समाजवादी पार्टी भनौं: ओली र भट्टराई , कम्युनिष्ट नै भन्नुपर्छः दाहाल

‘बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नयाँशक्ति पार्टी आगामी चुनाव सूर्य चिन्हमा नै लड्छ।’
१७ असोज साँझ राष्ट्रिय सभा गृहमा तालीको गढगढाहटबीच एमाले अध्यक्ष केपी ओलीले यस्तो घोषणा गरेपछि मञ्चमा रहेका भट्टराई मन्द रुपमा मुस्कुराए। ओलीको घोषणा र भट्टराईको मुस्कानले के संकेत गर्यो भने, भट्टराईको सम्बन्ध पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्रभन्दा ओली र एमालेसँग घनिष्ट रहेछ।
वास्तविकता भने यस्तो थिएन। खासमा भट्टराई चुनावी एकता र तालमेल माओवादी केन्द्रसँगै गर्न चाहन्थे। एमाले र माओवादी केन्द्रबीच तालमेल र एकताका विषयमा भित्री कुराकानी भइरहेको कुराप्रति बेखबर भट्टराई त्यसैले दशैंको रमझम सुरु हुनासाथ यसै विषयमा कुराकानी गर्न लाजिम्पाटस्थित प्रचण्ड निवास पुगेका थिए।
तर, आफ्ना पुराना सहयोद्धासँगको कुराकानीका क्रममा एमाले–माओवादीबीच एकता हुँदैछ भन्ने कुरा प्रचण्डले लुकाउन सकेनन्।
तीन चरणमा भएको स्थानीय तह निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनपछि भट्टराई माओवादी केन्द्र र संघीय समाजवादी फोरमसँग तालमेल गरेर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जाने निर्णयमा पुगेका थिए।
माओवादी केन्द्र र फोरमसँग तालमेल गर्न सके नयाँशक्तिको प्रभाव रहेका गोर्खा, रसुवा, कपिलवस्तु, दाङ, कैलाली, सप्तरी लगायतका जिल्लामध्ये केही स्थानमा पार्टी उम्मेदवारलाई जिताउन पनि सकिने विश्लेषण भट्टराईको थियो। त्यसैले दशैंको फूलपातीका दिन उनी लाजिम्पाटस्थित प्रचण्ड निवास पुगे।
त्यहाँ चुनावी एकताका बारेमा प्रचण्डसँग भट्टराईको झण्डै दुई घण्टा कुराकानी भयो। अत्यन्त गोप्य रुपमा सुरु गरिएको एमाले र माओवादी केन्द्रबीच तालमेल र एकता प्रयासले त्यतिबेला अन्तिम रुप पाउँदै थियो। एकता वार्ताको सफलताबाट पुलकित प्रचण्डले एमालेसँग हुन लागेको एकताले अन्तिम रुप पाउन लागेको कुरा भट्टराईसँगको त्यो कुराकानीमा लुकाउन सकेनन्।
उनले भट्टराईलाई सुनाए, ‘एमाले र हामीबीच चुनावी तालमेल र एकताबारे कुराकानी हुँदैछ। हामी एकताको नजिक पुगिसकेका छौं। तपाईंपनि हामीसँग तालमेल र एकता गर्ने हो भने तीनै पार्टी– एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीच गरौं न त। के छ तपाईंको विचार?’
