एनआरएनको अध्यक्षमा जमुना गुरुङको उम्मेदवार, यस्ता छन् दाबेदारहरु

काठमाडौँ, २१ असोज । गैरआवासिय नेपाली संघ (एनआरएन)को आठौं विश्व सम्मेलनमा रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ ।
‘पर्ख र हेर’को रणनीतिमा रहेकी आइसीसी सदस्य जमुना गुरुङ घले पनि अध्यक्षमा लड्ने निष्कर्षमा पुगेपछि प्रतिस्पर्धा निकै रोमाञ्चक हुने देखिएको छ । गुरुङ वर्तमान अध्यक्ष शेष घलेकी धर्मपत्नी हुन् । शुभेच्छुकहरुको चौतर्फी दबाब, एनआरएनमा बढेको धुव्रीकरण र शेष घलेको कार्यकालमा सुरु भएका लोकप्रिय योजना अलपत्र पर्ने संकेत देखेपछि जमुना अध्यक्षमा लड्ने निष्कर्षमा पुगेको उनको सचिवालय स्रोतले जनायो ।
‘उहाँ चुनाव लड्ने मुडमा हुनुहुन्थेन । तर, शेष घलेको कार्यकालमा सुरु भएका एनआरएनको कार्यालय भवन, लाप्राक एकीकृत वस्ती निर्माण र भिजन ट्वान्टी ट्वान्टी अलपत्र हुने अबस्था देखिएकाले जमुनाजी चुनाव लड्ने निष्कर्षमा पुग्नुभएको छ ।’ उनको सचिवालय स्रोतले भन्यो, ‘केही दिनमा उम्मेदवारी घोषणा हुन्छ ।’
उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने हुँदै शेष घलेसम्म आइपुग्दा एनआरएनको छवि नेपालमा ह्वात्तै बढेको छ । तुलनात्मक रुपमा नेपालमा लगानी आउन नसके पनि नेपाली भन्ने भावना विदेशमा निकै बढेको छ । शेष घलेकै कारण नेपालका राजनीतिक दलदेखि कर्मचारीतन्त्रसम्मले एनआरएनलाई प्राथमिकता दिएको घले निकटहरुको विश्वास छ ।
‘शेष घलेको अवधिभर कतिपय विरोध गर्नमै व्यस्त भए, कतिपय चाँहि एनआरएन भवन र लाप्राक बस्तीमा पुगेर सेल्फी खिच्दै जस पाउनतिर लागे । तर, साँचो रुपमा सहयोग गर्नेहरुको सानो संख्या हुँदा पनि शेष घलेको नेतृत्वले नेपालमा एनआरएनको छविलाई उच्च बनाएको छ । परोपकारी कार्यमा पनि एनआरएनको शाख उच्च भएको छ ।,’ घलेको सचिवालय स्रोतले भन्यो – ‘तर, एनआरएनको आइसीसीमा रहेका धेरैको ध्यान चुनाव आएपछि पद हडप्नेमात्रै देखियो । साँचो अर्थमा काम गर्नेहरु धेरै कम छन् । शेषजीको खासै नचाहँदा नचाहँदै पनि जमुनाजी चुनाव लड्नुपर्ने परिस्थिति आइलाग्यो ।’
सुरुमा अध्यक्ष घले स्वयम् जमुनालाई यसपालि अध्यक्षमा लडाउने पक्षमा थिएनन् । तर, एनआरएनमा विकसित पछिल्लो घटनाक्रमले उनी जमुनालाई अगाडि सार्ने निष्कर्षमा पुगेको बताइएको छ । हक्की स्वभावकी जमुना अष्ट्रेलियामा धनाढ्य र सफल महिलाहरुको सूचीमा पर्छिन् । उनी अष्ट्रेलियाको प्रख्यात मेलर्बन इन्सिच्युट अफ टेक्नोलोजीको प्रवन्धक हुन् । जमुना अष्ट्रेलियामा ११ औं धनाढ्य महिलाको सूचीमा छिन् । घले दम्पतीको ६४ करोड ७० लाख डलर सम्पत्ति छ ।
शेष घले अध्यक्षमा निर्वाचित भएपछि जमुना हरेक नीति, निर्माण र कार्यक्रमहरु संलग्न छिन् । त्यसैले पनि उनी अध्यक्षका लागि उपयुक्त उम्मेदवार हुने घले निकटहरुको दाबी छ । अध्यक्षका दाबेदारका रुपमा लिइएका भवन भट्टमा भिजनको कमीका साथै समय पनि व्यवस्थापन गर्न नसक्ने भन्दै उनलाई नेतृत्व हस्तान्तरण गर्दा एनआरएनको छवि बिग्रने घले पक्षको दाबी छ ।
