एमाले-माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेलको घोषणा, चुनावपछि पार्टी एकीकरण

काठमाडौं १७ असोज– नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि चुनावी तालमेल घोषणा भएको छ ।
एउटै चिन्हमा चुनाव लड्ने प्रयास सफल नभएपनि उनीहरुले चुनावमा एउटै घोषणापत्र बनाएर जान सहमत भएका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलवार साझ आयोजित कार्यक्रममा तीनदलबीच चुनावी तालमेलको घोषणा भएको हो । ६ बुँदे सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा चुनावमा तालमेल गर्ने र चुनावपछि पार्टी एकीकरण गरी एउटै वामपन्थी दल बनाउने उल्लेख छ । दलका नेताहरुले कार्यकर्तालाई बिचलित नहुन आग्रह गरेका छन् ।
सहमतिपत्र सार्वजानिक गर्न आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले वामपन्थी प्रगतिशील गठबन्धनको ध्यान मंसिरको चुनावपछि दुईतिहाइ बहुमत ल्याउने तर्फ केन्द्रीत रहने बताए ।
‘साधारण बहुमत अब ठूलो कुरा होइन ध्यान दुईतिहाइ तिर छ’ ओलीले भने, ‘सहमतिको कार्यान्वयका लागि खुसीयाली पूर्ण ढंगले अगाडी बढ्न सम्पूर्ण कार्यकर्तालाई आह्वान गर्न चाहान्छु ।’
अध्यक्ष ओलीले आफूहरु सन्तुलित र मैत्रिपूर्ण छिमेक सम्बन्ध तथा स्वतन्त्र राष्ट्रको हैसियतमा छिमेक सम्बन्धको पक्षमा रहेको बताए ।@ lokantar