नुवाकोटमा केसीसँग खतिवडा, महतसँग तामाङको टक्कर

नुवाकोट, ५ कात्तिक– मंसिर १० गते हुने प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेसका प्रभावशाली नेता डा रामशरण महतसंग माओवादी केन्द्रका नेता हितबहादुर तामाङ भिड्ने भएका छन् ।
कांग्रेसका अर्जुननंसिह केसीसँग भने एमालेका नारायण प्रसाद खतिवडाको प्रतिष्पर्धा हुने भएको छ ।
१२ स्थानीय तह रहेको नुवाकोटमा स्थानीय तहको चुनावमा पनि नेपाली कांग्रेसले बहुमत स्थानीय तह जितेको थियो । उसले १२ मध्ये सात स्थानीय तहमा जीत निकालेको थियो ।
विदुर र बेलकोटगढी नगरपालिकासहित तारकेश्वर गाउँपालिका एमालेले जितेको थियो भने ककनी र पञ्चकन्या गाउँपालिका माओवादी केन्द्रले जितेको थियो ।
यसअघि महत दुईवटै संविधानसभा चुनावमा नुवाकोटबाट विजयी भएका थिए भने केसी गत संविधानसभा चुनावमा विजयी भएका थिए ।
महतले १८ हजार ८ सय ३१ भोट पाएर विजयी भएका थिए, नेकपा माओवादीका हितबहादुर तामाङले १५ हजार २ सय ३३ र एमालेका शान्ता थापाले २ हजार २ सय ५८ मत पाएकी थिइन् । यसअघि तीनवटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा अहिले दुइवटा क्षेत्र कायम गरिएको छ । गत चुनावका कांग्रेसले तीनवटै क्षेत्र जितेको थियो ।
१७ हजार ३ सय ४६ मत पाएर केसी नुवाकोट १ बाट विजयी भएका थिए । माओवादीकी विमला सुवेदीले ९ हजार १ सय ८५ मत पाएकी थिइन् । राप्रपाका प्रकाशचन्द्र लोहनीले ६ हजार ९ सय २६ र एमालेका केशव पाण्डेले ६ हजार ४ सय १ मत प्राप्त गरेका थिए ।
नुवाकोट १ मा माओवादीले प्रदेश सभा तर्फ राधिका हमाल र हिरानाथ खतिवडालाई उम्मेदवार बनाएको छ ।@lokantar