राष्ट्रिय बिमा संस्थानको ४२.११% बोनस प्रस्ताव

काठमाडौं : राष्ट्रिय बिमा संस्थानको साधारण सभा आज (कात्तिक १७ गते) दिउँसो २ बजेदेखि सुरु हुँदैछ । संस्थानको प्रधान कार्यालय रामशाहपथ, काठमाडौंमा सभा हुन लागेको हो कम्पनीले ४२.११% बोनस सेयर दिने प्रस्ताव पेस गर्दैछ ।
सरकारी स्वामित्वको यस संस्थानले बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन आकर्षक बोनस सेयर दिन थालेको हो । संस्थानले अझै धेरै आर्थिक वर्षको लेखापरीक्षण गर्न बाँकी छ ।
त्यसहिसाबले आर्थिक वर्ष २०६३÷६४ सम्म कायम १२ करोड ९३ लाख रुपैयाँको आधारमा ४२.११% बोनस सेयर दिन लागेको हो । यसआधारमा कुल ५ करोड १७ लाख २० हजार रुपैयाँको बोनस सेयर वितरण हुनेछ । संस्थानले २०५८÷५९ देखि २०६३÷६४ सम्मको लाभांस वितरण गर्नेछ ।
त्यस्तै, बोनस सेयरमा लाग्ने कर तिर्न २७ लाख २२ हजार १०५ रुपैयाँ नगद लाभांस दिने प्रस्ताव पनि साधारण सभामा पेस गरिंदैछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०६३–६४, ०६४–६५ र ०६५–६६ को वासलात, नाफा नोक्सान एवं नगद प्रवाह सम्बन्धमा पनि छलफल हुनेछ । साधारण सभा गर्न संस्थानले कात्तिक १ देखि कात्तिक १७ गतेसम्म बुक क्लोज गरेको हो । असोज ३१ गतेसम्म मात्र कायम सेयरधनीले यो लाभांस प्राप्त गर्न सक्नेछन् ।