मिस ग्य्राण्ड इन्टरनेशनलमा सहभागी हुन जीनस लामा तामाङ भियतनाम जाने

काठमाडौं ५ असोज– मिस ग्य्राण्ड इन्टरनेशनल प्रतियोगितामा सहभागी हुन जीनस लामा भियतनाम जाने भएकी छिन् । अक्टोबर २६ मा हुनलागेको उक्त प्रतियोगितामा बुद्धको शान्तिको सन्देश लिएर सहभागी हुन लागेको उनले जानकारी दिइन् ।
गतवर्ष मिस ग्य्राण्ड नेपाल बन्न सफल जीनस भियतनाममा हुने मिस ग्य्राण्ड इन्टरनेसनलमा नेपालबाट प्रतिनिधित्व गर्ने तयारीमा जुटेकी हुन् । प्रतियोगितामा विश्वका एकसय १० देशका सुन्दरीहरु सहभागी हुनेछन् ।
‘हिंसा र युद्ध रोकौं’ भन्ने मुल नारा लिएर प्रतियोगितामा सहभागी हुन लागेको उनले लोकान्तरलाई बताइन् । उनले भनिन् ‘अहिलेका युवाहरु युद्ध होइन शान्ति र विकास चाहन्छन् ।’
चितवन रामपुरमा जन्मेकी जीनसले चितवनको ग्राण्डी इङलिस बोर्डिङ स्कुलबाट एसएलसी गरेकी हुन् । उनले उच्च माध्यमिक शिक्षा काठमाडौंको हिमालयन ह्वाइट हाउस कलेजबाट लिइन् । उनी अहिले ह्वाइट हाउसमै पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक गरिरहेकी छिन् ।
मिस ग्य्राण्ड इन्टरनेशनलमा सहभागी हुन पाएकोमा उनी उत्साही र आत्मविश्वासी देखिएकी छिन् । ‘म अत्यन्त उत्साहित छु, देशको नाम राख्ने कोशिस गर्नेछु’ उनले भनिन् ।
अमेरिकाको लस भेगसमा गतबर्ष भएको मिस ग्य्राण्ड इन्टरनेसनलमा सहभागी हुन नपाएकी जीनसलाई आयोजकले यस वर्ष नेपालका तर्फबाट प्रतिनिधित्व गराउन लागेको हो ।
‘गतबर्ष सहभागी हुन नपाएपनि यसबर्ष शान्तिको सन्देश लिएर मिस ग्य्राण्डमा सहभागी हुँदैछु, सम्पूर्ण नेपालीहरुबाट सहयोगको अपेक्षा राखेकी छु’ उनले भनिन् ।
‘मिस ग्य्राण्ड इन्टरनेशनलको अनलाइन भोटिङ केही दिनमै शुरु हुदैछ’ उनले भनिन् । यस प्रतियोगितामा नेपालीको तर्फबाट सहयोग मिल्ने आशा राखेकी छिन् उनले ।