तामाङ समाज कतार द्वारा बुद्ध लामा,निशान भट्टराई र प्रताप दासलाई बधाई तथा सम्मान
दोह – तामाङ समाज कतार द्वारा पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दासलाई बधाई तथा सम्मान गरिएको छ | वहाँहरु तिनै जनालाई खादा र प्रमाणपत्र सहित सम्मान गरिएको थियो |
कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन्।
उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्ध लामाले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका थिए ।
एपीवान टेलिभिजनबाट प्रसारित प्रतियोगितामा उर्लाबारी मोरङका निशान भट्टराई र झरुवारासी ललितपुरका प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भएका थिए । निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट प्राप्त गरेका थिए |