चितवनबाट रामबहादुर थापा उठ्ने भएपछि प्रचण्डको चुनावी क्षेत्र अन्यौलमा

७ कात्तिक, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालले कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने विषयमा टुङ्गो लागिनसकेको बताएका छन् ।
दाहालले चितवनबाट चुनाव लड्ने घोषणा गरेको भए पनि बाम गठबन्धनपछिको परिवर्तित परिस्थितीका कारण कहाँबाट चुनाव लड्ने भन्नेमा अनिश्चित भएको गजुरेलले बताए ।
चितवनबाट नै अर्का नेता रामबहादुर थापाले पनि उम्मेदवारी दाबी गरेकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको गजुरेलको भनाई छ ।
एमालेसँगको तालमेलमा चितवनबाट माओवादीले दुई वटा क्षेत्र पाएको खण्डमा दाहाल पनि चितवनबाटै चुनाव लड्ने उनको भनाई छ ।
तर एमालेले २ वटै निर्वाचन क्षेत्र दिन नमानेकाले दाहालको उम्मेदवारी कहाँबाट भन्ने विषय अन्यौलमा परेको गजुरेलले जानकारी दिए ।