टिकट नपाएपछि धनराज गुरुङले भने पार्टीमा डनवाद र धनवाद हाबी भयो

काठमाडौं- निवर्तमान सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले टिकट वितरणमै भ्रष्टाचार भएको बताएका छन्। प्रभावशाली राजनीतिक छवि निर्माण गरेका गुरुङलाई यसपटक कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक कुनै सूचीमा नराखेपछि उनी केही आक्रोशित पनि बनेका छन्।
‘पार्टीमा डनवाद र धनवाद हाबी भयो, निष्ठाको राजनीति गर्नेलाई पाखा लगाइयो,’ उनले भने, ‘यसपटक टिकट वितरणमै भ्रष्टाचार भएको छ। पैसावाललाई छानीछानी पार्टीमा भित्र्याउने र टिकट दिने काम भएको छ।’
यसअघि समानुपातिक सांसद रहेका उनले यसपटक पार्टी नेतृत्वलाई स्पष्ट भनेका थिए– म यसपटक प्रत्यक्ष चुनाव लड्छु। र, उनले रोजेका थिए- स्याङ्जाको क्षेत्र नम्बर १। तर त्यहाँ उनकै शब्दमा ‘गुण्डा पृष्ठभूमिबाट आएका र अकूत धन कमाएका राजु थापालाई टिकट दिइयो।’
‘म समेत रहेको केन्द्रीय कमिटीले यसअघि समानुपातिकबाट सांसद भएकालाई नदोहोर्याउने निर्णय गरेको हो। म जत्तिको मान्छेले आफ्नै निर्णय कुल्चेर समानुपातिकमा बस्न मिल्दैन। निष्ठा र सिद्धान्तको राजनीति गर्ने मेरा लागि त्यो सुहाउँदो कुरा पनि होइन,’ उनले भने।
नेता गुरुङका अनुसार तल्लो निकायले पठाएको सिफारिसको पोको केन्द्रले खोल्दै, खोलेन। ‘नेताको खल्तीबाट चिट निकालियो र टिकट वितरण गरियो,’ उनले भने। पछिल्लो संविधानसभा र रुपान्तरित संसदमा उनी जति सुशासनका पक्षमा मुखर सुनिए, त्यति कांग्रेसभित्रकै अरु नेता देखिएनन्। उनी भन्छन्, ‘पुराना पुस्ताका नेताहरु अब यिनीहरुले हाम्रो स्थान हडप्छन् भनेर पनि त्रसित भए। समाज, जनताको पक्षमा काम गर्ने चोखो मान्छे अघि आयो भने हामी सकिन्छौ भन्ठाने।’
प्रतिनिधिसभातर्फ स्याङ्जा १ बाट थापा र २ बाट बहालवाला उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गर्दैछन्। गुरुङले प्रतिनिधिसभातर्फ भिड्न चाहेको १ नम्बर क्षेत्रको प्रदेशतर्फको (क) मा प्रत्यक्षका लागि टिकट पाए पनि चित्त बुझाउने थिए। तर त्यो पनि कमल पंगेनीलाई दिइयो।
‘मिल्काइएको क्षेत्र रोज्न लगाइयो, मैले मानिनँ,’ उनले भने। उनलाई क्षेत्र–१ को (ख) बाट उठ्न भनिएको थियो। उनले नमानेपछि त्यहाँबाट तुलसी गिरी उम्मेदवार बनेका छन्। ‘कुनै दृष्टिकोणबाट पनि न्यायोचित नदेखिने गरी टिकट वितरण भयो, शीर्ष नेताले पैसावाललाई रोजे,’ उनले भने।
टिकट वितरण गर्ने कांग्रेसको बोर्ड नै अवैधानिक रहेको उनको भनाइ छ। ‘विधानत: १४ जना रहनुपर्ने बोर्डमा २४ जना राखियो, यो नै गतल थियो,’ उनले भने, ‘धेरैले व्यक्तिगत लाभ लिएर खल्तीका मान्छेलाई सिफारिस गरे।’
अनन्त कोइरालाले धनराजलाई लक्षित गरेर लेखेका दुई वटा ट्विट मैले उनलाई पढेर सुनाएँ, जुन उनले पहिले नै पढिसकेका रहेछन्। अनन्तको पहिलो ट्विट थियो, ‘वाम गठबन्धन यस्तो, वाम गठबन्धन उस्तो भन्दै बसे धनराज दाजु, लास्टमा आफैले टिकट पाएनछन्। आफ्नै पार्टीबारे अलि बढी मन्थन गरेको भए हुने।
दोस्रो ट्विट थियो, ‘मान्य धनराज गुरुङज्युलाई यत्ति भन्छु– आफ्नो घरमा लागेको आगो निभाउन छोडेर छिमेकीको घरको रङ मिलेन भन्दै बस्नु बुद्धिमानी होइन।’
‘मैले पनि उहाँको प्रतिक्रिया पढे। जुन अपेक्षित थियो। मैले मनन गरेको छु। छिमेकको आगोले पनि आफूलाई डढाल्छ भन्ने अर्थमा मेरो चासो स्वाभाविक थियो,’ उनले भने, ‘तर यसो भनेर म आफ्नो जिम्मेवारीबाट पन्छन चाहन्न। किनकि, समाज बदल्न आफू बदलिनु जरुरी छ। र देश बदल्न पार्टी बदलिनु जरुरी छ।
उनले आफू पार्टीभित्र पनि आलोचक सदस्य रहेको बुझिदिन आग्रह गरे।
‘मैले संसदीय दलको नेता, पार्टी सभापति र प्रधानमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवाजीलाई भेटेरै भनेँ, भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनुपर्छ भन्ने प्रस्ताव संसदमा आयो भने सबैभन्दा पहिले म विरोधमा उत्रन्छु। संसद अवरुद्ध पार्छु। तपाईंहरु नै मूल्यांकन गर्नुस्, त्यो प्रस्ताव कसका कारणले पेश गर्न उनीहरु डराए?’
लोकतान्त्रिक गठबन्धनको पनि विरुद्धमा थिए उनी। ‘यो सम्भव छैन, कांग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने म एक जना मात्र थिएँ। आखिर अन्तमा के भयो, परिणाम तपाईंहरु सामु छ। राजपा र संघीय समाजवादी फोरम आए त हाम्रो कित्तामा? खराब चरित्रका राप्रपा जस्ता पार्टीलाई लिएर लोकतान्त्रिक गठबन्धन हुन्छ?’ उनले भने।
अब के गर्नुहुन्छ? भन्ने प्रश्नमा उनले थपे, ‘पार्टीभित्र पद्धति निर्माणमा जोड दिन्छु। मलाई आम जनतामाझ जान वञ्चित गरियो । तर, कार्यकर्ता र शुभचिन्तकमाझ गएर संगठन विस्तारको अभियानमा होमिन्छु। देश नै विधिसम्मत रुपमा चल्नुपर्छ भनेर पैरवी गर्दै आएको छु। पार्टी नै त्यसअनुरुप चलेको छैन, अब पार्टीलाई विधिसम्मत रुपमा चलाउने गरी अभियान चलाउँछु।’ @ नेपाललाईभ