हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

फेसन बन्दै नेवार समुदायको “हाकुपटासी”

-रेणु त्वानाबासु

भक्तपुरकी १७ वर्षीया मीना सुवाललाई नयाँ डिजाइनका लुगाभन्दा पुरानो नेवारी पहिरन हाकुपटासी लाउने सोख पलाएको छ । अचेल विभिन्न डिजाइनका मनोहर लुगा आए पनि भोज र मन्दिर जाने बेला हाकुपटासी नै लगाउन मन लाग्ने उनी बताउँछिन् । त्यसैले त उनले यस पटकको दसैँमा आफ्ना लागि नयाँ हाकुपटासी किनेकी छन् । धेरैजसो नेवारी चार्डपर्वका बेला उनले हाकुपटासी नै लगाउने गरेको उनी बताउँछिन् ।
भक्तपुरकै रमिता दुवाल पनि आफू वर्षैपिच्छे हुने साँस्कृतिक कार्यक्रममा भाग लिने गरेकी छन् । कार्यक्रममा उनी हाकुपटासी छुटाउँदिनन् । उनी भन्छिन्, ‘नेवार समुदायको पहिचान भन्नु नै महिलाले लगाउने हाकुपटासी हो । त्यसैले हाकुपटासीको एक जोर मेरो दराजमा सम्हालेर राख्ने गरेकी छु ।’

हाकुपटासी लाउने बेला बेग्लै गर्व लाने गरेको उनको भनाइ छ । ‘साथै हामीले लगाएको पहिरनबाट नै हामी कुन समुदायका हौँ भन्ने चिनिन्छ, दुवाल भन्छिन्, ‘अनि आफूलाई चिनाउने पहिरनको माया लाग्दैन त ?’

हाकुपटासीसँगै नेवार समुदायलाई चिनाउने अर्को पनि पहिरन छ । नेवारी धागोबाटै बनेको त्यस पहिरनलाई भान्ताङ भनिन्छ । यो खासगरी केटीहरुका लागि हो । यो पहिला बिहे नभएका युवतीले लाउने चलन थियो । पछि विविहयोग्य उमेर भएका युवती वा बिहे भएकाले समेत लगाउने चलन बस्यो । यो पहिरन पनि अहिले निकै चलेको छ ।

भक्तपुरकी नेवारी कपडा बुन्ने र बुनाउदै गरकी हिरा दनेखु

भक्तपुरको स्थानीयबासी हिरा दनेखु आफू १२ वर्षदेखि हाकुपटासी बुन्न थालेको बताउँछिन् । उनले सुरुताका ७ हातको सारी २५ पैसामा बुनेको सम्झन्छिन् । दिनभरिमा ५ ओटासम्म उनले बनाउन सक्थिन् । पछि उनले सबै किसिमका नेवारी कपडाहरु बुनेको उनले सुनाइन् । बजारमा १६ सयदेखि पाँच हजारसम्म पर्ने यस्ता सारी बुनेबापत उनले एक सय रुपैयाँँ लिने गरेको बताउँछिन् ।

हिराले खेतबारीको काम सकेपछि फुर्सदको समय सदुपयोग गर्न तानमा कपडा बुन्ने गर्थिन् । उनी भन्छिन्, ‘पहिला केटी मान्छेलाई अरु काम गर्न दिइँदैनथ्यो । पढाउने चलन पनि थिएन । त्यतिबेला केटीहरु बाहिर काम गर्न जाने तथा पठाउने चलन थिएन । त्यस बेला हाम्रालागि फुर्मासी गर्ने पैसा हुँदैनथ्यो । यही हाकुपटासी बुनेर आएको पैसाले आफ्नो खर्च टार्ने, मेला भर्ने काम गथ्र्यौं ।’

त्यसबेला आफ्ना साना इच्छा पूरा गर्न गरेको कामले अहिले जीवन गुजार्ने पेसा नै बनेकामा हिरा खुसी छिन् ।

हाकुपटासीको महत्व

हिराको पालामा तान्न बुन्न जान्ने युवती सबैभन्दा गुनिली मान्ने चलन थियो । त्यसैले युवतीहरुले सकेसम्म तान चलाउन, हाकुपटासी बुन्न सिक्ने चलन थियो । केटी माग्न आउने बेला पनि केटापट्टिको लमीले तान बुन्न आउँछ कि आउँदैन भनी सोध्ने चलन थियो । पहिला घरपरिवार सबैले तानबाट बुनिने पहिरन नै लगाउँथे । त्यसैले भक्तपुरका अधिकांश युवतीलाई हाकुपटासी बुन्न आउने लक्ष्मीदेवी बखद्यो बताउँछिन् । ‘बरु पछिल्लो पुस्ताले रेडिमेड लुगा लगाउनाका कारण यस्ता पारम्परिक पहिरन र त्यो बुन्ने कला हराउँदै जान थालेको छ,’ उनको चिन्ता छ ।

