हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

मैले प्रचण्डमाथि खतरा देखेको छु’ –विमलेन्द्र निधि

तीन वाम दलबीच मध्य दशैंमा भएको चुनावी तालमेल र पार्टी एकीकरणको चर्चाले यतिबेला राजनीति गरम छ। विपरीत ध्रुवमा उभिएका एमाले र माओवादी केन्द्रबीच भएको आकस्मिक मिलन चुनावी तालमेलमात्र हो वा दीर्घकालीन पार्टी एकीकरणको प्रयास, जनमानसमा चासोको विषय समेत बनेको छ।

एमाले र माओवादी मिलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ०७३ असारमा अविश्वासको प्रस्ताव संयुक्त रुपमा दर्ता गरेर जोडिएको नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको राजनीतिक लगनगाँठो विच्देदको अवस्थामा पुगेको छ। सत्ता सहयात्री दल माओवादीले गहन परामर्श नगरी सम्वन्ध विच्छेद गरेपछि कांग्रेस छुट्टै गठबन्धनको प्रयासमा छ। तर, मूर्त रुप लिन सकेको छैन। सत्ता सहयात्रासँगै स्थानीय निर्वाचन र त्यसपछि निर्वाचनमा समेत सहकार्य गर्ने सार्वजनिक अभिव्यक्ति पटक-पटक दिइरहेका दुई सत्ता सहयात्रीको सम्वन्ध कहाँ चुक्यो? माओवादीले कांग्रेसलाई धोका दिएको हो? वा परिस्थितिको कांग्रेसले आकलन गर्न नसकेको हो?

पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग पहिलोपोस्टका लागि किशोर नेपाल र ऋषिकेश दाहालले गरेको कुराकानीः


माओवादीसँग सम्झौता जतिखेर गर्नुभयो नि, त्यतिखेर विश्वास र अविश्वासको मात्रा कस्तो थियो?

त्यो बेलामा माओवादीसँग समीकरण हुँदा माओवादीमा दुईखाले विश्लेषण थियो। हिंसात्मक द्वन्द्व (जसलाई उहाँहरुले जनयुद्ध भन्नुहुन्छ) को व्यवस्थापन गर्नका लागि शान्ति प्रक्रिया, राज्य पुनर्संरचना र संविधान कार्यान्वयनको बाटोबाट हिँड्दा मुख्य आन्तरिक राजनीतिक शक्ति भनेको नेपाली कांग्रेस र माओवादी हो भन्ने तथ्यगत विश्लेषण थियो।

भारत र चीन दुई देशबीचको कुरा गर्ने हो भने शान्ति प्रक्रियामा चीन बाधक भएन। भारतको सक्रिय योगदान रहेको प्रचण्डकै विश्लेषण हो। नेपालको आन्तरिक राजनीतिक शक्तिमा धेरै राजनीतिक दलहरु भए पनि नेतृत्वदायी राजनीतिक शक्ति भनेको नेपाली कांग्रेस र सशस्त्र आन्दोलनकारीको तर्फबाट माओवादी हो। यताबाट गिरिजाबाबु र उताबाट प्रचण्डले नेतृत्व गर्नुभयो। अरु राजनीतिक दलहरु त सहायक शक्ति भए एमाले भनौं अथवा अरु पार्टीहरु। मधेशवादी दलहरु त त्यतिखेर खुलेकै थिएनन्। पछि आएर खुले। प्रचण्डको विश्लेषणले त्यतिखेर के भन्थ्यो भने नेपालमा अब लोकतान्त्रिकरण र स्थिरताका लागि कांग्रेस र माओवादीले अगुवाइ गर्नुपर्छ। नेपालको आन्तरिक शक्तिमा अर्को शक्ति भनेको मधेशवादी शक्ति हो त्यसलाई पनि साथ लिनुपर्दछ। यसरी अगाडि बढ्यौं भने शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सकिन्छ। शान्ति प्रक्रियाका काम पूरा भइसकेको छैन। टीआरसी पूरा भइसकेको छैन। छानविन आयोगले पूरा गर्नुपर्ने काम बाँकी नै छन्। मान्छेलाई के लागेको छ भने लडाकु समायोजन भयो अब शान्ति प्रक्रियाको काम टुंगियो। यो होइन। शान्ति प्रक्रियाका अत्यन्तै संवेदनशील काम बाँकी छन्। आम जनताको दिमागमा ओझेलमा परेको छ यो कुरा। त्यसकारण शान्ति प्रक्रियाका बाँकी कुरा पूरा गर्न, संविधान जारी गर्दाका असन्तुष्टिलाई सुधार गरेर संविधानलाई कार्यान्वयन गर्न समीकरण बनेको थियो।

कुराकानीः

किन भयो मैले पनि बुझ्न सकेको छैन। स्थानीय तहको चुनावको बेलासम्म हाम्रो कुरा भइरहन्थ्यो। पछि दुई नम्बर प्रदेशको चुनावसँगै कुराकानी भएको छैन। त्यसयता उहाँहरु र मेरो वार्ता र छलफल भएको छैन। त्यसपछि उहाँ एमालेसँग लाग्नु भयो। सायद त्यसैले होला उहाँसँग सम्पर्क भएको छैन।

हामीले तीन बुँदे सहमति गरेका थियौं। त्यसमा के छ भने प्रचण्डको नेतृत्वमा प्रथम चरणको स्थानीय तहको निर्वाचन गर्ने र दोस्रो चरणदेखि नेपाली कांग्रेसका शेरबहादुर देउवाले गर्ने। र शेरबहादुरजीले संघीय संसदसम्मको निर्वाचन गराउँदासम्म सहकार्य गर्ने भन्ने छ। चुनावमा हामी सबै व्यस्त छौं। प्रचण्डजीले पटक-पटक यो चुनावमात्र होइन पछिल्ला चुनावमा समेत सँगैसँगै जानुपर्छ भन्नुभएको थियो। मैले अविश्वास गर्ने ठाउँ बुझिनँ।

तपाईँको विश्लेषण क्षमता तीक्ष्ण छ भनिन्छ नेपाली कांग्रेसमा। उनीहरुले धोका दिन सक्छन् भन्ने सोच्नु भएको थिएन?
इमानदार भएर भन्दा मैले सोचेको थिइनँ। दुईवटा कारण सोचेको थिइनँ, एउटा राजनीतिक विश्लेषण हो। दोस्रो विश्लेषण प्रचण्डजीको आफ्नो व्यक्तिगत नेतृत्वको अवधिको कुराले हो। प्रचण्डजीले नेतृत्व गरेको पार्टीको अस्तित्व र त्यसको विकासक्रम मतलव एउटा दल रहने या नरहने भन्ने कुरा त्यो विश्लेषण उहाँले पटक-पटक बसेर गर्नु भएको थियो। त्यसलाई मैले स्वीकार गरेको थिए। अहिले पनि गर्छु। मेरो अनुमान के छ भने उहाँहरु अब एमालेमा विलय हुनुहुँदैछ। उहाँहरुले पनि त्यही सोचेको हुनुपर्छ किनकि एउटै पार्टी बनाउँछु भन्नुभएको छ। मेरो विश्लेषण पहिले जे थियो अहिले पनि त्यही छ। विश्लेषणमा परिवर्तन हुँदैन परिणाममा भने हुन्छ। अहिले त्यही भएको छ। त्यो बेला प्रचण्डजीले गरेका विश्लेषणलाई मैले स्वीकार गरेँ। नेपाली कांग्रेस र माओवादीले द्वन्द्व व्यवस्थापन गर्‍यो शान्ति प्रक्रिया अगाडि बढायो। मूल नेतृत्वदायी भूमिका लियो। अरु राजनीतिक दल सहायक रहे। भारत र चीन पनि सहायक हो। अमेरिका, बेलायत, जापान पनि सहायक हो नेपालको आन्तरिक द्वन्द्व व्यवस्थापनमा। व्यवस्थापनमा आन्तरिक शक्ति र बाह्य शक्तिको भूमिका खोज्छौं हामी। तर निर्णायक शक्ति त आन्तरिक नै हुन्छ। यसरी हेर्दा प्रचण्डजी अब लडाकुहरुको संगठन गरेर हिड्न सक्नुहुन्न। अब सशस्त्र युद्धको नेतृत्व गर्न सक्नुहुन्न। उहाँको क्षमता छैन भन्न खोजेको होइन। तर हरेक व्यक्तिमा नेतृत्वको एउटा अवधि हुन्छ। अब लडाकु संयोजन गर्छु, हतियार संकलन गर्छु र फेरि नेपालमा हिंसात्मक क्रान्तिको आफैँ अगुवाइ गर्छु भन्ने अवस्थामा उहाँ हुनुहुन्न। शान्तिपूर्ण अहिंसात्मक आन्दोलनमा पटक-पटक हुनसक्छ तर एकै पार्टीको सशस्त्र आन्दोलन पटक-पटक हुने इतिहास विश्वमै छैन।

अहिले हामीले जस्तो परिवर्तन ल्यायौं त्यस्तो आन्दोलनमा भने पटक-पटक नेतृत्व परिवर्तन भइरहन सक्छ। तर, त्यस्तो नेतृत्वमा आउन पार्टी कायमै रहनुपर्छ। कुनै पार्टीसँग उहाँ एकीकरण गर्ने हो भने त्यसपछि जसरी दुई/तीनवटा नदी एउटैमा मिसिन्छ त्यसपछि कुन नदीले डोमिनेट गर्छ नदीलाई? एउटा कुनै धारको नदीलेमात्र त्यसलाई डोमिनेट गरिरहन सक्दैन। त्यसपछि उहाँको हातमा रहन्न। मैले सोचेकै थिइनँ -किन गर्नुभयो होला यस्तो। त्यसो त हाम्रोमा भन्ने गरिन्छ नि – यस्तो हुन्छ भन्ने थाहा थियो।  मैले सोचेको किन थिइन भने प्रचण्डको व्यक्तिगत राजनीतिक स्वार्थ कहाँ गएर जोडिन्छ र राष्ट्रिय राजनीतिक स्वार्थ कहाँ गएर जोडिन्छ भन्नेमा। कसैको व्यक्तिगत स्वार्थ के छ त्यो हेर्नुपर्‍यो, राष्ट्रिय स्वार्थ के छ त्यो पनि हेर्नुपर्‍यो। दुवै स्वार्थ हेर्दा मेरो विश्लेषणमा एमालेसँग मिलेर त्यो पूरा हुन गइरहेको छैन। बरु आफ्नो राजनीतिक स्वार्थ छोड्छु जे सुकै होस् भनेको हो कि।

मैले एकदमै खतरा देखेको छु जुन मैले भन्नै पर्छ -कि प्रचण्डजीको जीवनकालसम्म त जेनतेन एमालेका नेताहरुले उहाँलाई एउटा राष्ट्रिय नेताका रुपमा सम्मान देला। तर प्रचण्डजीले आफ्ना जो सहकर्मीहरुको नेतृत्व गरेर जानु भएको छ द्वितीय तृतीय तहका नेताको एमालेसँग एउटै पार्टी भयो भने उहाँहरुको हालत के होला? भूमिका के होला? यस्तो कुरा उहाँले सोच्नुहोला भन्ने ठान्दथेँ। अब त सोच्नुहुन्छ जस्तो लागेन। उहाँले आफूलाई मात्र सोच्नुहुन्छ जस्तो लाग्यो। सेल्फ सेन्टर्डमात्र भएर हेर्नुभयो। उहाँपछिका महराजीको, वर्षमानजीको, जनार्दनजीको, बादलजीको, नारायणकाजीजीको के हुन्छ?

नारायणकाजी त नेपाली कांग्रेस र माओवादीको समीकरण हुँदा मनबाटै सहमत हुनु भएको थिएन। यो उहाँमा मात्र होइन हरेक पार्टीमा हुन्छ। एमालेको एउटा धार कांग्रेससँग मिल्नुपर्छ भन्ने छ अर्को धार माओवादीसँग, कांग्रेसको एउटा धार एमालेसँग जोडिनुपर्छ भन्नेमा छन् अर्को माओवादीसँग मिल्नुपर्छ भन्नेमा। माओवादीमा पनि एमालेसँग मिल्नुपर्छ भन्ने र कांग्रेससँग मिल्नुपर्छ भन्नेहरु छन्।

कुनै पनि पार्टीसँग नमिली अगाडि बढ्न कुनै पनि पार्टीसँग हैसियत छैन?तत्काललाई देख्दिनँ म।


त्यस्तो किन भएको त?

किन भयो भने नेपालको राजनीतिक परिस्थितिलाई हामी एक्लैले समाधान गर्न सक्ने अवस्था थिएन। यहाँको सामाजिक संरचना, सोसल पोलिटिकल स्ट्रक्चर र त्यसपछिमात्र आउँछ जिओपोलिटक्सका कुरा। छिमेकीहरुको पनि भूमिका छ। छिमेकीहरु भारत र चीन, त्यस्तै अन्तरराष्ट्रिय शक्ति केन्द्रहरुको नेपालमा रुचि छ भूमिका छ। यो एउटा पाटो हो त्योभन्दा ठूलो नेपालको आन्तरिक राजनीतिक शक्तिहरु छन्। नेपालका आन्तरिक राजनीतिक शक्तिहरु निर्माणको स्रोत भनेको त सामाजिक धरातल हो। जस्तो सामाजिक धरातल हुन्छ त्यो धरातलले उत्पन्न गर्छ राजनीतिक शक्ति र प्रणाली। भनेपछि हाम्रो पहिले आन्दोलन राणा शासनबाट सुरु भयो। विभिन्न संघर्षहरु भए। केही महत्वपूर्ण क्रान्तिहरु नेपाली कांग्रेसको नेतृत्वमा भयो, डेमोक्रेटिक फोर्सेसको लिडिङमा। केही परिवर्तन कम्युनिष्टको लिडिङमा। आन्दोलन र परिवर्तन थरीथरी भए। त्यसले गर्दा नेपालमा एउटा त्यस्तो राजनीतिक शक्ति तयार हुन सकेन जसले एक्लै नेपालमा निर्णायक परिवर्तन गर्न सकोस्। २०४६ सालको परिवर्तनमा नेपाली कांग्रेस एउटा परिवर्तनकारी पार्टीका रुपमा आयो। त्यो परिवर्तनमा राजा पनि थियो। राजाले जसरी लोकतान्त्रिक शक्तिहरुसँगै हिँड्न चाहेनन् त्यसले राजा सकिए।

२०४६ को आन्दोलनको निर्णायक शक्ति भनेको त नेपाली कांग्रेस नै थियो। वाम दलहरु कांग्रेससँग जाने कि नजाने भन्नेमै थिए त।

अलिकति प्रस्ट्याउँ। त्यो बेलाको विश्लेषण गर्ने हो भने द्वन्द्व त्रिपक्षीय थियो। २०४६ सालमम्मको द्वन्द्वमा कतिवटा पोलिटिकल फ्याक्टर थियो त नेपालमा? तीनवटा। एउटा राजा र राजतन्त्र वा परम्परागत। दोस्रो नेपाली कांग्रेस र तेस्रो कम्युनिष्ट। पछि कम्युनिष्टहरुले एउटा मोर्चा पनि बनाए। २०४६ सालको नेपालको आन्तरिक शक्तिलाई हेर्ने हो भने राजा, कांग्रेस र कम्युनिष्ट थिए। यी तीन शक्‍तिको बीचमा द्वन्द्व भयो। एउटा यस्तो विन्दुमा आयो कि तीमध्ये दुईवटा शक्ति मिले। तीन शक्तिको द्वन्द्व हुँदा गणितीय आधारमा पनि बुझ्न सकिन्छ दुई शक्ति जो मिल्छ शक्तिशाली हुन्छ। प्रभावकारी हुन्छ। तेस्रो शक्ति इलिमिनेट हुन्छ। झन्डै राजा र कम्युनिष्ट मिलौं भनेर आएको पनि त हो। राजा र कम्युनिष्ट मिले भने कांग्रेस सकिन्छ नि भनियो। त्यो प्रयास असफल भयो। राम्रो के भयो भने लोकतान्त्रिक शक्ति कांग्रेस र कम्युनिष्टहरु मिले। तीन शक्तिमध्ये राजावादी शक्ति एक्लियो। राजाले तत्काल स्वीकार गरे त्यो कुरा।राजा संविधानभित्र रहने गरी बहुदल आयो। २०४६ सालको परिवर्तन आयो यसले।
भन्न खोजेको के हो भने आज चारवटा शक्ति छन्। २०६२/६३ सालको आन्दोलनमा चार शक्ति भयो। चार शक्तिमा कहिलेकाहीँ गुणात्मक परिवर्तन भएको देखिन्छ। जस्तो कम्युनिष्ट नै दुईवटा माओवादी छुट्टै एमाले छुट्टै। अनि कांग्रेस थियो र राजा थिए। पछि आएर शक्ति चारवटै रह्यो। राजा सकियो तर मधेशवादी शक्ति आयो। राजा सकिए पनि अहिले नेपालमा कतिवटा राजनीतिक शक्ति छ भन्दा तीनवटा भनेर पुग्दैन। एमालेले पटक-पटक स्वीकारेको छैन यो कुरा। उसले मधेशीलाई शक्ति नै होइन भन्यो। आखिर शक्ति त रहेछ। देखियो त। राजनीतिक दलहरुले स्वीकार गर्नुपर्‍यो कि कम्युनिष्ट र कांग्रेस वा लोकतन्त्रवादी र साम्यवादीभन्दा अलग एउटा नेपालको सामाजिक संरचनाको आधारमा मधेशवादी शक्ति पनि छ। त्यसको उदय भयो। अब नेपालमा चार शक्ति भयो नि। राजा त इलिमिनेट भइसके।


दश वर्षसम्म कांग्रेस र माओवादीबीच द्वन्द्वको अवस्था भयो। तपाईँलाई जस पनि जान्छ माओवादीसँग मिलेर सरकार बनाउन सकिन्छ भने देखाउनुभयो। कांग्रेसका धेरैजसो मानिस माओवादीबाट पीडित र मारिएकाले सम्बन्धन नराखोस् भन्ने धेरै थिए। ती सबैलाई मिचेर एउटा राजनीतिक परम्परा अघि बढाउनुभयो। प्रचण्डकै नेतृत्वमा गृहमन्त्री पनि हुनुभयो। १० महिने गृहमन्त्री अनुभवमा प्रचण्डसँग सम्बन्ध कस्तो रह्यो?

सरकारमा बस्दा प्रधानमन्त्री प्रचण्डसँग मेरो र राजनीतिक सरसल्लाह हुन्थ्यो। राजनीतिक निर्णयहरु पनि ज्यादै सरसल्लाह गरेर गर्थ्यौं। मेरो त्यो बेलाको अनुभवमा पहिलेभन्दा झन झन प्रचण्डजी र मेरो राजनीतिक विश्लेषणहरु खुलेर गर्थ्यौं नजिक ठान्थ्यौं। भरपर्दो राजनीतिकर्मीका रुपमा मैले पनि लिएको थिएँ उहाँले पनि लिनु भएको थियो। कुराहरु मिल्थ्यो। सैद्धान्तिक विषय जस्तै राष्ट्रियताको विषय, गणतन्त्रको विषय, संघीयता, लोकतन्त्र, धर्म निरपेक्षताको सवालमा समावेशी सवालमा प्रस्ट विश्वास र धारणा थियो। बडो क्लियर हुनुहुन्छ तपाईँ भन्नुहुन्थ्यो मलाई। बरु मै उल्टै संघीयता र कम्युनिज्म भनेको कन्ट्राडिक्ट कुरा हो भन्थेँ। कम्युनिष्टहरु कहाँ संघीयताको पक्षमा हुन्छ त? एमालेले संघीयता त चाहेकै होइन भन्थे। केपी ओलीले बैठकहरुमा पटक-पटक संघीयता त चाहिएकै होइन भन्नुहुन्थ्यो। मैले हाँसेर भनिदिएँ प्रचण्डलाई –केपी ओली इमान्दार हुन् यसबारेमा किनकि संघीयता कम्युनिष्टले चाहँदैन। सम्पूर्णमा कुरा गर्ने हो भने संघीयता र साम्यवाद मिल्ने कुरै होइन। तर तपाईँहरुले संघीयता भनिरहनु भएको छ। तपाई कसरी मान्नु भयो छक्क पर्छु भन्दा हाँस्नुभयो। उहाँले भन्नुभयो –हामीले त आन्दोलन गर्दा प्रदेश लगायतको संगठन गर्दा उत्पीडनमा परेकालाई संगठित गर्दा यसलाई उठायौं। धर्म निरिपेक्षताको विषय पनि दुई धारमा थियो त। नगरौं भन्नेहरु पनि थिए। धर्ममा आस्था राखे पनि हामीले निरपेक्षमा एक थियौं।


साचीँ कांग्रेस हिन्दु धर्ममा फर्किने सम्भावना छ?     

छैन।


तपाईँ रोक्न सक्नुहुन्छ त्यो फोर्सलाई?

रोक्नुपर्ने सम्भावना नै छैन। किन कि फर्किनेवाला नै छैन। हामी हिन्दु धर्मलाई रोकिनुपर्ने लाग्दैन। म आफैँ हिन्दु हुँ।


प्रचण्डसँग १० महिना काम गर्दाखेरी तपाईँको सम्बन्ध कस्तो रह्यो? असहज भयो होला नि?


असहज भएन।केही पोलिटिकल इस्युमा विवाद त भयो होला नि?
होइन। त्यस्तो असहज नै भएन।

अनि यो चार महिनामै शेरबहादुरजीसँग किन कन्ट्राडिक्ट भयो त? 
नेपाली कांग्रेससँग कन्ट्राडिक्ट भएकै होइन। प्रचण्डजीसँग कुरा गर्नुपर्छ माओवादी पार्टीभित्र उहाँले मेरो विचारमा राजनीतिक परिवर्तन जुन भएको छ त्यसलाई सुदृढ गर्नुभन्दा पनि आलोचना गर्ने बेला भएको छैन।

पर्सनल रोल के हो त त्यसको खोजीमा हुनुहुन्छ। त्यसलाई थ्यौराइज गर्न थाल्नुभयो। एउटा कुरा बताउँ स्थानीय तहको पहिलो चरणको चुनावपछि शेरबहादुरजीलाई सत्ता हस्तान्तरण गरेपछि भन्न थाल्नुभयो –अब नेपालमा कार्यकारी राष्ट्रपतिको जरुरत छ। कार्यकारी राष्ट्रपतिको कुरा धेरै अघिको भए पनि बीचमा उहाँले त्यो छाड्नभयो। नेपाली कांग्रेसले संसदीय राजनीतिमा प्रधानमन्त्री कार्यकारी प्रमुख हुनुपर्छ भनेको हो। फेरि उहाँले कार्यकारी राष्ट्रपतिको अजेन्ड अघि सार्नु भएको छ। उहाँले व्यक्तिवादी राजनीतिलाई जारी राख्नका लागि गर्नुभयो। अब त्यो पनि नराखे उहाँले के गर्ने त? यो बडो संवेदनशील कुरा छ।

यो त माथिल्लो तहको कुरा मात्र भयो त? माओवादी र कांग्रेसबीच कचमच कहिलेदेखि सुरु भयो कसैले थाहै पाएन। यसको मुख्य कारण साना कारण थिए होलान नि- आर्थिक स्वार्थका कुरा थिए होलान?

त्यो त मलाई थाहा भएन। जानकारीमा पनि छैन। रेकर्ड गरेर राख्नुस् यो कुरा -राजनीतिमा कहिलेकाहीँ नेताको व्यक्तिगत आकांक्षाले प्रणालीमा सपोर्टिभ भयो कि भएन त्यसका आधारमा प्रणालीहरु रुपान्तरित भएका छन्। कहिलेकाही त्यसले दुर्भाग्यपूर्ण कुरा भएको छ। भारत विभाजनको कुरा हेरौं। इतिहासकारले भन्ने गर्छन् –नेहरु र जिन्हाको व्यक्तिको टकराव र कार्यकारी प्रमुख बन्ने आकांक्षाको द्वन्द्वका कारण गान्धीजीले पनि भारतलाई एक राख्न सक्नुभएन। टुक्रिनुका अरु पनि कारण होला तर टकराव पनि हो। एउटै देश भयो भने कार्यकारी प्रमुख को भन्ने भन्ने टकराव थियो। अर्कोको के हुने भन्ने थियो। क्रान्ति, देशको निर्माण, दलको निर्माण भनेको त ब्रोडर पोलिटिकल एनालाइसिसले मात्र हुँदैन नेताको व्यक्तिगत निजी आकांक्षाले पनि निर्धारण गर्दछ। यो राम्रो परिणामका लागि पनि होला नराम्रो परिणामका लागि पनि होला।

प्रचण्डजीको एमालेसँग पार्टी एक बनाउँछु भन्ने चाहना, त्यसअनुसारको यो प्रयास र प्रधानमन्त्रीबाट हट्नेवित्तिकै कार्यकारी राष्ट्रपतिको अजेन्डा अगाडि सार्नुजस्ता कुराको तालमेल महत्वपूर्ण राजनीतिक अध्ययन र विश्लेषणको विषय हो जस्तो लाग्दछ। अनिमात्र साफ निष्कर्ष निस्कन्छ। अब ठेक्का पट्टा र आर्थिक विषय मेरो रुचि र चासोको विषय होइन। मलाई थाहा छैन।


पब्लिकले के भन्छ भने माओवादी जहाँ पैसा देख्छ त्यही गइहाल्छ। बुढीगण्डकीको विषय पनि यहाँ जोडिएको छ भन्छन्?

बुढीगण्डकी प्रोजेक्टको निर्णय प्रचण्डजीको सरकारको पालमा अन्त्यमा भएको हो। प्रस्ताव पहिलेदेखि आएको थियो। पहिले पनि नेपाली कांग्रेसका मन्त्रालय चलाउने साथीहरुले यसरी दिन हुँदैन भन्ने कुरा ल्याइराखेका थिए। टेन्डर गर्नुपर्छ भनेका थिए। त्यो बेलामा लास्ट मिनेटमा आएर प्रधानमन्त्रीजीले एजेन्डा ल्याउनुभयो, विभागीय मन्त्रालय पनि उहाँहरुसँगै थियो। प्रधानमन्त्रीले मलाई भन्नुभयो। मैले प्राविधिक विषयको मलाई ज्ञान पनि छैन पार्टीले सहमति नगरी हुन्न भने। तर लास्ट आवरमा कोलेसन पार्टनर हो गर्नैपर्छ र जी टू जी (गभर्मेन्ट टू गभर्मेन्ट) भएकाले भनेर गराउनुभयो। तपाईँले भनेजस्तो आर्थिक कुरो चाहिँ थाहा छैन।


माओवादीसँग गठबन्धन टुट्यो। नेपाली कांग्रेसभित्र अब के हुन्छ भन्दै आत्तिएको देखियो त?

स्वभाविक हो आत्तिने कुरा नै भयो। हामी सँगैसँगै चुनाव लड्छौं मात्र होइन आगामी चुनाव पनि सँगैसँगै लड्छौं भनेर नेपाली कांग्रेस र माओवादीको सोच अचानक प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका अगाडि आएर माओवादी एमालेसँग मिल्दा चिन्ता र चासो हुनु स्वभाविक हो। यसलाई हामीले चुनौती र अवसरका रुपमा पनि हेर्नुपर्छ।

६ बुँदे सहमति प्रचण्डजी र केपी ओलीले गर्नुभएको छ नि, बाबुराम भट्टराईको हस्ताक्षरलाई मैले खासै केही लिएको छैन। बाबुराम भट्टराई माओवादी छाडेर जानुभयो नयाँ शक्ति बनाउनुभयो। नयाँ शक्ति बनेन्। नयाँ शक्तिबाट जस्ट शक्तिमा पुग्नुभयो। उहाँहरुले एउटा फेस देखाउन ल्याउनु थियो ल्याउनुभयो। त्यत्ति हो। मूल रुपमा ६ बुँदे सहमतिको लिखित उद्देश्य चुनावी तालमेल गर्नु हो। चुनावी तालमेलको उद्देश्य के छ त? नेपालमा एउटामात्र कम्युनिस्ट पार्टी बनाउने। राजनीतिक चरण र राष्ट्रिय दायित्व के हो? संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान सर्वस्वीकार्य गराउने, त्यसलाई कार्यान्वयन गराउने। त्यसलाई समृद्ध बनाउने राष्ट्रिय दायित्व छ।
अब माओवादी र एमाले भन्दैछन प्राथमिकताको ठाउँमा चुनाव लड्छौं। तालमेल गर्छौं। के का लागि? नेपालमा एउटा कम्युनिस्ट पार्टी बनाउनका लागि। इन्टायर्ली उद्देश्य फरक भयो। यो इलेक्सन टाइममा भएन भने संविधान धरापमा पर्छ। संविधान कार्यान्वयनका लागि हामीले चुनाव गर्नुपर्छ। हरेक चुनावी तालमेल र उद्देश्य अहिलेको संविधान कार्यान्वयन गर्नु हो किनकि राज्य पुनर्संरचना यसमा अन्तर्निहीत छ। जुन ऐतिहासिक परिवर्तन गरेका छौं त्यसलाई टिकाउनका लागि यो संविधान कार्यान्वयन हुनुपर्‍यो।

उहाँहरुको चुनावी तालमेल प्रधानमन्त्री बन्नका लागि मात्र होइन। चुनावी तालमेल देशमा एउटामात्र कम्युनिष्ट पार्टी बनाउनका लागि भइरहेको छ। ६ बुँदै सहमतिको रोडम्याप नेपालमा एउटामात्र सिंगल कम्युनिष्ट पार्टी बनाउने हो। अन्तत: कम्युनिष्ट नेपाल बनाउने पथ हो। प्रचण्डपथ भनेजस्तै यो कम्युनिज्म पथ हो।

यत्रो बलिदानबाट गठन भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जोगाउन राजनीति गर्नुपर्छ भनेका छौं। संघीय लोकतान्त्रिक गणतन्त्रबाट कम्युनिष्ट गणतन्त्रतिर लैजाने प्रयास भयो। अब हामी कम्युनिष्ट नेपाल बनाउने कि लोकतान्त्रिक गणतन्त्र नेपाल नै राख्ने? हामीसामु प्रश्न खडा भएको छ।

माओवादी मन्त्रीहरुलाई प्रधानमन्त्रीले कहिले निकाल्नुहुन्छ त?
त्यो त प्रधानमन्त्रीको कुरा हो। प्रधानमन्त्रीय पद्धती हो यो उहाँलाई थाहा होला।

उहाँले के गर्नुपर्ला अहिले? तपाई पार्टीको जिम्मेबार नेताले के भन्नुहुन्छ?
के गर्नुपर्छ त्यो त गरेर देखाउँछ नि।

कहिलेसम्म देखाउनुहुन्छ?
त्यो प्रधानमन्त्रीको विषय हो, उहाँले कहिले गर्नुहुन्छ।

प्रधानमन्त्री केही ढिलो हुनु भएको हो?
त्यस्तो केही ढिलो भएको छैन। गम्भीर विषय हो। राजनीतिक छलफल गर्नुपर्‍यो। चुनाव गराउनुछ। यसमा नेसनल डिबेट गर्नुपर्छ। चुनावका लागि तयारी गर्नुपर्ने अवस्था छ। चुनावी तयारी पनि गर्ने राजनीतिक विश्लेषण पनि गर्दै जाने हो।
अलाइन्स कोसँग हुन्छ त?
६ पार्टीसँग कुराकानी भइरहेको छ। अरु पार्टी पनि थपिन सक्छन्।

अलाइन्सको कुरा मिलेपछिमात्र माओवादीलाई निकाल्‍ने?
निकाल्ने ननिकाल्ने मेरो विषय होइन। प्रधानमन्त्रीको विषय हो।

एमालेसँग अलाइन्स गरेको माओवादीलाई मन्त्रिपरिषदमा राखेर चुनावी भिडन्तमा जाने कसरी हो? विचित्र हुन्न त्यो?
नेपालमा त राजनीतिक कुराहरु विचित्र विचित्रका हुन्छन्। सरकारमा कांग्रेससँग बस्ने प्रतिस्पर्धीसँग चुनावी तालमेल गर्ने। सरकारभित्र पनि बसिरहने यो त विचित्र हो नि।@pahilopost

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution