गोरखपुर–सुनौली सडक दुर्घटनामा सात नेपालीको मृत्यु

रुपन्देही / रास– भारतको सुनौली–गोरखपुर सडकखण्डको देवपुरचोकमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सात जना नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय बेलहीयाका प्रहरी निरीक्षक रविन विष्टका अनुसार मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ ।
त्यस्तै चार जनाको पहिचान खुल्न सकेको छैन । प्रहरी निरीक्षक विष्टका अनुसार मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका १७ का ३० वर्षीय जुखई थारू, सोही स्थानका २४ वर्षीय उमेश चौधरी रहेका छन् । त्यस्तै भारतीय सेनाका पूर्वसुवेदार ओखलढुंगा जिल्ला साबिकको उगु गाविस–३ का अन्दाजी ६०–६५ वर्षीय जगतबहादुर अधिकारीको सनाखत भएको छ । उनी भारतको देहरादुनदेखि पर्किंदै गरेका थिए ।
त्यस्तै मृत्यु हुनेमा चालक भारत महाराजगन्ज जिल्ला सुनौलीका अब्दुल हफिज भन्ने रहिम खान रहेका छन् । मृत्यु भएका चार नेपालीको सनाखत हुन सकेको छैन । प्रहरी निरीक्षक विष्टका अनुसार एक पुरुष, एक महिला तथा ५ र ३ वर्षीया दुई बालिकाको सनाखत हुन सकेको छैन ।
भारतको गोरखपुरबाट नेपाली लिएर सुनौलीतर्फ आइरहेको यूपी–५३ सिटी ७२०२ नम्बरको टाटा इन्डिगो कारलाई सुनौलीबाट गोरखपुरतर्फ जाँदै गरेको यूपी ५२ टी ४३७७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो । ट्यांकरको ठक्करबाट कारमा सवार सबै आठ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनास्थल रुपन्देहीको सदरमुकाम भैरहवाबाट लगभग ३५ किलोमिटर टाढा पर्छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलहियाबाट नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गएको थियो । नेपाल प्रहरीले भारतीय प्रहरीसँगको सहकार्यमा मृतक नेपालीको पहिचान गरी शव ल्याउने तयारी गरिरहेको प्रहरी निरीक्षक विष्टले राजधानीलाई जानकारी दिए ।