कथा-बिग्रिएकी केटी

मिनियापलिस डाउनटाउनको टार्गेटफिल्ड स्टेशन। ट्रेनबाट ओर्लिएर बाहिर निस्किन थालेको थिँए, एकजना युवती मतिर बढिन्। रुपरंग ल्याटिन अमेरिकी जस्ती वा हुनसक्छ उनी भारतीय वा नेपाली नै हुन्।
‘कृपया मलाई मद्दत गर्नूस् न, मलाई टिकटको लागि एक डलर पुगेन। ‘मल अफ अमेरिका’ सम्म जानु थियो।’
उनको अंग्रेजी शुद्ध अमेरिकी लवजको थियो। यहीँ जन्मिएको वा हुर्किएकी हुनुपर्छ! यसरी बस-बिसौनी, ट्रेन-स्टेशन, ग्यास-स्टेशन (पेट्रोल पम्प) तिर खुद्रा पैसा माग्नेहरु अक्सर भेटिन्छन्। धेरै जसो ठगहरु, नसाको कुलतमा परेका, दूर्ब्यसनीहरु हुन्छन्। ती युवतीलाई एक छिन नियालेर हेरेँ। राम्री थिइन्। हिस्सी परेकी। बान्की परेको शरीर। तीन दशक वरिपरिको उमेर हुनुपर्छ। उनको पहिरन, ब्यक्तित्व, शारीरिक भावभङगीमा ठग वा दूर्ब्यसनी जस्तो लागेन। एक डलरको लागि किन कसैको बारे धारणा बनाउनू? गोजीबाट पर्स निकालेँ। प्रायः मेरो पर्समा नगद हुन्न। क्रेडिट कार्डबाटै चल्ने देश न पर्यो अमेरिका। उनको भाग्य, पर्समा एक डलर रहेछ; दिएँ।
धेरै धन्यवाद, आभारी भएँ’, उनले मस्कुराउँदै नोट च्यापिन्।
म अघि बढें। गेटबाट बाहिर निस्कदै गर्दा किन हो, एकचोटी फर्केर ती युवतीलाई हेर्न मन लाग्यो। उनी फर्केर हेर्न लायककै जो थिईन्। उनी त अर्को मानिससँग पो कुरा गर्न थालिसकेकी रहिछन्। अवश्य नै, पैसा माग्दै थिइन्, किन भने त्यो मान्छे पर्सबाट पैसा निकाल्दै थियो। म बिस्मित भएँ। उनको स्वरूप, भावभङगीमा हेरेर उनीबारे जुन धारणा बनाएको थिँए, एकछिन पनि टिकेन। गर्ल्यामगुर्लुम्मै ढल्यो। रिस भने उठेन। बैंशालु राम्रीहरुप्रति रिस पनि नउठ्ने रहेछ कि क्या हो। आफैँप्रति हाँसो चाँहि उठ्यो, कति सजिलै उल्लु भएँ भनेर। अर्को मान्छे पनि उल्लु बन्दै थियो।
त्यसको सायद एक हप्ता पछि होला। शुक्रबारको दिन थियो। अफिस छिट्टै नै खाली भयो। म निस्किएँ। गृष्म ऋतुको महिना। निलो आकाश। चहकिलो सूर्य, उष्णता त्यतिकै। यही गृष्म ऋतु न हो, मिनीसोटामा मान्छेहरु सडक- बजारमा देखिने, चहलपहल हुने। जाडो शुरु भए पछि यहाँ गाडीहरु मात्र देखिन्छन्। मान्छेहरु हराउँछन।
यो शहर निर्जन बन्न पुग्छ। ट्रेन स्टेशनतिर जाँदै गर्दा ‘किरन्स आईरिश पव’ को पेटीमा मान्छेहरु भरीभराउ देखेँ। टन्न खाई-पिई गरिरहेका, गफिईरहेका। मेरो पनि मन लोभियो। यति चाँडै अपार्टमेन्ट गएर गर्नू पनि के छ र, एक्लो मान्छे। पव भित्र छिरेँ। वेट्रेसले लगेर दुई सीट भएको खाली टेबलमा राखिन्।
‘तँपाइलाई के ल्याइदिऊँ?’ वेट्रसको प्रश्न।
‘एउटा ड्राफ्ट बियर र यो खाली कूर्चीमा एउटी तरुनी केटी।’ वेट्रेससँग मैले रमाइलो गर्न खोजेँ। उनी हाँस्दै गईन्।
म खासै पिउन सौखिन मान्छे त होइन तर कहिलेकाँही माहौलले लोभ्याउँछ। भित्तामा बडेमानको स्क्रीन थियो। ‘मिनीसोटा भाइकिंग’ र ‘ सियटल सी हक्स’ को खेल भइरहेको रहेछ। एकछिन हेरेँ तर खासै रुचि लागेन। मेरा नजर पव भित्रको वातावरण विचरण गर्दै थिए। माहौल उन्मुक्त थियो। मान्छेहरु वार्तालापमा मस्त थिए। खानपिनमा रमाइरहेका थिए। एउटी युवतीसम्म पुगेर मेरा नजर टक्क अडिए। कतै देखेको जस्तो लाग्यो। सम्झिने प्रयास गरेँ। हत्तेरी… उनी त त्यही ट्रेन स्टेशनमा मलाई उल्लु बनाउने पो रहिछन्। उनलाई देखेर मनमनै फेरि हाँसो उठ्यो। उनीसँग कुरा गर्न मन त्यसै लालायित भयो। जुरुक्क उठेँ। उनीतिर बढेँ। उनको एउटा हातमा ग्लास थियो र अर्को हातमा चुरोट।
‘सुन न, मलाई एउटा ड्रिङ्क किन्न एक डलर पुगेन, तिमी सँग छ कि?’
