आफुलाई मार्न नेपालबाट सार्पसुटर ल्याइएको विनय तामाङको आरोप
गोर्खा जनमुक्ति मोर्चाबाट निकालिएका विनय तामाङले आफुलाई मार्न नेपालबाट सार्पसुटर ल्याइएको आरोप लगाएका छन् । अध्यक्ष विमल गुरूङले दलबाट आधिकारिक रूपमा अनित थापा र उनलाई निकालिएको घोषणा गरे पनि तामाङले स्वीकारेका छैनन्।
तामाङले दिल्लीमा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई पत्र लेख्दै आफू अझसम्म मोर्चाको आन्दोलन संयोजक रहेको अनि आन्दोलनलाई संवादमा लैजान राज्य सरकारसँग संवादको ढोका खोलेको दाबी गरेका छन्। आफूले पश्चिम बङ्गाल सरकारसित संवादको बाटो खोल्ने बित्तिकै आफ्नै पार्टीबाट आफू असुरक्षित रहेको तामाङले बताए।
‘अहिले मेरो ज्यानको खतरा छ। मलाई मार्न नेपालबाट सार्पसुटरहरू ल्याइएकोछ,’ तामाङले भने, ‘यसैकारण मेरो घरमा बङ्गाल प्रहरीले सुरक्षा व्यवस्था गरेको हो।’ तामाङ आइतबार प्रहरीको सुरक्षामा दार्जीलिङ चोकबजार निस्किए। दार्जीलिङ प्रेस गिल्डमा पत्रकार सम्मेलन गरेर घर फर्किए।
तामाङले मोर्चाकै नेताको हैसियतमा चाडैँ गोर्खाल्यान्डबारे वार्ता गर्न आफ्नो टोली दिल्ली जाने बताए । ‘पार्टीको विधानविपरीत लिइएको निर्णयलाई कसरी स्वीकार गर्न सकिन्छ? यसैले अहिले पनि गोजमुमो केन्द्रीय समितिको मुख्य समन्वयक मै हुँ।’
तामाङले आन्दोलनलाई गणतान्त्रिक चरित्र दिने भन्दै बन्द स्थगित गर्ने आशय प्रकट गरे । ‘अहिलेसम्म विमल गुरूङको धम्कीका कारण पहाड खोलिन सकेको छैन। यदि अब केही दिनभित्र पनि बन्द नखोलिए म युवालाई ल्याएर पहाड़ खुल्ला गर्नेछु,’ तामाङले भने।
बिहिबार कडा पुलिस सुरक्षाबीच खरसाङ पुगेर तामाङ जनसभामा सहभागी बनेका थिए । जनसभापछि उनैले १२ सेप्टेम्बरको दिन सिलगढीमा राज्य सरकारका अधिकृतहरूसित हुने बैठकलाई केन्द्रित गर्दै ८० दिन पुगेको अनिश्चितकालीन बन्दलाई १२ दिनका लागि स्थगित गर्ने घोषणा गरेका थिए।त्यसलगत्तै गोर्खाल्याण्ड समर्थकले उनको पुत्ला जलाउनुका साथै उनि विरुद्द नाराबाजी गरेका थिए । @ न्युज२४नेपाल |