स्थानीय निर्वाचनमा नयाँशक्तिको पराजयपछि पार्टीका नेता कार्यकर्ताहरु माओवादी केन्द्र र अन्य दलमा फर्कने क्रम बढेको थियो। पार्टीलाई आर्थिक समस्या उत्तिकै थियो। यस्तो स्थितिमा एमाले र माओवादी केन्द्रबीच एकता हुनासाथ कांग्रेसको नेतृत्वमा अर्को धु्रवीकरण सुरु हुने र दोहोरो धु्रवीकरणका बीच बैकल्पिक राजनीतिको वकालत गरेको नयाँशक्तिलाई अस्तित्व रक्षा गर्न पनि गार्हो हुने विश्लेषण भट्टराईले गरे।
त्यसैले, कत्ति ढिला नगरी भट्टराईले प्रचण्डलाई तत्काल आफ्नो निर्णय सुनाए, ‘ल ठीक छ, त्यसो भए म पनि आट्छु। म पनि तपाईंसँगै एमालेसँग चुनावी तालमेलमा जान्छु। तर, मेरो उपेन्द्र यादवसँगपनि तालमेलबारे कुरा भइरहेको छ। उनलाई पनि सँगै यो तालमेल र एकतामा सहभागी गराऊँ।’
प्रचण्ड–बाबुरामबीच यादव नेतृत्वको फोरमलाई पनि एकता प्रक्रियामा सामेल गराउने सहमति भयो। यादवलाई मनाउने जिम्मा भट्टराईले लिए।
अष्टमीको दिन प्रचण्डले बाबुरामलाई फोन गरे। त्यस दिनसम्म एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिने दिशातिर गएको रहेछ। त्यसैले प्रचण्डले भट्टराईलाई भने, ‘कुरा मिलेन, एमालेसँग एकता होला जस्तो छैन। अब उपेन्द्र यादव, तपाईं र हामी (माओवादी केन्द्र) तीन पार्टीबीचमात्र तालमेल गर्नुपर्ने भयो। पछि एमाले आएछ भने उसँग पनि गरौंला।’
तर, त्यसको केही घण्टापछि नै प्रचण्डले फेरि भट्टराईलाई फोन गरे। यस पटक उनले एकताको विषयमा एमालेसँग कुरा मिलेको जानकारीमात्र गराएनन्, एमालेसँगको एकताका विषयमा कुराकानी गर्न लाजिम्पाट आउन भट्टराईसँग अनुरोध गरे।
प्रचण्डसँगको कुराकानीपछि भट्टराईले यादवलाई पनि आफ्नो निवासमा बोलाए। दुवै नेता प्रचण्ड निवास पुगे। प्रचण्डले यादवसँग भने, ‘एमाले–माओवादी केन्द्र–नयाँशक्तिबीच एकता हुने भयो। हामी फोरमलाई पनि एकतामा सामेल गराउन चाहन्छौं।’
एकतामा सामेल हुन यादवले पनि इच्छा जनाए। त्यस विषयमा फेरि कुराकानी गर्ने उद्देश्यका साथ नवमीका दिन भट्टराई र यादव दोस्रो पटक प्रचण्ड निवास पुगे। भट्टराईको गाडी बिग्रेको थियो। लाजिम्पाट स्रोतका अनुसार दुवै नेता यादवको गाडी चढेर प्रचण्ड निवास पुगेका थिए।
एकताप्रति सकरात्मक देखिएपनि यादवले यस पटक प्रचण्ड–भट्टराईसँग भने, ‘एकताका विषयमा पार्टीमा छलफल गर्नुपर्छ। अशोक राईजी उदयपुरतिर हुनुहुन्छ, अरु साथीहरु पनि काठमाडौं बाहिर जानु भएको छ। त्यसैले दशैंपछि बैठक बसेरमात्र यस विषयमा निर्णय गर्न सक्छौं।’
एकताको विषयमा कुराकानी भएपछि भट्टराईले त्यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगमात्र होइन, बरिष्ठ नेता माधव नेपाल र महासचिव र्इश्वर पोखरेलसँग समेत कुराकानी गरिसकेका थिए। तर, एकता मुख्यतः एमाले र माओवादी केन्द्रबीच नै हुने र भट्टराईसँग एकताको प्रस्ताव प्रचण्डले नै राखेकाले एकताबारे ओलीसँग धेरै कुराकानी गरेनन्। जेजति अपडेट हुनुपर्ने हो, भट्टराई प्रचण्डमार्फत् नै भइरहे।
भट्टराईसँग प्रचण्डले के बताएका थिए भने, ‘सबै पार्टी सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गर्ने निर्णय सहित एकताको घोषणा गर्ने सहमति भएको छ। एकताको घोषणा १७ असोजका दिन गर्ने टुङ्गो लगाइएको छ। त्यसै अनुसार पार्टी पंक्तिलाई जानकारी गराउनु होला।’
तर एकता घोषणा गर्ने भनिएको अघिल्लो दिन (१६ असोज) देखि प्रचण्ड–भट्टराईबीच सम्पर्क नै हुन सकेन। भट्टराईले पटक पटक प्रचण्डलाई फोन गरे, तर फोन उठाएनन्।
१७ असोज दिउँसो एमाले–माओवादी केन्द्रबीच एकताका विषयमा पत्रकार सम्मेलन हुने भन्ने समाचार सार्वजनिक भयो। यतिबेलासम्म पनि प्रचण्ड–भट्टराईबीच सम्पर्क स्थापित हुन सकिरहेको थिएन। भट्टराई त्यसपछि अप्ठेरोमा परे। किनभने, एकताका विषयमा उनी प्रचण्डबाट मात्र अपडेट भइरहेका थिए।
त्यही अलमलका बीच १७ असोज दिउँसो साँढे १२ बजे ओलीले भट्टराईलाई फोन गरे। ओलीको भनाई थियो, ‘कता हुनुहुन्छ? भेट्नुपर्यो, अर्जेन्ट छ।’
भट्टराई तत्काल बालकोट पुगे। ओलीले भट्टराईसँग भने, ‘हामी त एकता घोषणा गरेर जाने भयौं। तपाईंपनि हामीहरुसँगै जाने होइन भन्या?’
