मधेशका दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

भाद्र १६, २०७४- जिल्लामा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।बिहीबार रौतहट जिल्लाका चार स्थानमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राजपा, लोकतान्त्रिक फोरम, नेपाल परिवार दल, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी नेता, कार्यकर्ता पार्टी प्रवेश गरेका माओवादी केन्द्रले जनाएको छ ।
माओवादीको दाबी अनुसार गौरमा गौर उद्योग वाणिज्य संघका सचिव मुनिल कुमार ठाकुरको नेतृत्वमा विभिन्न क्षेत्रका २ सय जना, राजपुरमा एमाले नेता शेख जावेर अलि, राजपा नेता अच्छेलाल साह, कांग्रेस नेता इसा महम्मद, कांग्रेस नेता महादेव साहलगायत १७ सय, गरुडामा आयोजना गरिएको प्रवेश कार्यक्रममा राजपाका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष शेरनुरुल होदा, जिल्ला उपाध्यक्ष मायादेवी जैसवाल, एमालेका संघीय मामिला सदस्य सुधिर यादव, एमाले जिल्ला कमिटी सदस्य देवकी नेपाल, नेपाल परिवार दलका केन्द्रीय सदस्य नथुनी चौधरी, राजपा महिला जिल्ला अध्यक्ष मीना जैसवाललगायत १२ सय नेता कार्यकर्ता प्रवेश गरेका छन् ।
त्यसै गरी कनकपुर नगरपालिकामा आयोजित चुनावी सभामा ५ सयजना स्थानीय नेता—कार्यकर्ता माओवादी प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल, नेता मातृका यादव, सहरी विकासमन्त्री प्रभू साहलगायतले पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले हिमाल, पहाड र मधेस मिलेर बनेको नेपालको राष्ट्रिय एकताका पक्षमा उभिन सबैलाई अपील गरे ।