शीर्ष नेताहरुकै जित अनिश्चित

कात्तिक १६, काठमाण्डौ । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा सबैजसो दलका शीर्ष नेताहरु प्रत्यक्ष चुनाव लड्ने भएका छन् । राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा रहँदै आएका केही शीर्ष नेताको चुनावी क्षेत्र, प्रतिस्पर्धी र चुनौति हेर्दा चुनाव जित्न निकै कठिन देखिएको छ ।
नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बनेका छन् । देउवाले वारेसनामामार्फत डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
प्रधानमन्त्री देउवाको वारेसनामा दिएर उनकै पूर्व स्वकीय सचिव गणेश पन्तले उम्मेदवारी दर्ता गराएका हुन् ।
वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादीका तर्फबाट खगराज भट्टले उम्मेदवारी दिएका छन् । एमाले र माओवादी केन्द्रका एकल उम्मेदवार भट्टले देउवालाई चुनौति दिएपछि जित कसको हुन्छ भन्ने निश्चित छैन ।
देउवालाई आफु चुनाव जित्ने वा हार्ने मात्र नभै समग्र कांग्रेसकै इज्जत जोगाउने चुनौति पनि छ । वाम गठबन्धनका कारण यसपटक कांग्रेसको नतिजा राम्रो नआउने अनुमान गरिएको छ । जसले गर्दा देउवा तनामा छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाम गठबन्धन निर्माण गर्न सफल भएसँगै एमालेका उनको अध्यक्षको कार्यकाल पनि सफल भएको टिप्पणी गर्न थालिएको छ । तर झापाबाट उम्मेदवारी दिएका ओली पनि पूर्ण सुरक्षित छैनन् । ओलीले झापा ५ बाट प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता गराएका छन् ।
ओलीले एमाले–माओवादीको संयुक्त गठबन्धनबाट उमेदवारी दिएका हुन् । उनीविरुद्ध नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले उमेदवारी दिएका छन् । यसअघि झापा ७ बाट उमेदवार बन्दै आएका ओली नयाँ संरचनाअनुसार पाँच क्षेत्र भएपछि सो क्षेत्रमा पुगेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् । यसअघि अन्य जिल्लाबाट उम्मेवार बने पनि यसपटक उनी गृह जिल्ला फर्किएका छन् । तर उनलाई चुनाव जित्न सहज छैन । एमालेकोसमेत भोट पाउने भए पनि कांग्रेसको सर्मथनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डेले चितवन–३ मा आफूले जित्ने दावी गरेका छन् ।
कांग्रेसका नेताको दलबलसहित उम्मेदवारी दर्ता गर्न पुगेका पाण्डेले चितवन ३ का जनताको माया र साथले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गर्ने दावी गरेका छन् ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पूर्व गृहमन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका छन् । तनहुँ क्षेत्र नम्बर १ मा आफ्नै दलका बागी उम्मेदवारसहित बाम गठबन्धनका किसान गुरुङसमेत पौडेलका चुनौति हुन् ।
वाम गठबन्धनमा एमालेका बरिष्ठ नेता माधवकुृमार नेपालले नै बागीको सामना गर्नु परेको छ । काठमाडौं २ मा एमाले कार्यकर्ता एलपी श्रेष्ठले नेपालविरुद्ध बागी उम्मेदवारी दिएका हुन् । नेपालको चुनौति कांग्रेसका उम्मेदवार दिपक कुइकेल पनि हुन् । त्यही क्षेत्रमा ६४ को चुनावमा माओवादीको उम्मेदवार झक्कु सुवेदीले नेपाललाई पराजित गरेका थिए ।
एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभाको चुनावमा नयाँ प्रतिष्पर्धी पाएका छन् । वाम गठवन्धनको तर्फबाट इलाम क्षेत्र नम्बर १ मा उम्मेद्वार बनेका खनाललाई चुनौती दिन कांग्रेसले पूर्व क्षेत्रीय सभापति भुपेन्द्र कट्टेललाई उम्मेदवार बनाएको छ ।
पाँचौ पटक केन्द्रीय संसदमा प्रतिनिधि बन्न प्रत्यक्ष चुनावी मैदानमा रहेका एमाले नेता खनाललाई नयाँ अनुहार कट्टेलले चुनौती दिने भएका हुन् । पूर्वसभामुख समेत रहेका एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भने पुरानै अनुहार भिड्ने भएका छन् ।
पहिलो संविधानसभाको निर्वाचनमा नेम्वाङसँग चुनाव लडेका कांग्रेस नेता केशव थापालाई कांग्रेसले इलामको क्षेत्रनम्बर दुईबाट उम्मेदवार बनाएको छ । थापा पहिलो संविधानसभाको चुनावमा नेम्वाङसँग पराजित भएका थिए ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सुनसरी २ बाट मनोनयन दर्ता गराएका छन् । त्यस क्षेत्रबाट बाम गठबन्धनले उमेश यादवलाई उठाएको छ । राजपासँगको तालमेल गरेका यादवलाई बाम गठबन्धन चुनौतिको रुपमा देखिएको छ ।
लामो प्रयासका बावजुद पनि नेपाली कांग्रेस राजपा–फोरमसँग चुनावी तालमेल गर्न असफल भएपछि विमलेन्द्र निधी र राजेन्द्र महतोबिचको लडाई हेर्न लायक बनेको छ । कांग्रेसका निधी र रजपाका महतो दुवैले धनुषा ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । यि दुवै उम्मेदवार एक अर्काका चुनौति हुन्
यसपटकको चुनावमा सबैभन्दा रोचक भिडन्त डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबिचमा हुने छ । दुवै नेता गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्दैछन् । स्थानीय चुनावमा खसेको मतका आधारमा विश्लेषण गर्दा गोरखा क्षेत्र नम्बर २ मा नयाँशक्तिको भन्दा माओवादी केन्द्रको नै बढी मत देखिन्छ । तर, बाबुराम भट्टराई नै चुनाव लड्ने भएपछि उनले व्यक्तिगत भोटसमेत तान्ने सम्भावना हुन्छ ।
तर, राष्ट्रिय राजनीतिमा अहम भूमिका खेल्दै आएका पूर्वउपप्रधानमन्त्री नारायणकाजी नै चुनाव लड्न गइसकेपछि उनले पार्टीको संस्थागत भोटका साथै व्यक्तिगत भोटसमेत तान्न सक्ने अनुमान लगाउन सकिन्छ । यो स्थितिमा एउटै चुनाव क्षेत्रमा भिड्नु भट्टराई र श्रेष्ठ दुबैका लागि जोखिमपूर्ण छ ।
नेपाली कांग्रेसले भक्तपुर २ मा प्रतिनिधिसभा सदस्यमा पूर्वसभामुख दमननाथ ढुंगानालाई उम्मेदवार बनाएको छ । यद्यपि यसमा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाको असहमति देखिएपछि ढुङ्गानालाई चुनाव जित्न कठिन छ ।
ढुंगाना ०४८ मा काठमाडौं २ बाट जितेका थिए । त्यसबेला पनि उनले वाम गठ बन्धनका मल्लके सुन्दरलाई हराएका थिए । मल्लके सन्दुरलाई एमालेको पनि समर्थन थियो । ०५१ मा भने ढुंगाना विद्या भण्डारीसँग पराजित भए । त्यसपछि ढुंगाना संक्रिय राजनीतिमा रहेनन् ।
लगातार ५ पटक चुनाव जितेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे यो पटक उम्मेदवार नै बनेनन् ।
महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर विरुद्ध सोही पार्टीका नेता निवर्तमान सांसद चन्द्रेश्वर झा बागी उम्मेदवार बनेका छन् । यसअघि २०७० को संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका झा पुनः स्वतन्त्र उम्मेदवार बनेका हुन् । यसले ठाकुरको जित चुनौतिपूर्ण देखिएको छ । झा केही महिनाअघिमात्र राजपा प्रवेश गरेका थिए । राजपा प्रवेश गरेर महोत्तरीका स्थानीय तह चुनावमा राजपालपाई जिताउन सघाएका झालाई राजपाले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेका हुन् ।
राप्रपाका अध्यक्ष कमल थापाले गृहजिल्ला मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । उक्त क्षेत्रमा कांग्रसकोसमेत समर्थन भए पनि थापालाई चुनाव जित्न सहज छैन । त्यहाँ बाम गठबन्धनको पनि संयुक्त उम्मेदवार छन् ।
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष रहेका पशुपतिशमशेर राणाले पञ्चायतदेखि नै सिन्धुपालचोकबाट निर्वाचन जित्दै आएका छन् । पञ्चायतकालदेखी निरन्तरको यात्रामा गणतन्त्र नआएसम्म उनी पराजित भएका थिएनन् । तर, पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा भने अध्यक्ष राणा पराजित भएका थिए । अब भने जसरी पनि चुनाव जित्ने योजना सहित अध्यक्ष राणा नेपाली कांग्रेसको साथमा चुनावी मैदानमा छन् । तर, राणाको जीत त्यति सहज छैन । जहाँ वाम गठबन्धनको तर्फबाट एमाले नेता शेरबहादुर तामाङ प्रतिस्पर्धामा छन् । स्थानीय तहको मतपरिणाम हेर्दा वाम गठबन्धन नै अगाडी देखिएको छ । त्यसैले, पुरानो विरासत दोर्होयाउन राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई त्यति सहज छैन ।
प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व अर्थमन्त्री डा. रामशरण महत नुवाकोट–१ बाट उम्मेदवार बनेका छन् । उनको प्रतिस्पर्धीको रुपमा माओवादी नेता हितबहादुर तामाङ रहेका छन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा यी दुई नेताबीच नै प्रतिस्पर्धा भएको थियो । माओवादी नेता तामाङ भने दुबै निर्वाचनमा पराजित भएका थिए । त्यसैले, यस पटकको निर्वाचनलाई हितबहादुर तामाङका लागि पालो फर्काउने अवसरको रुपमा व्याख्या गरिएको छ ।
गुल्मीमा गठबन्धनबाट क्षेत्र नम्बर १ मा एमाले सचिव प्रदिप ज्ञवाली र क्षेत्र नम्बर २ बाट एमालेकै सचिव गोकर्ण बिष्टले मनोनयन दर्ता गराएका हुन् । नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ बाट नेता चन्द्र भण्डारी र क्षेत्र नम्बर २ बाट चन्द्र केसीले मनोनयन दर्ता गराएका छन् ।
गुल्मीमा क्षेत्र नम्बर १ बाट ज्ञवाली र भण्डारीबीच हुने चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । उनीहरु दुबै जनालाई ‘हेवी वेट’ नेताका रुपमा हेरिएको छ ।
एमाले सचिव योगेश भट्टराईले पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाट चुनाव लडेका थिए । तर, दुबै निर्वाचन उनको पक्षमा रहन सकेन । त्यसैले यस पटक भने भट्टराई आफ्नै जन्मथलो ताप्लेजुङ पुगेका छन् । नेकपा एमालेको पकड क्षेत्र ताप्लेजुङमा भट्टराईका लागि जित सहज हुने अनुमान गरिएको छ । तर, स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने हो भने वाम गठबन्धनको जीत त्यति सहज भने छैन ।
यता नेपाली कांग्रेका प्रभावशाली नेता गगन थापाले बाम गठबन्धनका उम्मेदवार राजन भट्टराईलाई प्रतिस्पर्धीको रुपमा पाएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा थापा र भट्टराई चुनाव लड्दैछन् । ७० सालको चुनावमा थापाले हालका राष्ट्रपति नन्दबहादुर पुनलाई भारी मतान्तरले जितेका थिए । तर यसपटक बाम गठबन्धनसँगको लडाई सहज छैन ।@ reportersnepal