दोक्लामबाट भारतीय सेना फिर्ता गर्ने निर्णयको भुटानद्वारा स्वागत

काठमाडौं । चीन सीमावर्ती दोक्लामबाट भारतीय सेना फिर्ता गर्ने निर्णयको भुटानले स्वागत गरेको छ । भुटानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दोक्लाम विवादमा भएको नयाँ विकास क्रमको स्वागत गरेको हो ।
चीनले सीमा क्षेत्रमा सडक निर्माण थालेपछि भुटानमा रहेको भारतीय सैनिक टोली चिनियाँ भूभागमा प्रवेश गरेको थियो । उक्त भारतीय कदमप्रति गम्भीर आपत्ति जनाउँदै चीनले त्यस क्षेत्रमा सैनिक तैनाथी बढाएको थियो ।
भारतीय विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै आफ्ना सेना फिर्ता भएको बताएको थियो । लगत्तै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले भारतीय सेना पछाडि हटेको पुष्टी गरेकी थिइन् ।
‘दोक्लाम इलाकामा रहेको दुईतर्फी तैनाथीबाट मुक्त हुने कदमको भुटान स्वागत गर्छ,’ भुटानी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई आशा छ, भुटान, चीन र भारतको सीमामा शान्ति बहालीका लागि यो कदमले योगदान पुग्नेछ । त्यसअघिको स्थितिमा सीमा क्षेत्रलाई फर्काउन सबै मुलुकले आपसी सम्झौताहरुको सम्मान गर्नु जरुरी छ ।’