फक्ताङलुङ आइडल सिजन–२ का टपटेन छानिए

मौलिक लिम्बू गीत–संगीतको प्रवद्र्धनका लागि आयोजित गायन प्रतिस्पर्धा फक्ताङलुङ आइडल सिजन–२ को टपटेन प्रतिस्पर्धी छानिएका छन् । धरानमा सम्पन्न दोस्रो चरणको अडिसनबाट टपटेन छानिएको हो ।
टपटेनमा छानिएकाहरूमा तिर्सना नेम्वाङ, उदय बेघा, सुमन कन्दङ्वा, रोजिना थेगिम, आसबहादुर आङदेम्बे, नन्दा लिम्बू, मिजिरा सम्बाहाम्फे, बिजय बनेम, गंगा फियाक र मनिता लिम्बू रहेका छन् । यसअघि काठमाण्डौं, ललितपुर, भक्तपुरसहित लिम्बू बाहुल्यपूर्वका नौ जिल्लामा पहिलो चरणको अडिसन गरिएको थियो ।
त्यहाँबाट छानिएकामध्येबाट उत्कृष्ट दश छानिएको आयोजक फक्ताङलुङ सयङका अध्यक्ष भवानीविक्रम सम्बाहाम्फेले बताए । आगामी चासोक तङनाम (उँधौली पर्व) को अवसरमा काठमाडौंमा आइडलको फाइनल अडिसन गरिने उनले बताए । आइडल विजेतालाई नगद १ लाख, तीनवटा गीत रेकर्डका साथै विदेश भ्रमणको अवसर प्रदान गरिनेछ ।
त्यस्तै, द्वितीय हुनेलाई नगद ५० हजार र तृतीय हुनेलाई नगद २५ हजार प्रदान गरिने आयोजक संस्थाका कार्यवाहक महासचिव कञ्चन थलङले बताए । प्रतिस्पर्धीले लिम्बू गीतसँगै पालाम, ख्याली, हाक्पारे, तुहाजस्ता लिम्बू जातिको मौलिक लोकछन्द पनि अनिवार्य गाउनुपर्ने आयोजकले जनाएको छ ।