रसुवामा कांग्रेसले नयाँ शक्तिका प्रेम तामाङलाई समर्थन नगर्ने , रातारात निर्णय उल्ट्यायो

कात्तिक ५, २०७४ काठमाडौं : नेपाली कांग्रेस र नयाँशक्ति नेपाल पार्टीबीच तालमेलको विषयमा भएको सहमति एक रातमै उल्टिएको छ।
प्रतिनिधिसभामा निर्वाचनमा नेपाली कांग्रेसले गोरखा २ र रसुवामा नयाँ शक्ति नेपालका उम्मेदवारलाई सघाउने र बाँकीमा नयाँ शक्तिले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार नेपाली कांग्रेसको शनिबार बसेको संसदीय समितिको बैठकले प्रतिनिधिसभामा रसुवा र गोरखाको २ नम्बर निर्वाचन क्षेत्रमा नयाँ शक्ति नेपालका उम्मेदवारलाई सघाउने आफ्नो पार्टीले उम्मेदवारी नदिने निर्णय गरेको थियो।
संसदीय समितिको उक्त निर्णयलाई उल्ट्याउँदै कांग्रेसले रसुवाबाट प्रतिनिधिसभामा मोहप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेस संसदीय समितिका सदस्य डा. प्रकाशशरण महतका अनुसार नयाँशक्ति पार्टीका उम्मेदवारलाई रसुवा प्रदेश नम्बर ‘ख’ मा मात्रै कांग्रेसले समर्थन गर्ने भएको छ। यसअघि कांग्रेसले रसुवाबाट प्रतिनिधिसभामा नयाँ शक्तिका उम्मेदवार प्रेम तामाङलाई समर्थन गर्ने निर्णय गरेको थियो।
कांग्रेसका रसुवा जिल्ला सभापति पेम्बा छिरिङ तामाङका अनुसार प्रतिनिधिसभामा कांग्रेसका आचार्य र प्रदेशसभा ‘क’ मा प्रभात तामाङले उम्मेदवारी मनोनयन दर्ता गरिसकेका छन्।