यस कारण पदच्युत भए आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का

काठमाडौं-नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले पदबाट पदच्युत गरेको छ । आयल निगमको पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर सहित संसदीय समितिहरुले दिएको निर्देशनका आधारमा मन्त्रिपरिषद बैठकले पदच्युतको निर्णय गरेको हो ।
नेपाल आयल निगमको जग्गा खरिदका करिव सवा अर्ब रुपैयाँ अनियमितता भएको भन्ने प्राम्भिक निष्कर्ष देखिएपनि पछि विस्तृत छानविन हुँदा त्यो रकम डेढ अर्ब रुपैयाँभन्दा बढी भएको संसदीय समितिहरुको निष्कर्ष छ ।
स्थानीय बासिन्दाबाट सस्तोमा जग्गा खरिद गरी विचौलियाको प्रयोग मार्फत महँगोमा जग्गा किनेर आरोप खड्कामाथि थियो ।त्यतिबेला प्रचलित मूल्यको ६ गुणासम्म महँगोमा जग्गा बिक्री गरिएको थियो ।
मन्त्रिपरिषदले खड्कालाई जग्गा खरिदकै अनियमितताको आरोपमा बर्खास्त गरेपछि खड्कामाथिको आरोप भने जग्गा खरिदमा सीमित छैन । आयल निगमका दर्जनौं विवादमा खड्का मुछिएका थिए ।
तीमध्ये केही उदाहरण निम्न छन् :आयल निगमले अत्यधिक नाफाका लागि कार्यविधि विपरित इन्धनको मूल्य बढाएको थियो ।विदाका दिनमा समेत मिलेमतोका कारण इन्धन अभाव बनाउन थालिएको थियो ।गुणस्तरहीन इन्धन वितरणको आरोपबाट समेत उनी मुक्त थिएनन् ।
सडक कार्यालयको प्रमुख हुँदा गरेका कामकारवाहीका कारण आयल निगममा उनको नियुक्ती समेत निकै विवादित बनेको थियो । @ कान्तिपुर |