ढुंगेल रिहाई नगरे कांग्रेसका नेताविरुद्ध मुद्धा दर्ता गर्ने वाईसीएलको चेतावनी

कात्तिक १४, २०७४ काठमाडौं : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग, नेपाल (वाईसीएल) ले द्वन्द्वकालीन मुद्दामा नेपाली कांग्रेस र राप्रपा नेपालका नेताहरुविरुद्ध ७७ ओटै जिल्लामा मुद्दा दर्ता गर्न वाईसीएल जिल्ला समितिहरुलाई निर्देशन दिएको छ।
द्वन्द्वकालीन मुद्दामा माओवादी नेता बालकृष्ण ढुंगेललाई मंगलबार पक्राउ गरेर जेल चलान गरेपछि वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका हुन्। वाईसीएलले नेता ढुंगेललाई तत्काल रिहाइ गर्न पनि माग गरेको छ। ‘ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्दकालीन मुद्दाहरु ब्यूँताएर घटनामा संलग्न नेपाली कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाईसीएल मातहतका जिल्ला समितिहरुलाई निर्देशित गर्दछ’, अध्यक्ष दीपशिखाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।
वाईसीएलले माओवादी नेता ढुंगेललाई पक्राउ गरेर सरकारले निर्वाचन भाँड्न खोजेको आरोप लगाएको छ। उसले सरकारले ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्पत द्वन्द्वकालका मुद्दा हेर्ने शान्ति सम्झौता विपरित गएर पक्राउ गरिएको आरोप लगाएको छ ।
हेर्नुहोस् विज्ञप्ति