खासमा ओली पनि अलमलमा थिए, नयाँशक्ति पनि एकतामा आउने कुरा हुँदाहुँदै किन आएन भनेर।
प्रचण्डले ओलीसँग भनेका रहेछन्, ‘अहिलेलाई एमाले र माओवादी केन्द्रबीचमात्र गरौं। नयाँ शक्तिसँग चाहिँ पछि एकता गरौंला।’
बाबुरामले जवाफ दिए, ‘मैले त पार्टीमा सल्लाहपनि गरिसकें। हामी त एकताका लागि तयार भएर बसेका छौं। तर, खोइ, तपाईंहरुले नै वास्ता गर्नु भएन।’
भएको के रहेछ भने, नयाँशक्तिलाई पनि एकतामा सामेल गराउने भनेपछि प्रचण्ड पार्टीभित्रैबाट अप्ठेरोमा परेछन्। नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ ले भट्टराईलाई एकतामा सामेल गराउँदा समस्या उत्पन्न हुने बताएछन्।
यता एकताका लागि भट्टराईसँग त्यत्रो कुराकानी भएको छ, यतातिर पार्टीकै बरिष्ठ नेताहरु भट्टराईलाई एकतामा सामेल गराउने कुराको विरोधमा छन्। बरिष्ठ नेताहरु नै विरोधमा उत्रेपछि प्रचण्ड अप्ठेरोमा पर्ने नै भए। त्यही कारण प्रचण्ड १६ असोज साँझदेखि भट्टराईसँग सम्बन्ध विच्छेद गरेर बसेका रहेछन्।
भट्टराईसँगको कुराकानीपछि ओलीले एकता सम्बन्धी सहमति पत्रको मस्यौदा लेखिरहेका विष्णु पौडेल र जनार्दन शर्मालाई फोन गरेर निर्देशन दिए, ‘मस्यौदामा एमाले र माओवादी केन्द्रबीच मात्र होइन, नयाँशक्तिको पनि नाम हाल्नु। हस्ताक्षर गर्ने ठाउँमा नयाँशक्तिका संयोजक भनेर बाबुराम भट्टराईजीको पनि नाम थप्नु।’
ओलीसँग कुराकानी हुँदै गर्दा भट्टराईले पनि प्रचण्डलाई फोन गरे। तर प्रचण्डले उठाएनन्। त्यसपछि छोरा प्रकाश र निजी सचिव जोखबहादुर महरालाई पटक पटक फोन गरे। महराले ‘प्रकाशले सीएमसँग जोडिदिन्छन्’ भनेर फोन राखे। प्रकाशले चाहिँ फोन स्वीच अफ गरेर बसे।
प्रकाशको फोन अफ भएपछि फेरि महरालाई नै गरे, तर महराले फोन रिसिभ गरेनन्। धेरै पटकको प्रयासपछि बल्ल उनले प्रचण्डलाई फोन दिए।
ओली र भट्टराईबीच त्यो छोटो कुराकानीमा दुई पार्टीको सट्टा तीन पार्टीबीच एकताको घोषणा गर्ने र नयाँशक्तिले पनि सूर्य चुनाव चिन्ह नै लिएर चुनावमा प्रतिस्पर्धा गर्ने सहमति भइसकेको थियो।
तर यता प्रचण्ड भने सूर्य होइन, आफ्नै पार्टीको चिन्ह लिनुपर्ने र भट्टराईलाई एकतामा सामेल गराउन नहुने भन्ने आन्तरिक दवावमा थिए।
