देशभित्र प्रताप दासलाई सबैभन्दा बढी भोट, देश बाहिरबाट बुद्ध लामालाई बढी भोट

अन्ततः नेपाल आइडलले टप थ्री पाएको छ। अदालतसम्म पुगेको विवादका बीच सागर आले आउट भएसँगै अब पहिलो नेपाल आइडलका लागि बुद्ध लामा, प्रताप दास र निशान भट्टराईले प्रतिस्पर्धा गर्ने भएका छन्। काठमाडौँ जिल्ला अदालतले मुद्दा हाल्ने व्यक्ति करारको एक पक्ष नभई सार्वजनिक सरोकारको विषयका रुपमा निवेदन दिएको भन्दै नेपाल आइडलविरुद्धको मुद्दा खारेज गरिदिए पनि कसले कति भोट पाएको भन्ने लिक भएको छ। आयोजकले अदालतमा बुझाएको भन्दै अनलाइनखबरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बुद्ध लामालाई सबैभन्दा बढी भोट आएको छ भने प्रताप दास दोस्रो र निशान भट्टराई तेस्रो भएका छन्। भोटिङ नेपालभित्र एसएमएसबाट र नेपाल बाहिर एपबाट अनलाइन लिइएको थियो। नेपालभित्र र नेपाल बाहिरको भोटिङ प्याटर्न भने फरक देखिएको छ।
नेपालभित्रबाट अर्थात् एसएमएसबाट सबैभन्दा बढी भोट प्रताप दासलाई गएको छ। प्रताप दास सबभन्दा धेरै पटक डेन्जर जोन र बटम टुमा परिसकेका प्रतिस्पर्धी हुन्। तर गत साता उनले एसएमएसबाट सबैभन्दा बढी ७ लाख १४ हजार ९९९ भोट पाएको अनलाइनखबरले लिक गरेको तथ्याङ्कमा उल्लेख छ।
रोचक के छ भने नेपाल बाहिर अर्थात् अनलाइन भोटिङमा भने प्रताप दासलाई सबैभन्दा कम भोट परेको छ। उनले अनलाइन भोटिङमा १ लाख ७८ हजार ३४८ भोट मात्रै पाए जुन कि निकट प्रतिस्पर्धी भन्दा झण्डै दुई लाखले कम हो। यसले प्रताप दास नेपालमा लोकप्रिय भए पनि उनले विदेशका दर्शकको भने भोट आकर्षित गर्न अझै मेहनत गर्नुपर्ने देखिन्छ।
नेपालभित्र दोस्रो स्थानमा बुद्ध लामा रहे। उनले ६ लाख ९१ हजार ५७ मत पाए। निशान भट्टराईले ५ लाख ३३१ र सागर आलेले ४ लाख १९ हजार ८७५ मत पाएको देखिन्छ।
नेपाल बाहिरबाट बुद्ध लामा पहिलो, सागर आले दोस्रो, निशान भट्टराई तेस्रो र प्रताप दास चौथो भएको देखिन्छ। अन्तर्राष्ट्रिय भोटिङमा दोस्रो स्थानमा रहेका सागर नेपालभित्र कम एसएमएस मत पाएका कारण बाहिरिए।
निशान भट्टराई भने नेपालभित्र र बाहिर दुवै भोटिङमा तेस्रो स्थानमा रहेका छन्।
यस्तो छ अनलाइनखबरले लिक गरेको तथ्याङ्क-
माथिको भोट नेपालभित्रबाट आएको भोट अर्थात् एसएमएस भोटको तथ्याङ्क हो। तलको भने अन्तर्राष्ट्रिय भोट अर्थात् अनलाइन एपबाट आएको भोट हो |@mysansar