गोरखाका दुवै क्षेत्र माओवादीले नछाड्ने, बाबुरामलाई काठमाडौंमा उठ्न सुझाव

काठमाडौं, असोज २५ – वाम गठबन्धनका लागि तीन दलका प्रतिनिधि सम्मिलित कार्यदलले निर्वाचन क्षेत्र निर्धारणको काम गोप्य रुपमा गरिरहेको छ । एमाले र माओवादीबिच भएको सहमतिअनुसार अन्य वामपन्थी दललाई दिएर बाँकी रहेको क्षेत्रमा दुई दलले ६० र ४० प्रतिशतको आधारमा क्षेत्र बाँड्दैछन् ।
क्षेत्र बाड्ने काम भइरहँदा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई कुन क्षेत्रबाट चुनावमा उठाउने भन्ने विषय तीन दलबिच पेचिलो रुपमा उठेको छ । भट्टराईले यसअघि नै गोरखा–२ बाट उठ्ने बताए पनि त्यहाँ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि उठ्ने तयारी गर्नुभएको छ ।
गोरखा–१ मा माओवादीका अर्का नेता हितराज पाण्डे वा चुणामणि खड्कालाई टिकट दिनुपर्ने बाध्यतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ । यसो हुँदा वाम गठबन्धनमा आबद्ध हुनुभएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई काठमाडौंबाट चुनाव उठाउनु पर्ने छलफल वाम गठबन्धनभित्र हुन थालेको छ । यो विषय क्षेत्र बाँडफाँड कार्यदलमा पनि प्रवेश पाइसकेको नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रले काठमाडौंमा क्षेत्र नम्बर १, ६, र १० दाबी गरेको छ । यी तीनमध्ये बाबुरामलाई काठमाडौं–६ बाट उम्मेद्वार बनाउनेबारे छलफल सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतले उज्यालो अनलाइनसँग भन्यो ‘गोरखामा नेताहरुको व्यवस्थापका कारण बाबुराम जीलाई टिकट दिन मुस्किल छ । त्यसो हुँदा उहाँलाई काठमाडौं–६ मा उम्मेद्वार बनाउने विषयमा कुराकानी भइरहेको छ ।
स्थानीय तहको चुनावमा नयाँ शक्ति र माओवादीबीच भोट बाँडिदा गोरखाका नौवटै क्षेत्र नेपाली कांग्रेसले जितेको छ । नयाँ शक्तिका कारण आफ्नो प्रभाव क्षेत्रमै हार्नु परेको निष्कर्ष निकाल्दै माओवादी कार्यकर्ताहरु भट्टराईप्रति रुष्ट बनेको ती नेताको भनाइ छ । जसका कारण पनि भट्टराईलाई काठमाडौंबाट उठाउनु पर्ने आवाज माओवादीभित्र उठेको छ ।
काठमाडौं–६ मा २०७० को चुनावमा कांग्रेसका भीमसेन दास प्रधानले जित्नुभएको थियो । एमालेबाट योगेश भट्टराई र माओवादीबाट हिमाल शर्मा उम्मेद्वार बन्नुभएको थियो । अहिले योगेश भट्टराई ताप्लेजुङबाट सिफारिस भएकाले काठमाडौं–६ बाट बाबुरामलाई वाम गठबन्धनबाट उठाउन सहज पनि छ ।
काठमाडौं–६ स्थानीय चुनावको परिणामअनुसार वामपन्थी दलहरु कांग्रेस राप्रपाभन्दा बलियो देखिएको छ । जहाँ एमाले माओवादीको भोट १९ हजार ४ सय छ भने कांग्रेस राप्रपाको मत १४ हजार ७ सय मात्र छ । @ ujjayalo