पूर्वमाओवादी सांसद बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं : कर्तव्य ज्यान मुद्दामा फरार माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ढुंगेललाई मंगलबार बिहान ललितपुरकाे सातदाेबाटाेबा६ पक्राउ गरेको हो ।
सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका ढुंगेल लामो समयदेखि फरार थिए । माओवादीले द्वन्द्वकालीन मुद्दा भएको भन्दै ढुंगेलको बचाउ गर्दै आएको थियो ।
माओवादीकै दबाबका कारण प्रहरी नेतृत्वले ढुंगेललाई पक्राउ गर्न सकेको थिएन । सर्वोच्च अदालतले हत्याका दोषी ठहर भएका ओखलढुंगा पोकली–२ का पूर्व सभासद ढुंगेललाई पक्राउ गर्न यसअघि पटक–पटक प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो। पछिल्ला दिनमा ढुंगेल पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएको थियो ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा ढुंगेललाई सर्वोच्च अदालतको संयुक्त इजलासबाट ०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो ।
डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ मंसिर २२ मा ढुंगेलमाथि लगाइएको मुद्दा द्वन्द्वकालिन भएको भन्दै आममाफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। तर, सर्वोच्चले हत्याका दोषीलाई आममाफी दिन नहुने भन्दै फैसला कार्यान्वयन गर्न आदेश दिएको थियो।