अमरेशकुमार सिंहको भविश्यवाणी– कांग्रेस पहिलो हुन्छ, दोस्रो- दुई दिन पर्खनोस्

२७ भदौ, काठमाडौं । नेपालको राजनीतिमा बेलाबखत चर्चामा रहने गरेका पात्र हुन् – अमरेशकुमार सिंह । पछिल्लो समयमा सिंहको चर्चामा केही कमी आउन थालेको छ । दुई नम्बर प्रदेशमा चुनावी उत्सव सुरु भइसकेका बेला हामीले सिंह कहाँ होलान् भनेर सोधखोज गर्यौं। उनी सर्लाहीस्थित आफ्नै गृहजिल्लाको चुनावी अभियानमा खटिएका रहेछन् ।
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पढेका कांग्रेस सांसद अमरेशलाई कतिपयले राजनीतिक भविश्यवेत्ता एवं ‘अक्टोपस’ को समेत संज्ञा दिने गरेका छन् । हामीले सोध्यौं– मधेसको चुनावमा कुन दल पहिलो बन्ला ?
आफू पनि कांग्रेसकै नेता भएकाले हुनुपर्छ, अमरेशले मधेसमा नेपाली कांग्रेस नै पहिलो दल बन्ने ठोकुवा गरे । ‘थोरै सीटले नै किन नहोस्, दुई नम्बर प्रदेशमा कांग्रेस नै पहिलो बन्छ, यति चाहिँ अहिले नै भन्न सकिन्छ ।’
तर, दोस्रो नि ? यो प्रश्नको चाहिँ उनले जवाफ दिन सकेनन् । सिंहले भने– ‘यसका लागि मलाई दुई दिन समय दिनुहोस् । अहिले भर्खरै नोमिनेसन भएको छ, को कता लाग्छन्, माहौल हेर्न बाँकी नै छ । नोमिनेसनका बेला धेरै मानिसहरु पार्टी परिवर्तन गरेर यताउता लागेको अवस्था छ ।’
दोस्रो स्थानका लागि मधेसमा एमाले र राजपावीच प्रतिस्पर्धा हुन्छ त ? यो प्रश्नको पनि सिंहले सपाट जवाफ दिन सकेनन् । उनले आफ्नै गृहजिल्ला सर्लाहीको उदाहरण दिँदै भने– ‘मेरो जिल्लामा कांग्रेसले बढी सीट जित्छ, मेरो निर्वाचन क्षेत्रमा कांग्रेसले चारवटा स्थानीय तह जित्छ । यहाँ माओवादीको पनि प्रभाव बढेको छ ।’
अमरेशलाई हामीले अर्को प्रश्न सोध्यौं– मधेसमा एमालेको खास स्थिति कस्तो देख्नुभएको छ ? जवाफमा उनले भने दक्षिणतर्फ एमालेको कमजोर देखिएको छ, तर हाइवेमा एमालेको प्रभाव छ । उसले हाइवेमा जित्न सक्छ ।’
मधेसमा सक्रिय रहेका सिंहसँग हाम्रो अर्को पश्न थियो– मधेस केन्द्रित दलहरुमध्ये कुनचाहिँ दल ठूलो बन्ला ? फोरम वा राजपा ?
जवाफमा सिंहले फोरमभन्दा राजपा नै ठूलो दल बन्न सक्ने सम्भावना औंल्याए ।
चुनावका बेला आफ्नै गृहजिल्लामा अड्डा जमाएर बसिरहेका सिंहलाई हामीले निर्वाचन प्रचारमा अरु जिल्लातिर पनि खट्ने कि आफ्नै जिल्लामा केन्द्रित हुने भनेर प्रश्न गर्दा उनले जवाफ दिए– ‘अब प्रदेश र केन्द्रको चुनाव आइसक्यो, मेरो निर्वाचन क्षेत्रमा खट्नुपरेन ? म त समानुपातिकमा नलड्ने, प्रत्यक्ष चुनाव लड्ने नेता हुँ !’ @ अनलाइनखबर |