कांग्रेसमा पनि ‘हेपिए’ बाबुराम, गोरखा २ बाट चुनाव लड्न नपाउने !

काठमाडौं, २ कार्तिक– वामपन्थी गठवन्धनमा सहभागी भएको एक हप्ता पनि नबित्दै बाहिरिएका नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने निर्णयले झन अप्ठेरोमा परेका छन् ।
बाबुरामले गृहजिल्ला गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन लड्न नपाइने भन्दै वामपन्थी गठवन्धन छाडेका थिए । कांग्रेससँग तालमेल गर्दा पनि उनले गोरखाको २ नम्बर क्षेत्रबाट चुनाव लड्न पाउने संभावना कम हुँदै गएको छ ।
नेपाली कांग्रेसका दुईजना केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र कमला पन्त गोरखा २ को टिकटका लागि प्रतिस्पर्धामा छन् । यस्तै नेता अब्दुल सतार, चेतमान श्रेष्ठ र राजनदेव भट्ट पनि गोरखा २ बाट चुनाव लड्न टिकटका लागि लबिङमा छन् । कांग्रेस जिल्ला समितिले ५ जनाकै नाम केन्द्रमा सिफारिस गरिसकेको छ ।
कांग्रेसभित्र गोरखा २ बाट चुनाव लड्ने प्रत्यासीहरु बढी भएपछि बाबुरामका लागि कांग्रेससँगको तालमेल पनि फलदायी नहुने संभावना बढ्दै गएको छ ।
एमाले–माओवादीले ‘हेपेका’ व्यक्तिलाई कांग्रेसले कुनैपनि हालतमा टिकट दिन नहुने गोरखाबाट प्रतिनिधित्व गर्ने कांग्रेसका नेताको अडान छ । वाम गठवन्धन गर्दा बाबुरामले कांग्रेसको कडा आलोचना गरेकाले पनि कांग्रेसका धेरै नेता उनीसँग चिढिएका छन् ।
‘आफ्नो स्वार्थका लागि जोसँग पनि मिल्न खोज्ने व्यक्तिलाई किकट दिएर कांग्रेसलाई घाटा मात्रै हुन्छ,’ गोरखा– २ बाट चुनाव लड्ने टिकटको लबिङमा रहेका एक कांग्रेस नेताले भने, ‘गोरखामा बाबुरामजीको अवस्था त्यति राम्रो पनि छैन । कांग्रेस समर्थकले उहाँलाई मतदान गर्दैनन् । उहाँका समर्थकले पनि कांग्रेसका उम्मेदवारलाई मतदान गर्दैनन् ।’
डा. भट्टराईले प्रदेश सभाका दुईवटै सिट लिने गरी प्रतिनिधिसभाका लागि गोरखा २ मा आफूलाई समर्थन गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरेका थिए । भट्टराईको प्रस्तावमा देउवाले सकरात्मक प्रतिक्रिया दिएपछि भट्टराईले कांग्रेसको चुनाव चिह्न रुखबाटै चुनाव लड्ने तयारी गरेका छन् ।
तर मनोनयन दर्ता गर्ने दिन नजिकिँदै जाँदा कांग्रेससँग तालमेल गरेर चुनाव लड्ने बाबुरामको योजना विफल हुने संभावना पनि कमजोर हुँदै गइरहेको छ । गोरखामा पहिलो चरणअन्तर्गत मंसिर १० गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।@lokantar