जब प्रचण्ड र भट्टराईबीच फोन सम्पर्क स्थापित भयो, प्रचण्डले भट्टराईसँग भने, ‘म यहाँ मिलाउँदैछु, केही साथीहरुले मान्नु भएको छैन। त्यसैले आज दुई पार्टीबीच मात्र एकता गर्ने भन्ने भयो। उपेन्द्रजीसँग पनि कुरा टुङ्गिएको छैन। तपाईं र उपेन्द्रजीसँग पछि एकता गर्ने भइयो। ओलीजीसँग यसै अनुसार कुरा भएको छ।’
भट्टराईले भने, ‘म त ओलीजीसँगै छु। दुई पार्टीबीच होइन, हामीबीच नयाँशक्तिपनि एकतामा सामेल हुने सहमति भइसक्यो। चुनाव चिन्ह पनि सूर्य लिने तय भइसकेको छ।’
प्रचण्डले भने, ‘ए हो र! त्यसो भए त म धेरै खुसी भएँ। ल, राम्रो भयो। अब त्यसै गरौं।’
एकताको घोषणाका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले र नयाँशक्तिका नेताहरु जति हर्षित देखिन्थे, माओवादीका नेताहरु त्यति हर्षित देखिएनन्। कारण थियो, नयाँशक्तिलाई एकतामा सामेल गर्ने कि नगर्ने भन्ने आन्तरिक विवाद।
ओली–भट्टराईबीच कुराकानी चल्दै गर्दा दुवै नेताका लागि ओली निवासमा लस्सी तयार गरिएको थियो। लस्सी पिएर दुवै नेता त्यसपछि सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयतिर लागे। त्यहाँ एकता घोषणाको ६ बुँदे मस्यौदा तयार पारिँदै थियो।
भट्टराईको भनाई थियो, ‘एउटै कम्युनिष्ट पार्टी निर्माण होइन, समाजवादी पार्टी निर्माण भन्ने शब्दावली प्रयोग गरौं।’
यसमा ओलीले सहमति जनाए। तर प्रचण्डको आपत्ति रह्यो।
प्रचण्डले आफ्नो बाध्यता सुनाए, ‘एकताप्रति हाम्रै पार्टीभित्रका साथीहरु असन्तुष्ट छन्। एमालेसँग एकता गरेर प्रचण्डले बचेखुचेको कुरा पनि गुमायो भन्ने आरोप छ ममाथि। कम्युनिष्ट पार्टी भन्ने शब्दपनि नराख्ने हो भने त मलाई सार्है अप्ठेरो पर्छ।’
प्रचण्डले बाध्यता सुनाएपछि भट्टराईले मध्यमार्गी प्रस्ताव अघि सारे, ‘ठीकै छ, अहिलेका लागि कम्युनिष्ट पार्टीबीचको एकता भन्ने शब्द नै प्रयोग गरौं। तर महाधिवेशनमा चाहिँ यसप्रति मेरो असहमति रहन्छ। मेरो तर्फबाट समाजवादी पार्टी राख्नुपर्छ भन्ने प्रस्ताव रहनेछ।’
राष्ट्रिय सभागृहमा ५ बजे पत्रकार सम्मेलनमार्फत् एकताको घोषणा गर्ने भनिएको थियो। तर मस्यौदापत्रमा उल्लेख गर्ने शब्दावलीका कारण सिंहदरवारभित्रै साँढे पाँच बजिसकेको थियो।
तर जब ‘कम्युनिष्ट पार्टीबीच एकता’ भन्ने शब्दावलीमा कुरा मिल्यो, त्यसपछि सबै नेताहरु राष्ट्रिय सभागृहतिर लागे। @ nepalkhabar