ओलीलाई माधवको प्रश्न : एमाले कसको निर्देशनमा चल्दैछ ?

काठमाडौं – एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीको गलत निर्णयले पार्टीले ठूलो क्षति व्यहोरेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा बोल्दै नेता नेपालले अध्यक्ष ओलीको चर्को आलोचना मात्रै गरेनन्, पार्टी नै विधि र विधान विपरित चलाइरहेको आरोप पनि लगाए ।
पहिलो दिनको बैठकमा आफ्नो धारणा राख्दै नेता नेपालले माओवादीसँगको एलाइन्स तोड्ने र प्रचण्डलाई प्रम नबनाउने तत्कालिन एमालेको निर्णयले सिंगो पार्टीले क्षति ब्यहोर्नु परिहेको सुनाए । ‘त्यसवेलाको निर्णयमा कमजोरी भएकै हो, स्थानीय तह निर्वाचनमा त्यसको असर प्रश्ट देखियो,’ नेपालले भने ।
नेता नेपालले गुटका आधारमा पार्टी चलिरहेको पनि बताए । उनले भने‘गुटबन्दी बढेको छ । गुट र कोटरीका आधारमा पार्टी चलेको भान भैरहेको छ । यतिसम्मकी पार्टीको बैठक विधि र विधान बमोजिम नबसी लहडका भरमा बोलाउने गरिएको छ ।’
नेता नेपालले माहाधिबेसनमा आफूलाई भोट हालेकाहरुलाई अध्यक्ष ओलीले पेल्ने गरेको बताए । उनले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा एमालेका त्यागीलाई भन्दा गुटका आधारमा बाड्दा एमालेले हार बेहोरेको भन्दै नेता ओलीको चर्को आलोचना गरे ।
यसअघि बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी विचारका आधारमा चल्ने भन्दै विधि र विधानविपरित कुनै काम नगरेको बताएका थिए ।
बैठकमा अध्यक्ष ओलीले २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । @ ratopati