गोरखा–२ मा नारायणकाजीले गरे उम्मेदवारी दर्ता,बाबुराम तयारीमा

गोरखा, कात्तिक ५ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सदस्यदका लागि गोरखा–२ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमाले र माओवादी केन्द्रको साझा उम्मेदवारका रुपमा श्रेष्ठले जिल्ला निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उम्मेदवारी दर्ता गराउन एमाले र माओवादीका कार्यकर्ता बाजागाजासहित नारा जुलुस गर्दै निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि गोरखा–२ मै उम्मेदवारी दर्ता गराउन तयारी गरिरहनुभएको छ ।
वाम गठबन्धनबाट गोरखा–२ मा प्रदेशसभा ‘क’ मा माओवादीकै कमला नहर्की र ‘ख’ मा माओवादी केन्द्रका अमरबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।