलाई आतंककारी भन्नेहरु आज त्यही परिवर्तनको जगमा राष्ट्रपति बनेका छन् । यहाँनेर हाम्रो जीत भएको छ ।’
त्यसैगरी आतंककारीको बिल्ला भिराएर दिनरात लखेटिएका महिलालाई आज सभामुख बनाएको भन्दै मन्त्री तामाङले यसलाई उपलब्धिका रुपमा व्याख्या गर्न खोजिन् । उनले भनिन्, ‘न्यायालय प्रमुखमा विभेदमा परेकी महिला छिन्, त्यहाँ मैले लडेको युद्धको भूमिका छ । हामीले उठाएका मुद्दाहरु समानताका थिए, समानुपातिक(समावेशीको कुरा थियो, त्यो अभ्यासमा आएको छ ।’
राज्यमन्त्री तामाङले दोहोर्या इन्, ‘कलिलै उमेरमा राजनीतिको ‘र’ उच्चारण गर्न नजान्दै युद्धमा होमियौँ, आफ्ना मान्छेहरु गुमायौँ । उनीहरुले यसलाई मनन गर्लान् नगर्लान्, तर यति बेला खुशी लाग्छन् ।’
सेनामाथि ग्रिनेट हानेर बाँचेको दिन
सिन्धुपाल्चोक र नुवाकोटको सीमाना, कुदुमछाप भन्ने लेखबाट झर्दै थियौँ । हामी जुन गाउँ पुगेका थियौँ, त्यहाँ सेना गइसकेको रहेछ । म आफैँले देखेँ । मैले हरियो लुगा लगाएकी थिएँ र घाँस भएतिर लुकेँ । सेना नजिकै थियो, त्यत्तिकै भाग्न सक्ने अवस्था नै थिएन ।
त्यतिबेला माओवादीलाई सेनाले तीन तरिकाले बुझ्थ्यो । आर्मीले बन्दुके कि झोले भनेर सोध्यो, त्यहाँको एउटा मान्छेले झोले भन्यो । त्यसपछि केटा कि केटी भनेर सोध्यो । महिला भनेपछि पुरै खोज्न थाल्यो ।
बेस्कन खोजेपछि म त्यहाँ सुरक्षित हुने स्थिति देखिन र सँगै भएको ग्रिनेट प्रहार गरेर जंगलतर्फ भागेँ । म दुईदिनपछि नुवाकोट पार्टी सम्पर्कमा पुग्दा साथीहरुले मेरो माया मारिसकेका रहेछन् ।
सपनाहरु धुमिल भएनन्
युद्धमा हामीवीच को पहिले सहिद हुने भन्ने प्रतिस्पर्धा नै हुन्थ्यो । को मन्त्री हुने, को धनी हुने भन्ने इच्छा थिएन ।
साथीलाई कसरी जोगाएर आफु सहिद हुने भन्ने भावना थियो हिजो युद्धमा । तर, युद्धविराममा फर्किएपछि हामी माओवादीहरु बिग्रियौँ ।
दुःख पनि लाग्छ, हिजोको सद्भाव, माया र एकतामा आज हामी छैनौँ । हिजोको भावनात्मक एकता कमजोर बनेको छ । त्यै पनि सबै सक्किसकेको छैन, सम्भावनाहरु बाँकी छन् ।@akhabardainik