हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

वाम गठबन्धन चुनौतीको घेरामा-प्रतीक तामाङ

प्रतीक तामाङ

नेपालको कम्युनिस्ट आन्दोलनमै नयाँ परिघटना मानिएको १७ असोजको चर्चा सेलाएको छैन । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आसन्न निर्वाचनमा तालमेलसँगै पार्टी एकीकरण गर्ने औपचारिक घोषणाको सेरोफेरोमै यतिखेर नेपाली राजनीति घुमिरहेको छ । कुन आवश्यकता र सैद्धान्तिक धरातलमा टेकेर ठूला वाम शक्ति नजिकिन सफल भए भन्ने विषयमा जोडतोडले तर्कवितर्क चलिरहेको छ । खासगरी दुई ठूला वाम शक्तिले अब एउटै धारबाट मुलुकको राजनीतिक मार्ग तय गर्ने निर्णय गरेपछि त्यसले नेपाली राजनीतिक वृत्तमा हलचल पैदा गरिदिएको छ । यसले जेजस्ता बहस निम्त्याए पनि सबैभन्दा पेचिलो सवाल भनेको वाम गठबन्धनको निरन्तरतामै गाँसिएको छ ।

वाम एकता र चुनावी तालमेलको घोषणा अहिले चौतर्फी शंका र चुनौतीको घेराभित्र छ । एमाले र माओवादीभित्रकै विभिन्न तहका नेता कार्यकर्ता पंक्तिसमेत ढुक्क हुन सकिरहेको देखिँदैन । ‘एमाले माओवादीका शीर्ष नेताहरूले समेत भेउ पाउन नसकेको कतै यो ठूलो नाटक त होइन ? कुनै शक्तिले कतैबाट रचेको भयंकर खेल त भइरहेको छैन ?’ यो प्रश्नले उनीहरूलाई घोचिरहेको छ । कार्यकर्ता तहसम्म मात्रै नभएर कतिपय स्तरका नेता तहमै तालमेल र एकीकरणका विषयमा संशय देखिन्छ । अलगअलग धारबाट प्रशिक्षित एमाले–माओवादीका कार्यकर्ता विगतको आआफ्नै पृष्ठभूमिको आधारमा विश्लेषण गर्छन् ।

अहिले एमाले–माओवादीका कतिपय नेता कार्यकर्ता ‘बाघदेखि जोगी डराउने र जोगीदेखि बाघ डराउने’ अवस्थामा छन् । एक्लै चुनावी मोर्चामा भिड्दा पनि लगभग बहुमतको सम्भावना रहेको बेला माओवादीले एकीकरण र तालमेलको नाममा कतै उपद्रो मच्चाउँछन् कि भन्ने एमालेलाई शंका छ । यसैगरी एमालेमा विलय भएपछि पार्टीको क्रान्तिकारी छवि र अस्तित्व समाप्त हुने भयो भन्ने कतिपय माओवादी नेता कार्यकर्ताको बुझाइ छ । यसकारण पनि उनीहरू दिलैदेखि रमाएर वाम मिलनको यो बिन्दुमा एकाकार हुन खुट्टा उचालिरहेका छैनन् । शीर्ष नेताहरूले भने जस्तै गरी पार्टी एकता भएमा कसको वर्चस्व रहने, कसको हातमाथि पार्ने भन्ने बहसमा पनि छन्, उनीहरू यतिखेर ।

माथिल्लो तहबाट नेताहरूले जे जस्तो निर्णय गरे पनि एमाले–माओवादीका सबै तहका नेता कार्यकर्ताको मन सफा हुन सकेको छैन । एकआपसमा उनीहरूको मन फाटेकै छ । स्थानीय तह निर्वाचनको क्रममा एक अर्कोलाई एक नम्बरको काम नलाग्ने, जनताको हित नगर्ने, वैरी, दुस्मन, प्रगतिको बाधक, अयोग्यजस्ता अनेक विशेषण दिएर आफूलाई मात्र हरेक हिसाबले श्रेष्ठ सावित गर्ने प्रयत्नमा लागेको एक महिना पनि बितेको छैन । स्थानीय निर्वाचनको तुष सेलाउन नपाउँदै एक अर्कोलाई अंकमाल गर्नुपर्ने स्थितिको विकास होला भन्ने धेरैको अनुमानभन्दा परकै विषय थियो । ‘राजनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्र हुँदैनन’ भन्ने उक्ति सबैले सुनेको नहुन सक्छ र सुनै पनि त्यसको मर्म नबुझेको हुन सक्छ । यसकारण पनि कार्यकर्ताको अझै फाटेको मन मिलाउन र धमिला मनहरू सफा गर्न नेतृत्व पंक्तिले बढी कसरत गर्नुपर्ने देखिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अब डेढ महिना पनि बाँकी छैन । यसैले यतिबेला कसलाई कहाँ, कसरी, कति सिट लिने या दिने भन्ने विषयले अहिले शीर्ष नेताहरूलाई र्ग्यिंाइरहेको छ । ६०–४० को आधारमा सिट बाँडफाँट गरेर जाने सहमति गरेका एमाले–माओवादीका नेतालाई सबैको चित्त बुझाउने सूत्र ठ्याक्कै पत्ता नलाग्दा हम्मेहम्मे परिरहेको छ । यही विषयमा कुरा मिल्न नसक्दा गठबन्धन घोषणाको दुई हप्ता नबित्दै नयाँ शक्ति नेपाल बाहिरिएको छ । एमालेको सूर्य चिह्नमा निर्वाचन लड्न तयार भइसकेको उसले अब आफ्नै ‘आँखा’ चिह्नमा निर्वाचन लड्ने निर्णय लिएको छ । उम्मेदवार बन्न चाहने आकांक्षीहरूको भीड लागेपछि एमाले र माओवादीबीच पनि सर्लक्कै कुरा मिलिसकेको छैन ।

निर्वाचनमा तालमेल गरी जाँदा एकले अर्कोलाई निर्वाचन क्षेत्र खाली गरिदिनुपर्ने हुनाले यसपटकको चुनावी प्रतिस्पर्धाबाट एमाले–माओवादीका धेरै नेता बाहिरिनुपर्ने पक्का छ । यो अवस्थामा कतिपय नेताको राजनीतिक भविष्यमाथि नै प्रश्नचिह्न खडा हुन सक्छ । यसबाट टिकट नपाउने नेतालाई राजनीतिको मूलधारबाट पाखा लगाएको, राजनीतिक भविष्य नै समाप्त भएको, इमानदार कार्यकर्ताको हैसियतले जीवनभर पार्टी र जनतालाई लगाएको गुण र पु¥याएको योगदान बालुवामा पानी हालेसरह भएको, रित्तो हात किनारा लाग्नुपरेको पीडानुभूति हुन सक्छ । सामान्य रूपमा हेर्दा यो बुझाइ गलत पनि होइन । आफूले जीवनभर लगानी गरेको पार्टीमा बल्लबल्ल पाउन लागेको अवसर कसैले उछिट्याउँदा सहज रूपमा पचाउन गाह्रो त हुन्छ नै । तर सवाल एकाध नेता कार्यकर्ताको राजनीतिक भविष्यको होइन । मुलुक र जनताको भविष्यको हो । मुलुक र जनताको हितको सामु कोही कसैले टिकट पाउनु या नपाउनु सामान्य विषय हो । यसो भन्दैमा जोसुकैलाई टिकट दिँदा पनि फरक पर्दैन भन्ने पनि होइन । नेताहरूले टिकट व्यवस्थापन गर्दा तुलनात्मक रूपमा योग्य, क्षमतावान्, त्यागी र सबै हिसाबले आवश्यक व्यक्तिलाई चयन गर्ने विवेक भने देखाउनैपर्छ । जसलाई चयन गर्दा पनि अर्कोलाई अन्याय नै हुन्छ भने कम अन्याय हुने हिसाबले मिलाउनुपर्छ । गठबन्धन कसैका लागि बन्धन होइन भन्ने देखाउनुपर्छ । यति गरिसकेपछि कसैले पनि ‘मै मात्र योग्य, अरू सबै अयोग्य, भित्तामै पुग्ने गरी पेल्यो, पाखामै फाल्यो, चरम अन्याय भयो’ भन्दै हीनताबोध पालेर अर्घेलो बन्ने काम गर्नुहुन्न । आफूले जित्ने होइन, देशले जित्ने गरी निर्वाचनमा होमिनुपर्छ । यही नै निर्वाचनमा हुने तालमेलको सुन्दरता हो ।

अहिलेको परिस्थितिमा उम्मेदवार छनोट प्रक्रियामा नेता कार्यकर्ताहरूले साथ नदिने हो भने शीर्ष तहका नेताले मात्रै केही पनि गर्न नसक्ने प्रस्ट छ । सबैले आआफ्नै दाबी मात्रै तेस्र्याउने, जसरी पनि उम्मेद्वार बन्न टिकट हत्याउने दाउमा मात्रै लाग्ने, आफ्नो क्षेत्रमा कसैलाई पनि नछाड्ने हठ गर्ने हो भने माथिका नेताले मात्रै केही गर्न सक्नेछैनन् । यसले बनिसकेको वातावरण बिगार्ने काम मात्रै गर्नेछ । यसर्थ आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारका आकांक्षी एमाले–माओवादीका सबै नेताले यो गम्भीर परिस्थितिको आँकलन गरी त्यागको मानसिकतामा रहनुपर्छ ।

अब हुने प्रतिनिधिसभाको निर्वाचनबाटै बहुमत प्राप्त हुने र पाँच वर्षका लागि ढुक्कले सरकार सञ्चालन गर्न सकिने परिस्थितिको विकास भइरहेको छ । यसैका लागि सहमतिकै बुँदामा साझा घोषणापत्रसहित निर्वाचनमा सहभागी हुने उल्लेख गरिएको छ । मुलुकमा बहुमतको सरकार नहुँदा राजनीतिक स्थिरता नहुने, सरकार गठन, विघटन र टिकाउने दाउपेचमा अनावश्यक समय खर्च हुने, स्थायी प्रकृतिका कुनै पनि राष्ट्रिय विकासका योजनाहरू लागू हुन नसक्ने परिस्थितिबाट दशकौंसम्म गुज्रनुपरेको सबैलाई थाहै छ । जुनसुकै हालतमा बहुमतको एकल सरकार गठनका लागि पहल गर्नुपर्ने अहिलेको अपरिहार्यता हो । यसकारण पनि उम्मेदवार चयनको काम बेलैमा टुंग्याएर निर्वाचनको अरू तयारीमा जुट्न वाम गठबन्धनले ढिलाइ गर्नुहुन्न । एकले अर्कोलाई शंका गर्नुपर्ने र डराइडराई पाइला चाल्नुपर्ने अवस्था कायम रह्यो भने निर्वाचनको तालमेल सतहमा मात्रै सीमित रहनेछ । सबै तहका कार्यकर्ता र आम मतदातालाई समेत छुने खालको निर्वाचन लहर ल्याउन सक्नुपर्छ । यसका लागि एकीकृत निर्वाचन अभियान सञ्चालन गर्नुपर्छ । अहिलेदेखि नै साझा पार्टीको अनुभूति दिलाएर कार्यकर्तालाई मैदानमा उतार्नुपर्छ ।

एमाले–माओवादीका लागि यो निर्वाचन बहमुत ल्याउने उद्देश्यमा मात्र सीमित छैन । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरिएकाले त्यसका लागि पर्याप्त आधार तयार पार्ने अवसर पनि हो यो । पार्टी एकताका लागि प्रारम्भिक अभ्यास पनि हो । कति सहज र स्वाभाविक ढंगले निर्वाचन अभियानमा जुट्न सकियो भन्ने विषयवस्तुले नै पार्टी एकताको जग तयार हुनेछ । निर्वाचनको क्रममै देखिएको झिनामसिना गढबढीले भोलि साझा दस्तावेजसहितको साझा कम्युनिस्ट पार्टी खडा हुने परिकल्पना गर्न गाह्रै हुन्छ ।
अहिले देखिएको वाम गठबन्धन भत्काउन र टुटाउन अनेक खेमा लागिरहेका छन् । आपसमा कटुता पैदा गराउन सकेसम्मको हर्कतमा लागेका छन् । खासगरी नेपाली कांग्रेसलगायतका लोकतान्त्रिक खेमालाई असैह्य छटपटी भइरहेको छ । उनीहरू यसविरुद्ध लोकतान्त्रिक महागठबन्धन गर्ने प्रयास गरिरहेका छन् । तर सोचेजस्तो सफलता हात नपर्दा निराश पनि छन् । यसका लागि नैतिक या अनैतिक सबै हर्कतमा उत्रिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मुखैमा र प्रतिनिधिसभा विघटनको पूर्वसन्ध्यामा राप्रपाका कमल थापालगायत आठ जनालाई मन्त्रीमा नियुक्त गर्नु यसको ज्वलन्त उदाहरण हो ।

निर्वाचन आयोगमा पुगेर ‘निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्नेछु’ भनेर कबोल्दै गर्दा आफू बसेको मेचको तातो सेलाउन नपाउँदै देउवाले आचारसंहिता ठाडो उल्लंघन गरी मन्त्रिपरिषद् विस्तार गरेका छन् । निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धन उभ्याउने प्रयासमा लाग्दा निर्वाचनसंहिताको सबै सीमा पार गरेका छन्, उनले ।
यही बेला कम्युनिस्टहरूको परम्परावादी चरित्र, दृष्टिकोण, विशेषतालाई अघि सारेर व्याख्या तथा विश्लेषण गर्ने काम पनि भइरहेको छ । विश्व राजनीतिक रंगमञ्चबाट अस्तित्व जोगाउन असफल भएकाले अस्ताइसकेको, आधुनिक युगमा नेपाली धर्तीमा कम्युनिस्ट राज चल्न सम्भव नभएको, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विपरीत ध्रुवमा फर्किएको विगतले यिनीहरू एक हुने वस्तुगत सम्भावना बिलकुल नभएको जस्ता टिप्पणी पनि उत्तिकै भइरहेको छ । जनताको बहुदलीय जनवाद र माओवादीको प्रचण्डपथबीचको मिलन त नदीको दुई किनारालाई एक गराउने असम्भव प्रयास हो भन्नेहरू पनि छन् । यी सबै जसरी पनि एमाले माओवादीलगायतको वाम गठबन्धनलाई तोड्ने, पार्टी एकीकरणमा भाँजो हाल्ने नियतले तेस्र्याइएका तर्क मात्र हुन् । वामपन्थहरूलाई अलगथलग गराएर फेरि पनि फाइदा लिने चेष्टा हुन् । बहुत गम्भीर र सजग भएर यसलाई एक भएर हर हालतमा जवाफ दिने खुबी वाम एकीकरणका लागि अग्रसर भएका दल र दलका नेताले देखाउनैपर्छ । मुलुकको राजनीतिको नेतृत्व लिने अवसरको डिलैमा वाम शक्तिहरू आइपुगेका छन् ।

यो इतिहासमा विरलै जुट्ने परिघटना हो । यो अवसरलाई सदुपयोग गर्दै समृद्ध नयाँ नेपाल निर्माण गर्ने महाअभियानमा अघि बढ्न सतत् प्रयास गर्नैपर्छ । लोकतान्त्रिक गणतन्त्रको युगमा पाइला टेकिसकेका आम नेपाली नागरिकको विकसित चेतले पनि वाम गठबन्धनलाई साथ दिनेछ । उनीहरू मुलुकलाई अस्थिरताको भुमरीमा धेकेल्ने कुनै पनि प्रपञ्च रोक्दै उज्यालो नेपालको पक्षमा उभिनेछन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution