काठमान्डू नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

त्रिभुवन विश्वविद्यालयले एमबीबीएस अध्यापन गराउन पाउने गरी काठमान्डू नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गर्ने निर्णय गरेको छ।
अस्पताल संचालनको अनुमति नै नपाएको कलेजलाई नियम विपरित मेडिकल शिक्षाको अनुमति दिएको भन्दै विरोध भएपछि गठन भएको छानबिन टोलीको प्रतिवेदनका आधारमा खारेजीको निर्णय गरिएको बताइएको छ।
यसअघि त्रिभुवन विश्वविद्यालयले सर्वोच्च अदालतको आदेशको कार्यान्वयन भन्दै उक्त कलेजलाई एमबीबीएस अध्यापनको अनुमति दिएको थियो। सो कलेजमा न बिरामी, न डाक्टर, न कुनै सुविधा रहेको भन्दै उसलाई दिएको सम्बन्धनको सबैतिर आलोचना भैरहेका बेला त्रिभुवन विश्वविद्यालयले आफ्नो पहिलेको निर्णयलाई बदलेको छ।
त्रिविले गठन गरेको छानबिन समितिको प्रतिवेदन पछि बुधबार बसेको परिषद बैठकले त्यस्तो निर्णय गरेको बताइएको छ।छानबिन समितिको प्रतिवेदनमा काठमान्डू नेशनल मेडिकल कलेजमा कमजोरी देखिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले बताए।
उनले भने, “स्थलगत अनुगमन गर्दा खेरि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट अनुमति पनि नलिएको प्रमाण पाइयो। मेडिकल कलेज भनिएको थियो, तर त्यहाँ पूर्वाधार पनि मापदण्ड अनुरुप नभएको पाइएका कारणले हामीहरुले खारेज गरेका हौं।” यसअघि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उसलाई सम्बन्धनको अनुमति दिइएको त्रिवि पदाधिकारीहरुले बताएका थिए।
परिषदले गरेको निर्णयको जानकारी सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय, प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयलाई गराइसकिएको बताइएको छ।
काठमान्डू नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन फिर्ता नलिए बुधबारदेखि पुन: अनशन बस्ने चेतावनी दिएका डाक्टर गोविन्द केसीले सम्बन्धन खारेज गर्ने माग पुरा भएको भन्दै अहिलेका निम्ति अनशन नबस्ने बताएका छन्।
डाक्टर केसीका एकजना सहयोगी डा. अभिशेकप्रताप सिंहले भने ” चिकित्सा शिक्षा विधेयक बाहेकका सबै अरु मागहरु पुरा भएको हामीले ठानेका छौं। विधेयकमा हामीले राखेका बुँदाहरु समेटेर अगाडि बढने कुराको मोटामोटी सहमति भएकाले हाललाई अनसन नबस्ने निर्णय गरिएको हो।”
काठमान्डू नेशनल मेडिकल कलेजको सम्बन्धन खारेजीको निर्णय तथा त्रिविले प्रयोग गर्दै आएका सम्बन्धन, विद्यार्थी भर्ना र शुल्कसम्बन्धी अधिकारहरु चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा फिर्ता गर्न त्रिविलाई पठाइएको निर्देशनको पत्र शिक्षामन्त्रालयले डा. केसीलाई उपलब्ध गराए पछि उनले अनशन नबस्ने निर्णय लिएको बताइएको छ।@बीबीसीनेपाली |