काभ्रेमा वाम उम्मेदवारको अझै टुंगो लागेन

बनेपा, रासस । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै वाम दलले काभ्रेपलाञ्चोकमा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।
नेकपा एमालेले जिल्लाको २ नं निर्वाचन क्षेत्रमा गोकुल बास्कोटाको नाम सर्वसम्मत गरेको भएपनि नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाउन नसक्दा नाम सिफारिश मात्रै गरेको छ ।
प्रदेशसभामा उम्मेदवार हुनेको नाम दुवै पार्टीकातर्फबाट धेरै भएपछि केन्द्रको कार्यदलको निर्णय पर्खने अवस्था आएको छ ।
प्रदेशसभाका लागि कसैको नाम पनि टुंगो लागेको छैन, नेकपा एमालेका अध्यक्ष टोकबहादुर वाइवाले भने ।
उनले आज बस्ने जिल्लाको पदाधिकारी तहको बैठकले पनि केही निर्णय गर्ने उल्लेख गर्दै केन्द्रबाट कार्यदलको निर्णय पनि आउने बताए ।
नेकपा माओवादी केन्द्र काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष दिनानाथ गौतमले नेकपा एमालेसँगको सहकार्यका लागि निर्वाचन क्षेत्र नं १ टुंगो लागे पनि उम्मेदवार टुंगो नलागेको बताए ।
उनले त्यस क्षेत्रका लागि कमानसिंह लामा, सूर्यमान दोङ, रुकु चौलागार्इं, रेणुका चौलागार्इंको नाम केन्द्रमा सिफारिश भएको बताए । “सर्वसम्मत नभएपछि सिफारिश गरेर केन्द्रमा पठाएका छौँ,” उनले भने ।
उता नेपाली कांग्रेसले जिल्लाको क्षेत्र नं १ मा तीर्थ लामा र २ नं क्षेत्रमा पार्टी सभापति मधु आचार्यको नाम टुंगो लगाएको छ, तर प्रदेशसभामा कुनैपनि उम्मेदवारको टुंगो लागेको छैन ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य महेश पौडेलले प्रदेशसभाका लागि क्षेत्र नं १ को क बाट सिवी लामा र २ को ख बाट कञ्चनचन्द्र वादेको नाम टुंगो लगाएको छ ।
जिल्लामा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि चारजना निर्वाचित हुनेछन् । काभ्रेपलाञ्चोकमा दोस्रो चरणअन्तर्गत मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।