बौद्ध भिक्षु विराथुको नामैले तर्सिन्छन् रोहिंग्या मुसलमान

नयाँ दिल्ली, १ असोज – रोहिंग्या मुसलमानको समस्यालाई लिएर अहिले विश्वभर चर्चा छ । म्यान्मारमा रोहिंग्या मुसलमानमाथि बढ्दै गइरहेको हिंसाका कारण उनीहरु विभिन्न मुलुकहरुमा शरणार्थीका रुपमा जीवन विताउन बाध्य भइरहेका छन् । केही त नेपालमा पनि शरणार्थीका रुपमा भित्रिएका छन् ।
रोहिंग्या मुसलमान किन आफ्नै देशमा पलायन हुन बाध्य छन् ?किन उनीहरु विभिन्न देशमा शरण लिन बाध्य छन् ? एक बौद्ध भिक्षु जोसँग रोहिंग्या मुसलमान तर्सिन्छन् । उनी हुन् भिक्षु विराथु ।
विराथुले धेरैपटक रोहिंग्या मुसलमान विरुद्ध आपत्तिजनक टिप्पणी गरेका छन् । जसको कारण म्यानमारमा हिंसात्मक दंगा फैलिन सहयोग पु–याएको छ ।
मुस्लिम विरोधी गुट
एक दशक अघिसम्म यी बौद्ध भिक्षुलाई कोही चिन्दैनथे । सन १९६८ मा जन्मेका अशीन विराथु १४ बर्षको उमेरमा स्कूल छाडेर भिक्षु बनेका थिए । सन २००१ मा म्यानमारमा भएको राष्ट्रवादी र मुस्लिम विरोधी गुट ९६९ सँग उनको नाम जोडिएसँगै उनी चर्चामा आएका थिए । म्यानमारमा यस संगठनलाई कट्टरपन्थी समूहका रुपमा लिइन्छ ।
२५ बर्ष जेल सजाँय
सन २००३ मा उनलाई २५ बर्षको जेल सजाँय सुनाइएको थियो । तर सन २०१० मै उनी राजनैतिक बन्दीसँगै जेलबाट छुटेका थिए । सन २०१२ मा म्यानमारको रखाइन प्रान्तमा रोहिंग्या मुसलमान र बौद्धहरुबीच हिंसा भत्किएको थियो । यसैबीच बौद्ध भिक्षुका तर्फबाट विराथुले हिंसा भड्काउने भाषण दिएका थिए ।
टाइम म्यागेजिन
सन २०१३ को टाइम म्यागेजिनमा उनको तस्वीर कभर पेजमा छापिएको थियो । यसको हेडलाइन थियो ‘द फेस अफ बुद्धिस्ट टेरर’ । विराथु भन्छन् ‘तपाइँ जति नै उदार हुनुस् तर पागलहरुसँग बस्न सक्नुहुन्न ।’ विराथुको यस बयानका कारण मुस्लिम समुदायप्रति उनको दृष्टिकोण के हो भन्ने प्रष्ट हुन्छ । उनी धेरैपटक विवादास्पद भाषणका कारण चर्चामा आए ।
८० प्रतिशत बौद्ध
म्यानमारमा ८० प्रतिशत बौद्ध धर्मावलम्बीहरु रहेका छन् भने ५ प्रतिशत मात्रै मुसलमानहरु रहेका छन् । म्यानमारमा हुने हिंसामा मुस्लिम समुदाय नै धेरै प्रताडित हुने गर्छन् । @ एजेन्सी