हाकुपटासीको व्यापार बढ्नुको कारण

पछिल्लो समय भने मेला, चाडपर्व तथा भोजका बेला नेवारी समुदायमा हाकुपटासी लगाउने चलन ह्वात्तै बढेपछि यसको माग पनि बढ्दै गएको छ । अहिले बच्चादेखि बूढासम्मले हाकुपटासी लगाउने चलन ब्युँतिएको छ । पहिला मजबुरीमा लाउने गरेको हाकुपटासी अहिले भने सोखमा परिणत भएको छ । पहिला नेवार समुदायका किसानले मात्र लगाउने गरेकाले यस किसिमको पहिरनलाई ‘पाखे’ ठानेर लगाउन छाडेको र प्रायः यो पहिरन लगाउनेलाई हेयको दृष्टिले हेरिन्थ्यो । दौरा सुरुवालजस्तै नेवारको पारम्परिक पोसाक हाकुपटासी हो भनेर चिनाउने नारा उर्लिएकाले पनि यसको लोकप्रियता बढेको हो । त्यसैले अहिले नेवारी समुदायका विभिन्न संस्थामा कार्र्यरत महिलाले हाकुपटासी लगाउनु अनिवार्य बनाइएको छ । संस्थाको भोज होस् वा कुनै सांस्कृतिक कार्यक्रम, नेवारी महिला अनिवार्य रुपमा हाकुपटासी लगाएर जाने गरेका छन् । पहिला हाकुपटासीको व्यापार महिनामा २० देखि ३० हजारसम्म हुने गथ्र्यो भने अहिले १ देखि २ लाखको हाराहारीमा हुने गरेको दनेखु बताउँछिन् ।

नेवारी कपडाहरु

नेवारी कपडा पनि धेरै किसिमका छन् । सिपु दगु गा, हाकुपटासी, कालो पटासी, चार खनागु जनी अर्थात पटुका, सिपु दगु जनी, बेल विवाह सारी, मलेगचा काप, हलेग काप, श्रीपछेलु काप, चारखना काप भने चल्तीमा छन् । यी सबै हातले बुन्ने गरिन्छ । हिजोआज कल मेसिनले पनि बुन्ने गरिएको छ ।

हाकुपटासी नै लोकप्रिय

पछिल्लो समय हाकुपटासी सेट र भान्ताङ (नेवारी ड्रेस) बढी रुचाइएको विक्रेताहरु बताउँछन् । नेवारी ड्रेस बच्चादेखि वयस्क सम्मले लगाउने गर्छन् । कतिपयसँग यस्ता पहिरन नभएको अवस्थामा भाडामा समेत लैजाने गरेको हिरा दनेखुको भनाइ छ ।
भक्तपुरमा बुनिने नेवारी पहिरनको माग निकै बढेको छ । यहाँ उत्पादित पहिरनहरु उपत्यकाका थेचो, थाइवा, टोखा, ललितपुर र कीर्तिपुरसम्म पुग्ने गरेको दनेखु बताउँछिन् । त्यसो त कहिलेकाहीँ विदेशबाट समेत त्यहाँका गैरआवासीय नेपालीले माग गर्ने गरेको दनेखुको भनाइ छ ।

थरीथरीका हाकुपटासी

हाकुपटासी तीन थरिका छन् । ठाउँ अनुसार यसको प्रकार फरक भएको हो । भक्तपुरेले लाउने हाकुपटासी र अन्य नेवार समुदायले लाउने हाकुपटासी फरक हुन्छ । भक्तपुरका महिलाले लगाउने हाकुपटासीको तलको रातो बोर्डर ठिक्कको हुन्छ र सेतो कपडामा रातो बोर्डर भएको खास्तो लगाइन्छ । त्यस्तै चोलो धेरै जसो श्रीपछेलुको लगाइन्छ । यस्तो हाकुपटासी लगाएको व्यक्ति भक्तपुरे रहेछ भन्ने चिनिन्छ । त्यस्तै भक्तपुरकै थिमिका महिलाले लागाउने हाकुपटासीमा कालो कपडामा रातो बोर्डर कुलीकुली अर्थात कर्ली भएको हुन्छ । कालो खास्टोमा हरियो बोर्डर हुन्छ । यस्तो हाकुपटासी लगाउनेलाई थिमिबासी नेवार रहेछ भनेर चिनिन्छ ।

त्यस्तै ललितपुरमा भने कालो कपडामा ठूलो रातो बोर्डर हुन्छ । कालो खास्तोमा हरियो ऊनीको बोर्डर हुन्छ । हाकुपटासीका यी मिहिन डिजाइनले पनि कुन ठाउँको नेवार रहेछ भनेर चिन्न सजिलो हुने दनेखु बताउँछिन् ।

हाकुपटासी मूलतः कृषिसँग सम्बन्धित महिला पहिरन भएको संस्कृतिविद् ओम धौभडेल बताउँछन् । खेती किसानी गर्दा निस्कने पसिना सोस्ने र जाडो याममा यो न्यानो हुने भएकाले नेवारी महिलामाझ यो लोकप्रिय भएको हो ।

धौभडेलका अनुसार हाकुपटासी नेवारी महिलाको सुहागको चिह्न पनि हो । यसमा हुने कालो कपडासँगै रातो बोर्डरले ती महिलाको पति ज्यूँदै छन् भन्ने चिनिन्छ । त्यस्तै हाकुपटासीमा कालो भाग मात्र छ, रातो छैन भने उसको लोग्ने बितिसकेको बुझिन्छ । लिच्छवि कालदेखि नै हाकुपटासी लोकप्रिय भएको हुनसक्ने धौभडेलको आँकलन छ ।

प्रेमकृष्ण खर्बुजा
सचिव
भक्तपुर घरेलु तथा साना उद्योग संघ

हाकुपटासीको माग पहिलाभन्दा धेरै बढेको छ तर व्यावसायिक रुपमा भने होइन । सांस्कृतिक कार्यक्रम, बाजागाजाको समूह, सहकारी संघसंस्थाका व्यक्ति तथा विदेशमा रहेका नेवारी समुदायले यसलाई महत्व दिन थालेपछि यसको माग बढेको हो । हामीकहाँ अहिलेसम्म हाकुपटासीको तालिम दिएको छैन किनभने यसको प्रशिक्षक नै छैनन् । तालिमका लागि माग पनि कहीँकतैबाट आएको छैन ।

(नागरिक परिवारबाट साभार)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution