२०६४ सालमा एमालेलाई सिंगै निल्न सकिन्छ भन्ने लागेको थियो – प्रचण्डको खुलास

स्थानीय तहको निर्वाचनकैबेला एमाले र हाम्रोबीचमा चुनावी तालमेलको कुरा चलेको थियो । केपी ओलीले पठाएको भन्दै बामदेव गौतम बेलाबेला आएर चुनावी तालमेलको कुरा गरिरहन्थे । मैले त्यसो हो भने केपी ओलीसँग कुरा गर्नुस् भनेपछि बामदेवले ओलीजीसँग कुरा गरे । सुरुमा एमालेले चारमध्ये दुई वटा महानगरपालिका हामीलाई दिने कुरा गरेको थियो । पछि पार्टीभित्र मिलाउन गाह्रो भयो एउटा मात्र दिने भन्ने कुरा आयो । त्यसमा पनि हामी राजी भयौं । तर, पछि एकाएक परिस्थिति बिग्रियो र चुनावी तालमेल हुन सकेन । स्थानीय चुनावपछि पनि बामदेखि आइराख्थे । पार्टी एकताको कुरा भइराख्थ्यो, तर कुरा टुंगिँदैनथ्यो । दसैंको समयमा पनि बामदेवसँग भेट भयो । मैले बामदेवलाई पार्टी एकताको कुरा राखें । केपी ओली भेट्न आफैं बालकोट गएँ । डेढ घण्टासम्म कुरा गरें । एकताको कुरामा ओलीजी सकारात्मक देखिए । एमाले र हामी दुवैले आफ्नो बास्तविक साइज बुझेपछि मात्र एकताको वातावरण बनेको हो । नयाँ परिस्थितिमा दुवैले एकअर्काको अस्तित्व स्वीकारेर जाँदा मुलुकको विकास, समृद्धि र स्थायित्वका लागि उपयुक्त हुने ठानेरै एकताको प्रयास भएकाले यसमा कोही कसैले आशंका गर्न जरुरी छैन ।
०६४ मा हामीलाई एमाले सिंगै खान सकिन्छ/पचाउन सकिन्छ भन्ने लागेकै हो । त्यतिबेला हामीले एमालेलाई सिंगै निल्न सकिन्छ भने किन एकताका नाममा अनावश्यक स्पेस दिएर मिल्ने भन्ने दम्भ देखायौं । अहिले हामी ०६४ को एमालेको ठाउँमा र एमाले हाम्रो ठाउँमा पुग्यो । सबै क्लिएर भए हुन्छ यो पटक एमालेले हामीलाई वा हामीले एमालेलाई खाने होइन । यो एकअर्काको सहअस्तित्व स्वीकार गरेर हुन लागेको एकता हो । एमाले माओवादीमा वा माओवादी एमालेमा जान लागेको होइन । दुवै पार्टी मिलाएर नयाँ पार्टी बनाउने भनिएको छ । सबै स्पष्ट हुनुस् न माओवादी एमालेमा जाने हो, न एमाले माओवादीमा आउने हो । यो देशलाई समृद्ध बनाउन मक्युनिष्ट एउटै केन्द्र आवश्यक थियो र छ । एउटै कम्युनिष्ट केन्द्र बनाएर समाजवादी क्रान्ति गर्नका लागि बाम एकता हो ।
त्यसैले विगतका कुराहरुलाई लिएर हामीले एमाले वा एमालेका नेताहरुका बारेमा सार्वजनिक रुपमा केही पनि टिकाटिप्पणी नगरौं । विगतमा हामीले पनि एमालेलाई धेरै गालीगलौज गरियो । एमालेले पनि हामीमाथि भए÷नभएका गालीगलौज गरेको हो । तर, गालीले देश बन्दैन । हामीले एकअर्काका बारेमा टिप्पणी नगर्ने सहमति नै गरेका छौं । यसमा हामी सबैले ख्याल गरौं । केही साथीहरुले एमालेले विगतमा पटकपटक हामीलाई प्रयोग र धोका दिएकाले यसपटक धोका हुँदैन भन्ने के ग्यारेण्टी छ ? भन्ने प्रश्न गर्नुभएको छ । म भन्छु यो पटक एमालेले धोका दिँदैन । यसमा म ग्यारेण्टी दिन्छु । एमालेले हामीलाई धोका दियो भने ऊ फस्छ, हामीले एमालेलाई धोका दियौं भने हामी फस्छौं । यस्तो अवस्था छ अहिले । त्यसैले कसैले कसैलाई धोका दिने कुरा यो पटक हुँदैन । यसमा कसैलाई आंशका र द्विविधा नहोस्, एमालेसँग चुनावी तालमेलमार्फत पार्टी एकता गर्ने नै हो त्यसैले कोही पनि पछि हट्दैन । किनकी एमाले र हामी दुवै साइजमै आएपछि यो एकता सम्भव भएको हो । काँग्रेस–माओवादी मिल्दा एमाले १० वर्षसम्म सत्ताबाहिर बस्नुपर्ने स्थिति आयो । यो कुरा एमालेले बुझेको थियो । त्यसैले एमाले एकताका लागि तयार भयो । अरु धेरै बामपन्थी पार्टीहरु पनि बाम गठबन्धनमा ध्रुवीकरण हुँदैछन् ।
दुई पार्टीको एकतापछि विचारधारात्मक रुपमा विश्वभरि नै सन्देश दिने तरिकाले नेपालमा समाजवादी क्रान्तिको तयारी गर्ने हो । त्यसका लागि कम्युनिष्ट केन्द्र बनाउँदा मात्र सम्भव छ । अब हामी मिलेपछि विचारधारात्मक रुपमा फाइट हुन्छ । त्यसमा ‘ग्रेट डिभेट’ चलाउने हो । अहिलेसम्म कम्युनिष्टहरुका बीचमा डिभेट मात्र भयो । ग्रेट डिभेट भएन । दुई पार्टी मिल्दा नेतृत्व कसले गर्ने भन्नेमा हाम्रोबीचमा विवाद छैन । छलफल गर्दै जाँदा जसले नेतृत्व गरे पनि हुन्छ । विचारका आधारमा नेतृत्व हुने हो । बहस, छलफल गर्दै जाने हो । चुनाव चिन्हका बारेमा पनि हामीबीचमा सहमति भएको थियो । । सूर्यभित्र हँसिया हथौडा राखेर चिन्ह बनाउन खोज्दा निर्वाचन आयोगले मानेन । त्यसैले प्राविधिक कारणले मात्र चिन्ह एउटै नभएको हो । निर्वाचन आयोगले जसको चुनाव चिन्हमा चुनाव लड्यो त्यही पार्टीबाट जितेको हुने भएपछि अहिलेलाई चिन्ह फरकफरकमा लड्न खोजेका हौं । यो कुरा पनि सबैलाई जानकारी होस् । हाम्रो गठबन्धन काँग्रेस वा कुनै शक्तिको विरोधमा होइन । मुलुकको हितमा हो । हामी नैतिकताका आधारमा अहिलेसम्म सरकारमै बसिरहेका हौं । सरकारमै बसेर हामीले हिजो गरेको सहमतिमा इमान्दारिता देखाएका छौं । एमालेलाई पनि मैले भनेको छु, अहिले सरकार परिवर्तन हुँदैन । यही सरकारले चुनाव गराउँछ । यसमा एमाले पनि सहमत छ ।
(माओवादी केन्द्रको राजधानीमा शनिबार आयोजित पोलिट्ब्युरो सदस्यहरुको भेलामा प्रचण्डले गरेको सम्बोधनको सम्पादित अंश)
@ काठमाडौंटुडे |