काभ्रेमा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन बलियो

काभ्रे– मनोनयनका लागि एक दिन मात्र बाँकी रहँदा काभ्रेमा चुनावी सरगर्मी ह्वातै बढेको छ । मनोनयनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दल यसबेला शक्ति प्रर्दशनको होडमा लागेका छन् ।
विशेषगरी नेपाली काग्रेंस सम्बद्ध लोकतान्त्रिक गठबन्धन र एमाले माओवादीसहितको वाम गठबन्धन आ–आफ्नै तरिकाबाट शक्ति पर्दशनका लागि तयारीमा जुटेका छन् । मनोनयन गर्ने दिन सदरमुकाममा व्यापक सहभागिताका आधारमा आक्रामक प्रचार गर्न दुबै गठबन्धन तयारी अवस्थामा छन् ।
स्थानीय निर्वाचनको मत परिणाम हेर्दा काभ्रेमा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन बलियो देखिएको छ ।
स्थानीय निर्वाचनमा १३ स्थानीय तहमध्ये बाम गठबन्धनआवद्घ दलहरुले ९ स्थान जितेका छन् । जसमा एमालेले ७ र माओवादी केन्द्रले दुई स्थान जितेको छ । यसका कारण पनि बाम गठबन्धनलाई कसरी हराउने भन्ने पिरलो कांग्रेसलाई छ ।
फलस्वरुप मनोनयनका दिन कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति लगाएर कार्यकर्ता उतार्ने तयारी गरेको छ । उता, नेपाली काग्रेंसलाई मनोवैज्ञानिक ढँगबाट हराउन पनि वाम गठबन्धनले धेरै कार्यकर्ता देखाउनु पर्ने भन्दै नेकपा एमाले र माओवादी केन्द्रले सामुहिक बैठक बसेर आक्रामक योजना बनाएका छन् ।
मनोनयका दिन सक्दो जनप्रदर्शन गर्न लागेका वाम तथा लोकतान्त्रिक गठबन्धनले मनोनयका लागि एक दिन मात्र बाँकी रहँदा सम्मपनि उम्मेदवारको नाम भने बाहिर ल्याउन सकिरहेका छैनन् ।