युवती एकछिन अक्क न बक्क भइन्। उनको निधारमा गाँठा पर्यो।
‘तिमी सायद ठट्टा गर्दै छौ। कोही पनि ड्रिंकको लागि पैसा माग्दैनन्।’
‘त्यस्तै हो, कोही ट्रेन चढ्न पैसा माग्छन्, कोही पिउनको लागि।’ मैले कटाक्ष गरेँ।
उनी एकछिन सोचमा परिन्। आँखा चहकिला भएको देखियो।
हा….हा…हा…. उनी यसरी हाँसिन् वरिपरिकाहरुको ध्यानै आफूतिर खिच्नेगरी
‘मैले बुझेँ। तिमी पक्कै पनि मैले उल्लु बनाएको धेरै मान्छेमध्ये एक हुनु पर्छ। चिन्ता नमान, आज मैले धेरै जम्मा गरेको छु, के पिउँछौ?’ उनको अनुहारमा एक किञ्चित पनि लाजको छनक थिएन। मानौ यो एउटा सामान्य कुरा हो।
‘होइन, मैले अर्डर गरिसकेको छु। तिमीलाई देखें र त्यसै खिचिएँ।’ मैले स्थितिलाई सहज बनाउने प्रयास गरेँ।
‘तिम्रो स्मरणशक्ति तीक्ष्ण रहेछ। कसरी मलाई चिन्न सकेको!’ नजिकैको स्टूल मतिर धकेलिन् र बस्न संकेत गरिन्। ‘खैर, मेरो नाम आभा हो है’, उनले हात मतिर बढाइन्। मैले पनि हात बढाएँ।
‘म चाँहि आभास। तिम्रो नामको पछाडी मात्र एउटा ‘एस’ थपिदिए पुग्छ।’
‘कस्तो संयोग है।’ उनले कक्टेलको ग्लास मेरो बियरको ग्लाससँग जुधाइन्।
‘आभा नाम त संस्कृत शब्द हो, भारत र नेपालतिर यस्तो नाम हुन्छ। तिम्रो नाम कसरी आभा भयो?” मैले सोधेँ।
‘मेरा बाबा-आमाहरु नेपालबाटै आउनुभएको हो। म चाँहि यहीँ जन्मेकी। तिमी पनि नेपाली हौ कि क्या हो?’
‘त्यस्तो लागेन र? कस्ती हुस्सु!
‘हत्तेरीका, नेपालीहरुलाई सकेसम्म नठगूँ भनेको, तिमी कसरी परेछौ। मैले त तिमीलाई मेक्सिकन भन्ने ठानिरहेको!’ उनी बेपरवाह हाँसिन्। सरल हाँसो। निश्छल!
उनलाई एकछिन हेरिरहेँ। उनी हाँस्दा अनुहारको आभा झन खुलेको लाग्यो।
‘यस्ती राम्री केटी पनि ठग हुन सक्छे?’, एउटा मनले भन्यो। ट्रेन स्टेशनमा मान्छेलाई उल्लु बनाएर पैसा जम्मा गर्न सक्छे? अनि बारमा बसेर रक्सीमा उडाउन सक्छे? यो निकै रहस्यमयी केटी हो।
‘मलाई थाहा छ, तिमी मेरोबारे के सोच्छौ भनेर। कस्ती सोमत नभएकी केटी भन्ने सोचेको हो? केही छैन सबै मलाई बिग्रिएकी केटी नै मान्छन्। मलाई केही परक पर्दैन।’ उनको अनुहारको रङ्ग अलि उड्यो।
‘होइन, कस्तो स्मार्ट रहेछौ भनेर सोच्दै छु’, म कुटनीतिक हुन खोजेँ।
उनी हाँसिन्।
‘मेरो संगत गर। तिमी पनि स्मार्ट हुन्छौ।’ उनले एउटा आँखा झिम्काइन्।
उनीसँग केही हल्काफूल्का कुरा भयो। हाँसो-ठट्टा भयो। उनीसँग नेपालीमै केही कुरा गरेँ। उनको नेपाली हाँसो उठ्दो थियो। उल्टोपाल्टो बोल्दै थिइन्। भोलीलाई हिजो भन्थिन्। अस्ती लाई पर्सी। कहिले हजुर त कहिले तिमी भन्थिन् । कहिले त तँ मै झर्थिन्। उनलाइ सायद कतै जानु थियो। निस्कने तर्खर गर्न थालिन्। मैले नाई-नाई भन्दा भन्दै उनले मेरो बियरको पैसा समेत तिरिदिइन्।
‘ल फच्छे भयो है, अबदेखि मेरो सामुन्ने नपर्नू नि। फेरि चार्ज गर्नु नपरोस्।’
फर्किने बेलामा ट्रेनको यात्राभरि आभाको बारेमा सोचिरहेँ। धेरै भएको थियो, यसरी मनमा कुरा खेल्न छोडेको, विशेषगरी कुनै युवतीको बारेमा। भइदियो के भने सँगै बियर पिएको लामो समय उनी गायब भइन्। ट्रेन स्टेशन, इरिस पब कतैतिर पनि देखिइनन्। सायद उनले आफ्मो कर्म थलो परिवर्तन गरिन् कि? उनीसँगको अघिल्लो दुई भेटको मन्द यादले मेरो दिमागमा फन्का लगाइरह्यो।
एकदिन एप्पल भ्यालीको एउटा ग्यास-स्टेशनमा उनलाई अकस्मात देखेँ। मेरो अघिल्लो पट्टिको पिक-अप ट्रकको चालकसँग कुरा उनी कुराकानी गर्दै थिइन्। हातमा एउटा ‘ग्यास क्यान’ थियो। ध्यान दिएर उनको कुरा सुने। ‘आज मैले पर्स ल्याउन बिर्सेछु। मेरो गाडीमा ग्यास सकियो। कृपया, मलाई मद्दत गर्नु हुन्छ?’, आभाको यो नयाँ तिकडम मेरा लागि कुनै नौलो थिएन। गाडीबाट ओर्लेँ।
‘हे आभा, म तिमीलाई मद्दत गर्न सक्छु?’
उनी बेगले दगुर्दैमतिर आइन् र ग्वाम्लाङ्ग अङगालो हालिन्। मानौं म उनको नजिकको साथी हुँ।
‘म भाग्यमानी रहेछु। तिमीलाई यहाँ भेटेँ। हेर न मेरो गाडी अलि पर टार्गेटको पार्किँगमा छोडेको छु। ग्यास सकिएछ। पर्स पनि ल्याउन बिर्सेछु।’
दुई हातले मेरा दुई पाखुरा समात्दै भनिन्।
‘तिमी कमसेकम मलाई त बेकुब नबनाउ आभा!’
‘कसम खान्छु, उल्लु बनाउन खोजेको होईन्।’ पत्याएन जस्तो लागेर होला उनले उनले घाँटी छोइन्।
मैले बुझेको थिएँ उनी फेरि मलाई उल्लु बनाउन खोज्दै थिइन्। मलाई सायद त्यो पनि मञ्जुर थियो। मैले उसको ग्यासको क्यान भरिदिएको भए पनि हुन्थ्यो। तर दसको नोट हातमा राखिदिँए। म हेर्न चाहन्थेँ। उनी के गर्छिन् भनेर। उनले सहजै नोट गोजीमा घुसारिन्।
‘तिमी मसँग एक कप कफी पिउँछौ?’
मैले प्रस्ताव राखेँ। तर उनले सुनेको नसुने जस्तै गरी बाटो तताइन्।
‘हे तिमीले ग्यास क्यान भरिनौ त?’ अलि चिच्याएर भनें।
‘मेरो सामुन्ने नपर्नू भनेको होइन?’ उनी खितिती हाँसिन्।
म उनीतिर लम्किएँ। बाटोमा बस लागिराखेको थियो। उनी चढ्ने बित्तिकै गुडिहाल्यो। मानौँ बस आभालाई नै कुरिरहेको थियो।
मलाई के गरूँ, के नगरूँ भयो। उनलाई यति सजिलै छोड्न चाहन्थिन् म केही थप गफिन चाहन्थेँ। फेरि भेट कहिले हो कहिले। मैले गाडी स्टार्ट गरेँ र बसलाई पछ्याँएँ। दुई-तीनवटा बिसौनीमा बस रोकियो तर उनी ओर्लिनन्। अन्ततः एप्पल भ्याली ट्रान्जीट स्टेशनमा भने उनी ओर्लिइन्।
‘हे आभा, तिमी मसँग एक कप कफी पिउँछौ?’ गाडीको झ्यालबाट टाउको निकालेर उनलाई आवाज दिएँ। उनी टक्क अडिइन्। उनी आश्चर्यमा परेकी थिइन्। म उनलाई पछ्याउछु भनेर सायद उनले सोचेकी थिइनन्।
‘तिमीलाई धेरै मिहिनेत गर्नुपर्यो’, उनले मलाई भनिन्,
किन?
‘मसँग कफी पिउन’, उनको जवाफ थियो।
‘धेरै समय होईन नि मेरी छोरी लाई स्कूलमा लिन जानु पर्छ।’
उनी मेरो गाडीमा चढिन्।
‘तिम्रो छोरी पनि छ?’ मैले यो अपेक्षा गरेको थिइन। अलि खिस्रिक्क पनि परेँ।
‘छ । म एकल आमा हुँ |
लेखक/कथाकार – पोस्तक श्रेष्ठ