यद्यपि अध्यक्षका दाबेदार भवन भट्ट एनआरएनका अभियन्ता हुन् । उनले दुई कार्यकाल उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भट्ट जापानमा रेष्टुरेन्ट व्यवसायबाट आर्थिक क्षेत्रमा फड्को मारेका हुन् । नेपालमा दैनिक पत्रिका प्रकाशित गरिरहेका भट्ट नेपाल पुर्वाधार कम्पनीको अध्यक्ष पनि बनिसकेका थिए । तर, त्यो संस्था अहिले धराशयी बनेको छ । भट्टको लगानी रहेको बिबी एअरलान्सले पनि गति लिन सकेन । भट्टलाई अर्का उपाध्यक्ष कुमार पन्त, एनआरएन संरक्षक जीवा लामिछाने र डा. उपेन्द्र महतोको पनि समर्थन रहेको बताइएको छ । खासगरि लामिछानेले भट्टलाई सर्वसम्मत अध्यक्ष बनाउने कोशिष जारी राखेका छन् । जमुना चुनाव नलडे भट्ट अध्यक्ष हुनेछन् ।
अध्यक्षका अर्का दाबेदार हुन्, कतारका टेकबहादुर कार्की (टिबी) । उनी अघिल्लोपटक शेष घलेसँगै पराजित भएका थिए । उनीसँग गल्फको भोट छ । भवन भट्ट एक्लो उम्मेदवार देखेपछि कार्की पनि मैदानमा उत्रिएका हुन् । उनी कुनै पनि हालतमा भट्टलाई सहयोग गर्ने पक्षमा छैनन् । त्यसैले पनि कार्कीको उम्मेदवारी कायम रहने देखिएको छ ।
७७ देशमा शाखा रहेको एनआरएनको विश्व सम्मेलन असोज २८ देखि ३१ गतेसम्म काठमाडौँमा हुँदैछ ।
अन्य पद्मा को-को छन् ?
वर्तमान उपाध्यक्ष कुमार पन्त उपाध्यक्षमै दोहोरिने भएका छन् । यूकेका कुल आचार्य, अमेरिकाका खगेन्द्र जिसी क्षेत्री र सोनाम लामा, कतारका नरेन्द्र भाट, पुष्प थापा, चिरन्जीवी थापा पनि उपाध्यक्षका आकांक्षी देखिएका छन् ।
विधानमा खुल्ला दुई र महिला उपाध्यक्ष एक गरी तीन जना उपाध्यक्ष रहने व्यवस्था छ । महिला उपाध्यक्षमा सपिला राजभण्डारीको चर्चा छ । वर्तमान प्रवक्ता रञ्जु थापा पनि महिला उपाध्यक्ष लड्ने सम्भावना छ ।
महासचिवमा वर्तमान महासचिव डा. बद्री केसी दोहोरिने देखिएका छन् । पूर्वअध्यक्षहरु उपेन्द्र महतो र जीवा लामिछानेको उनलाई समर्थन रहेको बताइएको छ । तर, केसीको उम्मेदवारी घोषणा भइसकेको छैन् ।
कोषाध्यक्षमा बेलायतका मुछेत्र गुरुङ र सहकोषाध्यक्षमा डेनमार्कका सापकोटाको चर्चा छ । सचिवमा डीबी क्षेत्री, गंगा राई, महेन्द्र लम्साल, गणेश केसी, जानकी गुरुङ उम्मेदवार देखिएका छन् ।
युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका शिव बरुवाल, स्वीजरल्याण्डका डा. विनय श्रेष्ठ, बेलायतका थर्क सेनले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
जर्मनीका दावा जी. शेर्पा, बेल्जियमका प्रेम गुरुङ, बेल्जियमकै गंगाधर गौतम, होल्याण्डका हरि पौडेलको पनि चर्चा छ । युरोप उपक्षेत्रीय संयोजकमा इटलीका सञ्जय देव श्रेष्ठले उम्मेदवार दिँदैछन् । एनआरएन इटलीका पूर्वअध्यक्ष श्रेष्ठ अहिले आइसीसी सदस्य हुन् ।
एसिया प्यासिफिक संयोजकमा जापानका गोविन्दप्रसाद श्रेष्ठको चर्चा छ ।
यसैगरी, मध्यपूर्व संयोजकमा कतारबाट आरके शर्माले उम्मेदवारी दिने भएका छन् । उनी कतारका सफल व्यवसायी हुन् । अर्का युवा व्यवसायी उमेश अधिकारी पनि मध्यपूर्व संयोजकका उम्मेदवार हुन् । उनी अहिले गल्फका सहसंयोजक हुन् । तर, उनी अहिले पनि उम्मेदवारी दिने या नदिने भन्ने छलफलमा छन् । साउदी अरबका धरम केसीले पनि गल्फ संयोजक पदका आकांक्षी हुन् । तर, उनी पछिल्लो समय बदनाम छन् ।
अमेरिका क्षेत्रीय संयोजकमा एसी शेर्पा गौरी जोशी, श्री पराजुली लगायतको चर्चा छ । महिला संयोजकमा रजनी प्रधान र युवा संयोजकमा लोकराज शर्माले उम्मेदवारी दिने निर्णय गरेका छन् ।