के प्रधानमन्त्रीले बर्खास्त गर्लान् माओवादी मन्त्री?

काठमाडौं : सत्ता साझेदार नेकपा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल एमालेसँग एकता प्रक्रियामा लागेपछि माओवादी मन्त्री हटाउने वा राख्ने विषयको बहसमा कांग्रेस तानिएको छ।
पार्टीमा एउटा पक्षले माओवादीले सरकारलाई दिएको समर्थन कायम रहने बताएकाले यही सरकार र मन्त्रीहरुलाई कायम राखेर निर्वाचन गराउनु पर्ने तर्क गरेका छन् भने अर्को पक्षले तत्काल माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने बताएका छन्।
माओवादीले प्रतिपक्षी दलसँग एकता प्रक्रिया अघि बढाएसँगै प्रतिपक्ष दल हुने भन्दै सत्तामा रहन नसक्ने तर्क छ भने माओवादीले एकता नभएर चुनावी एलायन्स मात्र गरेका कारण उसलाई सत्तामा राख्न सकिने अर्को पक्षको तर्क छ।
‘कांग्रेससँग सत्ता साझेदारी गरेको माओवादी केन्द्रले एमालेसँग एकता प्रक्रिया अघि बढाएपछि प्रधानमन्त्रीले तत्काल माओवादी मन्त्रीहरुसँग फोटो खिचाएर आजैबाट सहकार्य अन्त्य गर्नुपर्छ,’ कांग्रेस युवा नेता गगन थापाले भने, ‘त्यसका लागि प्रधानमन्त्रीले आफ्नो बहुमत रहन्छ रहँदैन भन्नेसमेत हिसाव नगर्दा हुन्छ।’
उनले चुनावी सरकार काम चलाउ हुने भन्दै निर्वाचन गराउन उनीहरुलाई हटाएर बाधा नहुने बताए।
‘त्यसो गरेपछि यो एलायन्स निर्वाचन भाँड्न र संविधान कार्यान्वयनमा बाधा खडा गर्न हो वा होइन भन्ने पनि स्पष्ट हुन्छ,’ थापाले भने, ‘पहिलो कुरा प्रतिपक्षसँग गएपछि माओवादीले सरकारमा बस्न हुँदैनथ्यो तर, उसले त्यसो गरेन। अब, प्रधानमन्त्रीले उनीहरुलाई सरकारमा राख्न हुँदैन।’
कांग्रेसका नेताहरुले भने लोकतान्त्रिक मोर्चा निर्माणको काम जारी रहेको भन्दै अहिले नैं त्यस्तो तयारी नभएको बताए।
‘प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता नहुने बताउनुभएको छ,’ नेता डाक्टर प्रकाशरण महतले भने, ‘त्यसैले अहिले सरकारमा मन्त्रीको हेरफेरबारे तयारी गरिएको छैन। तर उहाँहरु नहुँदा पनि सरकारमा रहेको बहुमतमा कुनै असर पर्दैन।’
@पहिलोपोस्ट