तामाङ जातिमा नाक कान छेड्ने चलन

तामाङ समुदायमा जातीय रुपमा नाक कान छेड्ने बिधिबिधान छैन | तर जति सक्दो ससानै अवस्थामै नाक र कान छेड्ने गरिन्छ | त्यसैले यो संस्कार सकभर भात खुवाइ पुर्व गरेको पाईन्छ | छोराको हकमा छेवर र छोरीको हकमा गुन्युचोली पछ्यौरा दिनु पुर्व नाक कान छेड्ने परम्परा छ |
यसरी कान छेड्दा काँडा वा सियोले छेड्ने गरिन्छ | छोराको छेड्दा भने सियो वा काँडा जेले छेडे पनि जुठो गरेर छेडने प्रचलन छ | यसो गर्यो भने वन झाँक्रीले लग्दैन भन्ने तामाङ समाजमा धारणा छ | तथापी, तामाङ नारीहरु सुनका गरगहना लगाउन सौखिन भएकोले छोरा छोरीहरुको नाक कान छेड्ने गरेको पाईन्छ |
यस जातीमा नाकमा बुलाकी र कानमा ढुङरी गहना नलगाएमा हामीलाई स्वर्णभुमी (ल्हासा) ले सराप्छ भन्ने धारणा छ | त्यसैगरी तामाङ महिलाहरु नाकमा बुलाकी र कानमा ढुङरी लगाउने प्वाल छेडेमा र पुरुषहरु बिरु लगाउन कान छेडेमा मरेपछि आफ्ना स्वर्गीय आमाबाबासँग भेट हुन्छ भन्ने गर्दछन् | तामाङ जातिका महिलाहरुले कान छेडेपछि कानमा चेप्टे सुन, ढुङरी र कर्णफुल, टाउकोमा शिरबन्दी, नाकमा बुलाकी र फुली लगाउछन् भने तामाङ पुरुषहरु कानमा वीरबल लगाउछन् |
तामाङ महिलाहरु हातमा चाँदीको बाला, छातीमा सुन वा चाँदीको सिक्री,जन्तर र हारी (माला)लगाउछन् | पुरुषहरु घाँटिमा चाँदिका जन्तर पनि लगाउछन् |