अमेरिकामा आतंकवादी बढ्नुमा डिभी लट्री मुख्य कारण -डोनाल्ड ट्रम्प

कात्तिक १५ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डिभी लट्री प्रणालीबाट अमेरिकामा आतंकवादी भित्रिएको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै आतंकवादी संगठनसँग जोडिएका देशका डिभी परेका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउनुभएको थियो । उहाँले बुधबार ट्वीटरमा अमेरिकामा आतंकवादी समस्या बढ्नुमा डिभी लट्री मुख्य कारण भएको बताउनुभएको छ ।
अमेरिकाले सन् १९९० मा आप्रवासी भित्र्याउने कानून बनाएपछि डिभी चिठ्ठा लगायत अन्य सुविधा दिएर आप्रवासीलाई स्थायी बसोबास दिँदै आएको छ । एक तथ्यांक अनुसार अमेरिकाले पछिल्लो १० वर्षमा झण्डै ५ लाख आप्रवासीहरुलाई ग्रीनकार्ड दिएको छ।
न्युयोर्कमा साइकल लेनमा एक ड्राइभरले ट्रक चलाउँदा कम्तिमा ८ जनाको ज्यान जानेगरी भएको घटनामा संलग्न भनिएका सेफुलो साइपोव पनि सन् २०१० मा डिभी चिठ्ठा परेर उज्वेकिस्तानबाट अमेरिका गएका थिए । राष्ट्रपति ट्रम्पले डिभी चिठ्ठालाई अमेरिकी सिनेटर ‘चक समरको सुन्दरता’ सँग तुलना गर्नुभएको छ । चक समर डेमोक्र्याट सिनेटर हुन् । उनी डिभी चिठ्ठाको पक्षमा छन् ।