हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

गोली ठोक्लान् भनेर पिसाब पनि फेरिएन : रञ्जित तामाङ

विद्यार्थी राजनीतिमा दुई दशक

रञ्जित तामाङको विद्यार्थी राजनीति स्कुलबाटै सुरु भयो । ०५५ मा स्कुल पढ्दादेखि अनेरास्ववियु  (क्रान्तिकारी)मा संगठित भएका उनी झन्डै दुई दशकसम्म कतै मोडिएनन् । एउटै संगठनमा रहेर विद्यार्थी राजनीतिको ‘लङ रेस’मा उनी अन्ततः अध्यक्ष पदमा पुग्न सफल भए, त्यो पनि चुनावै लडेर । अखिल क्रान्तिकारीको इतिहासमै तामाङ यस्ता अध्यक्ष हुन्, जो आशीर्वादको टीका लगाएर होइन, विद्यार्थी प्रतिनिधिको भोट पाएर अध्यक्ष भएका छन् । संगठनको साधारण सदस्यबाट अध्यक्षको पदसम्म आइपुग्दा तामाङको जीवनमा कैयौँ मोड आए । नयाँ पत्रिकाका भवानीश्वर गौतमसँग उनले ती मोड सम्झिएका छन् :

विद्यार्थी राजनीतिको यात्रा

विद्यालयमा पढ्दै गर्दा ०५५ मा अनेरास्ववियु (क्रान्तिकारी)मा प्रवेश गरेको थिएँ । झापा जिल्लाको तत्कालीन तोपगाछी गाविस–३ मा रहेको महेन्द्ररत्न माविमा कक्षा ८ मा पढ्दा अखिल क्रान्तिकारीमा संगठित भएँ । त्यसको एक वर्षमै ०५६ बाट क्षेत्रीय समिति सदस्यको जिम्मेवारी पाएँ । एसएलसी पासपछि महेन्द्र मोरङ क्याम्पसमा भर्ना भएँ । त्यहाँ इकाई समिति सदस्य भएँ । ०५८ मा झापा जिल्लाको सदस्य हुँदै पूर्णकालीन कार्यकर्ता भएँ ।

०५८ मा संकटकाल लाग्दा हामीमाथि राज्यको निगरानी थियो । १९ पुसमा गिरफ्तार नै गर्‍यो । झन्डै १८ महिना जेलमा राख्यो । २९ वैशाख ०६० मा जेलमुक्त गरिदियो । यसै वर्ष संगठनको सम्मेलन आयोजक कमिटी सह–संयोजक हुँदै जिल्ला समिति सचिवसम्मको जिम्मेवारी प्राप्त भयो । ०६१ मा संगठनको झापा जिल्ला अध्यक्ष भएँ । ०६१ मै केन्द्रीय समिति सदस्य हुँदै ०६३ मा काठमाडौं जिल्ला अध्यक्ष भएँ । काठमाडौं जिल्लामा अध्यक्ष र इन्चार्ज गरी चार वर्ष भूमिका निर्वाह गरे । ०६७ मा केन्द्रीय सचिवको जिम्मेवारी मिल्यो । ०७१ देखि संगठनको उपाध्यक्ष भएर सक्रिय रहँदै आउँदा अहिले २१औँ राष्ट्रिय सम्मेलनबाट साथीहरूले केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनुभयो ।

वामपन्थी पारिवारिक पृष्ठभूमि

वामपन्थी पृष्ठभूमि भएको परिवारमा जन्म भयो । मोरङको चर्चित झोरा काण्डमा बाबुले झन्डै आठ वर्ष जेलमा बिताउनुभयो । स्कुलमा पनि शिक्षकहरूसँग मेरो राम्रो संगत थियो । धेरै शिक्षक एमालेमा आबद्ध हुनुहुन्थ्यो । उहाँहरूले मदन भण्डारीका भाषण सुनाउनेदेखि विभिन्न कार्यक्रममा सहभागी गराउनुहुन्थ्यो । उहाँहरूको आदेशमा पार्टीका झण्डा गाड्दै हिँड्ने काम पनि गरियो । विद्यार्थी जीवनमा हामी त्यही पृष्ठभूमिबाट आकर्षित भयौँ |

१७ वर्षको उमेरमा जे भोगेँ

विद्यार्थीकालको राजनीतिक जीवनमा बिर्सिनै नसक्ने केही घटना भए । संकटकाल लागेपछि तत्कालीन राज्यले अखिल क्रान्तिकारीलाई आतंककारीको बिल्ला लगायो । हाम्रा मूल पार्टीका नेताहरूको टाउकोको मूल्य नै तोक्यो । त्यस अवधिमा म सानै भएकाले संकटकाल के हो भन्नेसम्म थाहा थिएन । पार्टीको प्रशिक्षण पनि त्यति थिएन । संकटकाल लाग्यो भनिसकेपछि माओवादी, अखिल क्रान्तिकारी देख्नेबित्तिकै प्रहरी, सेनाले जुनसुकै वेला गोली चलाउँछ भनेर आतंकको वातावरण सिर्जना भएको थियो । जताततै भय र आतंक थियो । त्यो समयमै म जेल परेँ ।

जेलजीवन धेरै कष्टमय भयो । म महेन्द्र मोरङ क्याम्पसबाट ०५८ पुसमा अघिल्लो दिन मात्र गाउँ गएको थिएँ । आफन्तको घरमा सुतिरहेको थिएँ । बिहान उठ्दा चारैतिरबाट सेना प्रहरीले घेरिरहेका रहेछन् । मलाई उनीहरूले चिने । त्यो समयमा धेरै दुःख दिए । मसँग हातहतियार रहेको आरोप लगाए । उनीहरूले ‘तेरा नेताहरूबारे सुराकी दे’ भन्दै धेरै दुःख दिए । असाध्यै धेरै शारीरिक र मानसिक याताना पाएँ । पक्राउ परिसकेपछि प्रहरीको ड्रेस लगाएर हिँड्न लगाए । आत्मसमर्पण गर्न भने । म विद्यार्थी हुँ केही गल्ती गरेको छैन भन्दा पनि छाडेनन् ।

जेलजीवन रोएर बित्यो

१७–१८ वर्षको त्यो उमेरमा निकै आतंकित भएँ, म । हिरासतमा रहँदा धेरै रोएँ । त्यतिखेर मधेसी मूलका एकजना प्रहरी थिए । उनले मलाई जेलमा यातना हुँदैन भनेर सान्त्वना दिए । तर, मलाई उनको बोलीको भर नै लाग्दैनथ्यो । हिरासतमा म धेरै बोलिनँ । अग्रजहरूले धेरै बोल्नुहुँदैन भनेर पहिशशशै सम्झाउनुभएको थियो ।

१७-१८ वर्षको उमेरमा जेलजीवन अकल्पनीय नै भयो । जेलमा पनि धेरै रोएँ । जेलका नाइकेहरूले मलाई सुरुमै नियम सुनाए । भोलिपल्ट बिहान ४ बजे नै उठाउन आए । जेलमा जो सबैभन्दा पछि आएको छ, उसैले सरसफाइलगायत काम गर्नुपर्ने रहेछ । मैले भनेअनुसार काम गरेँ । तीन–चार दिन काम गरेपछि जेलमा कहिले नयाँ मान्छे आउला भन्नेसम्म लाग्यो । कतिपयले मलाई धेरै सम्झाए । यति सानो उमेरमा किन माओवादी भएको भन्थे । खुरुखुरु पढ्नु पो पर्छ भन्थे ।

तीन–तीन महिनामा थुनामुक्त गरेको बहाना गथ्र्यो । तर, पुनः प्रहरी हिरासत पुर्‍याउँथ्यो र फेरि जेलमै ल्याउँथ्यो । मैले ६ चोटिसम्म हिरासत र जेलको ओहोर–दोहोर नाटक भोगेँ ।

भिडन्तका नाममा मार्ने डरले पिसाब गरिनँ

१५ माघ ०६० मा बाबुराम भट्टराईको नेतृत्वमा दोस्रो वार्ता समिति बन्यो । उहाँहरू कीर्तिपुरबाट सार्वजनिक हुनुभयो । त्यसपछि हामीमा उत्साह थपियो । माओवादीका मुद्दाहरू पुनरावेदन अदालतले हेर्ने भनियो । हामीले पनि अदालत जाने निर्णय गर्‍यौँ । सुरुमा सँगै भएका बन्दीमध्ये सातजना पुरावेदन अदालत जाने निर्णय गर्‍यौँ । पुनरावेदन गएर रिहा भएकामध्ये दुईजनालाई नक्कली मुद्दा लगाइयो । यातनाका कारणले उहाँहरू डिप्रेसनमा पर्नुभयो ।

जेलनजिकै रहेको लाइब्रेरीमा कसैले कम्युनिस्ट विचारधाराका पुस्तकहरू पढेको छ भने प्रशासनले खोस्ने गथ्र्यो । हामीलाई असाध्यै मानसिक यातना दिइएको थियो । त्यही क्रममा २१ चैत ०६० मा मलाई पुनरावेदन अदालत इलाम झिकायो र रिहा गर्न आदेश दियो । तर, अदालत परिसरभित्रै लखेटेर प्रहरीले पुनः पक्राउ गर्‍यो । त्यो दिन अब मलाई पनि नक्कली मुद्दा लगाएर यातना दिन्छ भन्ने लाग्यो । सुरुमा इलामको जिल्ला प्रहरी कार्यालयमा राख्यो । तर, राति झापा लैजाने भन्यो । मेरो मनमा डर पस्यो । राति झापा लाने क्रममा दोहोरो भिडन्तको नाममा मलाई बाटोमै गोली ठोकेर मार्छन् कि भन्ने लाग्यो । झापासम्म लैजाँदा बाटोमा मनमा धेरै कुरा खेले ।

त्यतिखेर पिसाबले च्यापेको थियो । तर, जबर्जस्ती रोकेँ । भाग्न खोजेको बहानामा सिध्याउलान् भन्ने डरले पिसाबको पीडा दबाएर राखेँ । बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय झापाको हिरासत पुर्‍यायो । त्यो हिरासतमा अन्य माओवादी बन्दी थिएनन् । केही मादक पदार्थ सेवन गरेका व्यक्ति थिए । उनीहरू मलाई थर्काउँथे । भोक खुबै लागेको थियो । त्यसो त बाटोमा प्रहरीले समोसा र तरकारी दिएका थिए । तर, खाएको थिइनँ । विष मिसाएर मार्न खोजेको हो कि भन्नेसम्म सोच्न पुगेँ । झापा प्रहरी कार्यालयमा पुगेपछि भोक लागेको कुरा सुनाएँ । उनीहरूले भात ल्याइदिए । पत्रिकाले छोपेर ल्याएको भातमा १०–१२ वटा साङ्ला मरेका रहेछन् । भोक लागे पनि खान सकिनँ । अब भोकले भन्दा पीडाले मलाई बढी सतायो । त्यो घटनामा आँसु थाम्न सकिनँ । खाना लिएर आउने प्रहरीले माथि–माथिको फालेर खान भन्यो । तर, मैले खाइनँ ।

बाबु रुँदा मेरो पनि मन रोयो

म हिरासतमै हुँदाको अर्को घटना बिर्सिन सक्दिनँ । मलाई आफ्ना बाबु कडा स्वभावको लाग्थ्यो । बाबु रोएको कहिल्यै देखेको थिइनँ । तर, झापाको जेलमा मलाई भेट्न बाबु आउनुभयो । उहाँलाई गेटमा बोलाइयो । उहाँले मलाई कस्तो छ भनेर सोध्नुभयो । मैले परीक्षा आउँदै छ, तयारी गरिरहेको छु भनेँ । फर्किने वेलामा उहाँ नराम्रोसँग रुनुभयो । बाबुको आँखामा पहिलोचोटि आँसु देख्दा मेरो मन पनि रोयो ।

१७–१८ वर्षको त्यो उमेरमा खासै राजनीति बुझेको थिइनँ । तर, परिवर्तनका लागि हामी लड्नपर्छ भन्ने लागेको थियो । समाजमा रहेका समस्याविरुद्ध हामीले आवाज उठाउनुपर्छ, सबै खालका चुनौतीसँग लड्नुपर्छ भन्ने लागेको थियो । म मानसिक रूपमा तयार भएको थिएँ । मेरा सरहरू नै पूर्णकालीन कार्यकर्ता भएर लाग्नुभएको थियो । त्यसैले पनि म तयार भएर लागेको थिएँ ।

ऐतिहासिक नेतृत्व पाएँ

समाज रूपान्तरणका लागि हिँडिरहेको अवस्थामा हाम्रो संगठनमा यसअघि आवश्यकताका आधारमा सर्वसम्मत नेतृत्व चयन हुँदै आएको थियो । तर, पछिल्लो चरणमा भने संगठनात्मक सवालमा केही प्रश्न उठेका थिए । संगठनमा नातावाद, कृपावाद, टीकेप्रथालगायत प्रश्न थिए । विद्यार्थीबाट नचुनिएको विद्यार्थी नेतृत्व, शैक्षिक परिवर्तनप्रति उत्तरदायी हुँदैन भन्ने आरोप थियो ।

१८औँ राष्ट्रिय सम्मेलनबाटै नेतृत्व चयनका लागि नयाँ विधि र प्रक्रियाबाट जानुपर्छ भन्ने विषयमा संगठनभित्र छलफल भइसकेको थियो । १९औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचन प्रक्रियामा जाने निर्णय गरेका थियौँ । तर, कार्यान्वयन गर्न सकेनौँ । तलबाट कार्यान्वयन गर्दै आउने कि माथिबाट भन्ने बहसमा थियौँ । यसपटक माथिबाटै कार्यान्वयनमा जाऔँ भन्ने निर्णय भयो । प्रतिस्पर्धी साथीहरूले पनि पार्टीसमक्ष साझा प्रतिबद्धता राख्यौँ । स्वस्थ र मर्यादित निर्वाचनमा जान्छौँ र हार वा जित स्वीकार गर्छौं भन्यौँ । पार्टी नेतृत्व ‘कन्भिन्स्ड’ भयो । संगठनमा पहिलोपटक निर्वाचन प्रक्रियाबाट प्रतिनिधिको मतले पदाधिकारी र सदस्यहरू निर्वाचित हुने परिस्थिति बन्यो । यो ऐतिहासिक थियो । ऐतिहासिक निर्वाचनबाट नेतृत्वमा पुग्न पाउँदा खुसी लागेको छ । विद्यार्थी प्रतिनिधिले विश्वासका साथ जिम्मेवारी दिनुभयो । मबाट संगठनले खोजिरहेको अपेक्षा पूरा गर्न सशक्त भएर लाग्नेछु ।

आफैँलाई मूल्यांकन गर्दा

अखिल क्रान्तिकारीमा मलाई साथीहरू ‘एक्सन ओरिएन्टेड’ व्यक्तिका रूपमा बुझ्नुहुन्छ । मैले संगठनमा अहिलेसम्म जे जिम्मेवारी पाएको छु, त्यसलाई राम्रोसँग सम्पन्न गरेको छु । संगठनमा आफ्ना विषय स्पष्ट रूपमा राख्न सक्ने व्यक्ति पनि हुँ । संगठनलाई चुस्त–दुरुस्त बनाएर शैक्षिक आन्दोलनको नेता संगठन बनाउन सक्ने विषयमा मैले आफ्ना एजेन्डा पनि राखेको थिएँ । त्यसकै आधारमा नेतृत्वमा छान्नुभयो भन्ने मलाई लाग्छ ।

रचनात्मक आन्दोलन र समृद्धि अबका एजेन्डा

नेपालको विद्यार्र्थी आन्दोलन पनि राजनीतिक अवस्थासँगै परिवर्तित हुनुपर्ने आवश्यकता छ । हिजो केन्द्रीकृत शासन र निरंकुशताविरुद्ध लड्दाको विद्यार्थी आन्दोलन र अहिले संघीयता, शासकीय स्वरूप परिवर्तन भएको वेलामा फरक हुनुपर्छ । विद्यार्थी संगठनको चरित्र फरक हुनुपर्छ । अब विद्यार्थी आन्दोलन रचनात्मकता र देशको समृद्धिका लागि केन्द्रित हुनुपर्छ । अहिले राजनीति फोहोरी खेल हो, यसको आवश्यकता नै छैन भने मनोविज्ञान तयार पारिँदै छ । राजतन्त्र टिकाउनका लागि यो कुराबाट बढी प्रशिक्षित गरियो ।

कुलीनतन्त्र कहिल्यै विद्यार्थीको पक्षमा थिएन । विद्यार्थी संगठनमा धेरै आकर्षण नरहेको होइन । सरकारी शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीमा राजनीतिप्रति आकर्षण छ । विद्यार्थी राजनीतिमा विकषर्ण पैदा हुनुमा परिर्वतनविरोधीले त्यस्तै वातावरण सिर्जना गर्नु हो ।

म विद्यार्थीका हक–हितका मुद्दा, संविधानमा उल्लेख भएका अधिकारलाई कार्यान्वयन गराउने पक्षमा छु । विद्यार्थीलाई संगठित गर्ने र रचनात्मक ढंगबाट अगाडि लैजाने सोचमा छु । विद्यार्थी आन्दोलनलाई सत्तापक्ष होइन, प्रतिपक्ष धारमा लैजाने, राष्ट्रियता र जनजीविकाको पक्षमा जहिले पनि पहरेदार भएर उभिने, सार्वजनिक शैक्षिक संस्थाको सुधार र पुनःसंरचना गर्नेमा मेरो जोड हुन्छ । बढ्दो निजीकरण र व्यापारीकरणको समस्या हल गर्न सरकारी शैक्षिक संस्थामा लगानी गर्ने, सरकारीमा पनि प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने, बेरोजगार जनशक्तिलाई रोजगार बनाउन सरकारलाई पहल गर्नेमा मेरो संगठनको जोड रहन्छ । शैक्षिक ऋणको निर्णय भए पनि कार्यान्वयन भएको छैन । कार्यान्वयनका लागि म पहल गर्नेछु । समग्रमा अखिल क्रान्तिकारीलाई एक नम्बरको संस्था बनाउने र यस संस्थालाई समग्र क्रान्तिकारी विद्यार्थीको संगठन बनाउने लक्ष्य राखेको छु ।@nayapatrika

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution