विश्वकै कान्छो नेता छान्दै अष्ट्रिया

मध्य युरोपेली देश अष्ट्रिया विश्वकै कान्छो नेता चुन्दै छ। आइतबारको आम चुनावको जितपछि अष्ट्रियाको कन्जरभेटिभ पिपल्स पार्टीका प्रमुख जेबास्टियन कुर्ट्स विश्वकै सबैभन्दा कान्छा नेता हुन लागेका हुन्।
३१ वर्षीय कुर्ट्सको पार्टीले बहुमत नल्याए पनि अब नयाँ गठबन्धनको सरकार बनाउनका लागि बलियो स्थान छ।
कुर्ट्सले नेतृत्व गरेको अष्ट्रियाको कन्जरभेटिभ पिपल्स पार्टीले देशको आम चुनाव जित्न लागेको मत सर्वेक्षणहरुले देखाएका छन्।
मत सर्वेक्षणहरुले पिपल्स पार्टीले ३१ प्रतिशत भन्दा बढी मत ल्याउने देखाएका छन्। दोस्रो स्थानमा सोसियल डेमोक्र्याट्स आउँछ वा चरम दक्षिणपन्थी फ्रिडम पार्टी आउँछ भन्ने अझै स्पष्ट भइसकेको छैन।
पूर्व विदेशमन्त्री रहेका कुर्ट्सले शिथिल भइसकेको कन्जरभेटिभ पिपल्स पार्टीको नेतृत्व गत मे महिनामा सम्हालेपछि त्यसलाई पूनर्जीवन दिएका थिए। उनले आप्रवासनप्रति कडा नीति लिने बाचा गरेका थिए।
चुनावमा बलियो मतसहित तेस्रो भएको आप्रवासन नीति विरोधी फ्रिडम पार्टीसँग गठबन्धन गर्लान् कि नगर्लान् भन्ने स्पष्ट भइसकेको छैन।
आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै कुर्ट्सले भने, ‘यो देशमा परिवर्तन ल्याउने समय भएको छ। देशमा परिवर्तन ल्याउन आज हामीलाई ठूलो निर्देशन आएको छ। र, यो सम्भव बनाएकोमा म तपाईँहरु सबैलाई धन्यवाद दिन चाहन्छु।’ @ बिबीसी