के युद्ध निम्ताउँदैछ उत्तर कोरिया ?

काठमाडौं १४ भदौ– कोरियाली प्रायद्वीपमा फेरि तनावको संकेत देखिदैछ । जापानको आकाश माथिबाट उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि कोरियाली प्रायद्वीपमा युद्धको सन्त्रास बढेको छ ।उत्तर कोरियाको उक्त कदमको जापान र अमेरिकाले कडा प्रतिक्रिया दिएका छन् । उत्तर कोरियाको कदमको विरुद्ध राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालिन बैठक बोलाउन उनीहरुले माग गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया बिरुद्धको कार्वाहीका सबै विकल्प खुला भएको प्रतिक्रिया दिएका छन् ।
मंगलवारको घटनापछि रसियाले समेत प्रतिक्रिया जनाउदै चिन्ता व्यक्त गरेको छ । उत्तर कोरियाका यसअघिका क्रियाकलाप दक्षिण कोरिया बिरुद्ध लक्षित थिए । मंगलवार भने उत्तरले जापानलाई समेत जिस्काएको छ । यसले उत्तर एक्लिदै गएको र उत्तर कोरिया बिरुद्धको गठबन्धन बलियो बन्ने संकेत दिएको छ ।
यसअघि पनि अन्तर्राष्ट्रिय समुदायको चेतावनी र प्रतिबन्धका बाबजुद उत्तर कोरियाले चारवटा ब्यालिस्टिक क्षेप्यास्त्र सी अफ जापानमा प्रहार गरेको थियो । दक्षिण कोरिया र अमेरिकाको वार्षिक संयुक्त सैन्य अभ्यासको तयारीको प्रतिक्रियास्वरूप उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको थियो । सोही घटनापछि अमेरिकाले दक्षिण कोरियामा क्षेप्यास्त्र सुरक्षा प्रणाली थाड जडान गरेको थियो ।
यसअघि क्षेप्यास्त्र प्रहारगर्दा उत्तर कोरियाले जापानमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरेको प्रतिक्रिया दिएको थियो ।
उत्तर कोरियासँग सीमा जोडिएको चीनलाई भने पछिल्लो घटनाक्रमले ठूलै चिन्ता दिएको छ । उत्तर कोरियाका अल्लारे शासक किम जोङ उनका उत्ताउला क्रियाकलापले उत्तरको घनिष्ट मित्र चीन समेत टाढिदै गएको विश्लेषण गर्न थालिएका छन् ।
कोरियाली प्रायद्वीपमा बढ्दै गरेको तनावलाई मत्थर पार्न चीनले भरमग्दुर प्रयास गरिरहेको छ । मंगलवारको घटनापछि भने चीनले प्रतिक्रिया जनाएको छैन् ।
कोरियाली प्रायद्वीप पहिलेदेखि नै चीनको टाउकोदुखाइ रहिआएको छ । त्यहाँ स्थिरता र शान्ति होस् भन्ने चीनको चाहना छ । दुई कोरियाबीच एकता होस् अनि प्रायद्वीप स्थिर र आणविक हतियाररहित होस् भन्ने चीनको मनसाय हो ।
चीनले उत्तर कोरियालाई अमेरिका तथा उसका सहयोगीहरूविरुद्धको ‘बफर जोन’का रूपमा लिएको छ । उत्तर कोरियाली आणविक परीक्षणरूपी उट्पट्याङ गतिविधि गरेर अमेरिकालाई संवेदनशील क्षेत्रमा निम्त्याएकोमा चीन चिढिएको छ ।
कोरियाली प्रायद्वीपमा अस्थिरताको स्थितिले अमेरिकालाई चाहिँ फाइदै भएको विश्लेषण गरिएको छ । चीनले अघि बढाएको महत्त्वाकांक्षी रेशम मार्ग परियोजनामा भाँजो हाल्न पनि अमेरिकाले कोरियाली प्रायद्वीपमा अस्थिरता चाहेको विश्लेषण हुने गरेका छन् ।